NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

भदौमा महाधिवेशन नभए कांग्रेसलाई भगवानले पनि जोगाउन सक्दैनन् : प्रदीप पौडेल [अन्तर्वार्ता]

विद्यार्थी राजनीतिबाट उदाएका प्रदीप पौडेल नेपाली कांग्रेसकाे १३ औं महाधिवेशनमा सबैभन्दा धेरै मत पाएर निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यमध्येका नेता हुन्। उनी प्रभावशाली नेता पौडेललाई २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले संघतर्फ टिकट दिएन । पार्टीसँग भिड्दै भिड्दै उनले बल्ल प्रदेशसभामा टिकट पाउँदा थोरै भोटले मात्रै नतिजा सुम्पिए । कांग्रेस फेरि १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा छ । यही बेला युवा नेता पौडेलसँग कांग्रेसको महाधिवेशन, सरकारको समीक्षा र पार्टीमा युवा नेताहरुको अवस्थासहितका विषयमा नेपालवाचका लागि दिनेश लोेहनी र शालिक भट्टले गरेको कुराकानी: तपाईं १३ औं महाधिवेशनमा सबैभन्दा बढी भोट ल्याउएर जित्नेमध्येका केन्द्रीय सदस्य हुनुहुन्छ । तर, अवसरको कुरा गर्दा तपाईंले संघमा टिकट पाउनु भएन । बल्ल प्रदेशसभाको टिकट थमाइयो । अब फेरि कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा छ । फेरि पनि चुनाव आउँदैछ । ठूलो पार्टीमा युवा र प्रभावशाली नेताहरुलाई नै अवसरबाट बञ्चित गर्ने अभ्यासलाई कसरी लिनुहुन्छ ?तपाईंको प्रश्नमा म शतप्रतिशत सहमत छु । मलाई लाग्न सक्छ यस्तो पार्टीको केन्द्रीय सदस्य किन हुने ? सबै विधि र प्रक्रिया पुर्‌याएर पनि पार्टीबाट टिकट नपाउने भनेर प्रश्न उव्जिन सक्छ । सबै विधि प्रक्रिया नीति नियम र क्याटोगोरीमा पास हुदाँपनि टिकट नपाउनुले म आफैंलाई पीडाबोध भैराखेको छ । पार्टीका केही नेताको स्वार्थका कारण व्यक्क्तिगत अभिलाषाका लागि म माथी अन्याय भएको कुरा सत्य हो । प्रतिनिधिसभाको सबै पक्रिया पूरा गर्दागर्दै एउटा केन्द्रीय सदस्यले टिकट पाउँदैन । यसले नेपाली कांग्रेसको विचार निर्माण गर्ने सन्दर्भमा, कांग्रेसको दृष्टिकोण निर्माण गर्ने सन्दर्भमा कति हैसियत रहला त ? त्यसैले कांग्रेस पार्टी विधी र व्यवस्थाले हैन केही नेताको एकल निर्णयले चल्ने पार्टी बनेको छ । हामीले अहिले कांग्रेस पार्टीलाई विधि व्यवस्था र नीतिमा हिँडाउनका लागि हामी यस्ता प्रवृत्तिलाई सुधार्न सच्याउन प्रयत्नशील छौं । हाम्रो प्रस्ताव यहिनै हो तर हामीले पार्टीभित्र यो कुरामा कति समर्थन प्राप्त गर्न सक्छौ भन्ने नतिजा एकातिर होला । विधि र पद्धतिको कुरा उठाउँदा पालना गर्न लगाउँदा हामी सफल हुन सक्छौं कि सक्दनौं । पार्टीभित्र मैले जस्तै प्रताडना भोगेका अरु थुप्रै नेताहरु हुनुहन्छ । त्यसैले हाम्रो पार्टी विधि र व्यवस्थामा चल्नुपर्छ । नेतृत्वले बाटो विराएको खण्डमा हामीले खवरदारी गर्नुपर्छ । पार्टीभित्र कुन नेतालाई कहाँ जिम्मेवारी दिनुपर्छ भनेर सही मूल्याँकन हुनुपर्दछ पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन हामीले हरदम प्रयास गरेका छौ यसले कति मूर्त रुप लिन्छ त्यो हेर्न बाँकी छ । कांग्रेसमा समयमा पार्टीका काम नहुने त समस्या नै हो । तर, महाधिवेशन जस्तो उत्सव र पार्टीलाई दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम पनि पटकपटक सार्नुपर्ने अवस्था आएको छ । महाधिवेशन तायरीको कामलाई प्राथमिकता र राखेर अघि बढाएको देखिंदैन । समायोजन र सदस्यताको विवादले फेरि कांग्रेसको १४ औं महाधिवेशन प्रभावित हुने हो ?अब आन्तरिक लोकतन्त्र र पार्टीलाई संस्थागत ढङ्गबाट चल्ने सन्र्दभमा अरु कम्युनिष्ट पार्टी भन्दा अझै पनि नेपाली कांग्रेस अगाडि नै छ । नराम्रो भित्रको सबैभन्दा राम्रो हामी नै हौं । तर यसो भन्दैमा हामीभित्र आन्तरिक लोकतन्त्रलाई शतप्रतिशत मानिएको छ भन्ने होइन । व्यवस्था र विधिमा हिड्न शतप्रतिशत सकिएको छैन । फरक मतलाई स्वीकार गरेर सम्मान गर्ने व्यवहार हामीभित्र पनि छैन । बहुविचारलाई कांग्रेस पार्टीभित्र सम्मान छ कि छैन भनेर प्रश्न गर्दा छ भनेर भन्नसक्ने अवस्था छैन । त्यसैले हामी कांग्रेस पार्टीभित्र खुल्ला ढङ्गले विचारको छलफल गर्नुपर्छ भनेर लागिरहेका छौं । विधि र व्यवस्थाबाट कांग्रेस पार्टी चल्नुपर्छ भनेर भनिरहेका छौं । नेतृत्वलाई मान्ने सम्मान गर्ने आदर गर्ने तर नेतृत्वलाई विधि र विधानभन्दा माथि नराख्ने विधि र प्रक्रिया उल्लंघन गर्न नदिने व्यवस्थाको लागि हामीले काम गर्न खोजेका छौं । हामीभित्र थुप्रै कमि–कमजोरीहरु छन थुप्रै सुधार गर्नुपर्ने कुराहरु सच्याउनुपर्ने छ । युवा भन्दैमा मैले सबै सेवा सुविधा लिन खोज्न हुदैन पार्टी भित्रका नीति नियम लागू गर्ने सन्र्दभमा युवाको नाताले अहम भुमिका खेल्नुपर्दछ । मेरो ‘कमिटमेन्ट’ अरुले पत्याउने खालको हुनुपर्दछ । कांग्रेस देशको नेतृत्व गर्ने पार्टी हो । आफूले पार्टी चलाउँदा पार्टी भद्रगोल बनाउने पार्टीभित्र विधि र व्यवस्थालाई नमान्ने प्र्रवृत्ति भाेिल देश चलाउन जादाँ पनि पार्टीभित्रकै बानी र व्यवहार दोहोरिन सक्छ । पार्टीभित्र लागेको स्वेच्छाचारी प्रवृत्ति देश चलाउन जादाँ पनि देखिने हुदाँ पार्टी बनाउन नसक्नेले देश बनाउन सक्दैन। त्यसैले पहिले हामीले आफूभित्रको फोहोर सफा गर्नुपर्दछ । आफूलाई सच्याउनुपर्दछ । पहिला पार्टीलाई सच्याउन आफूभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने राष्ट्रको विकासका लागि विकासको रोडम्याप बनाउने अनि त्यसलाई पूरा गर्न सरकारमा जाने प्रणाली र उद्देश्यका साथ हामी अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्दछ । नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको क्रियाशील सदस्यताको नवीकरण र नयाँ वितरणको मुख्य समस्या के हो ?यसमा समस्या के हो भने कांग्रेसको विधानमा हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर हामीले त्यो विधान र व्यवस्थालाई खारेज गरेर महाधिवेशन हुने वर्ष गर्ने व्यवस्था ल्याएका छौं । जुन सरासर गलत हो । यसले पार्टीभित्रको चुनावलाई भयरहित र निष्पक्ष बनाउन सक्दैन । यहाँ कस्तो देखियो भने नेतृत्वले हतार–हतार आफै आफ्ना मान्छेलाई सदस्यता वितरण गर्ने अनि चुनाव गराउने अनि आफैं फेरि नेतृत्वमा पुग्ने प्रचलन देखियो । त्यसलाई पनि हामीले रोक्नुपर्ने छ । १४ औं महाधिवेशनमा हामी यो गर्न सक्दैनौं । किनभने यसपटक हामीसँग समयको अभाव छ । यो महाधिवेशनमा हामीले यस्ता प्रवत्ति रोक्न नसके पनि आगामी महाधिवेशनसम्म हामी रोक्छौं । अर्काे भनेको क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि हामीले पार्टी अफिसमा अपडेट गराईरहेका छौं । जिल्लामा फोन गरेर चाडैँ ल्याउनु भनेर भनिरहेका छौं । यो समस्याको बारेमा हामीले हल गर्ने कोशिसमै छौं । आगामी दिनमा हरेक वर्ष नवीकरण गर्ने र सदस्यता वितरण गर्ने काम गर्दछौं तर निर्वाचन हुने वर्ष हामीले सदस्यता वितरण पनि गर्दैनाैं र नवीकरण पनि गर्दैनाैं । भदौ १४ औं महाधिवेशन गर्ने अन्तिम समय हो । तर, सदस्यता टुंगिने छाँट अझै देखिएका छैन यस्तोमा तपाईंहरु कसरी महाधिवेशनसम्म पुग्नुहुन्छ ?भदौमा हामीले महाधिवेशन गरेनौं भने हाम्रो पार्टीको वैधानिकतालाई भगवानले पनि जोगाउन सक्दैनन् । त्यसैले भदौ १९ गतेसम्म हामीले जसरी पनि अधिवेशन गर्नु छ । समय थोरै गर्नुपर्ने काम धेरै छ । त्यसैले रातभरि नसुतेर पनि काम गर्नुपर्ने छ । यो समयको परिधिमा अधिवेशन गर्नुभन्दा अरु विकल्प हामीसँग छैन । हाम्रो केन्द्रमा लगभग पौने ६ लाख सदस्यता इन्ट्री भैसकेको छ । अब पौन २ लाखको हाराहारीमा इन्ट्री गर्न्ुपर्ने छ फास्ट ट्रयाकमा काम गर्नुपर्ने छ । सदस्यता छानविन गर्नुपर्ने छ । केन्द्रीय समितिले निर्वाचन समितिलाई सदस्यता बुझाउनुपर्ने छ । वडादेखि जिल्ला, र प्रदेशसम्मको अधिवेशनको काम सकेर भदौ ७ मा हामीले जसरी पनि महाधिवेशन आयोजना गर्नुपर्छ त्यसमा अरु विकल्प छैन । तपाईं आफैं पनि सदस्यता छानविन समितिमा हुनुहन्छ । समयको चापकाबीच सदस्यताको यो जटिलतालाई कसरी टुंगोमा पुर्‍याउनुहुन्छ ?अव हामी छानविन समितिको कार्यान्वयन तहमा भएको नाताले दैनिक ५ देखि ७ घण्टासम्म पार्टी अफिसमा आएर काम गरिरहेका छौं । हामी समितिकै मान्छे देशैभरि छरिरहेका छौं । हामीले काम नभएका ठाउँमा छिटो काम गर्नुस् भनेका छौं । इन्ट्री नभएको ठाउँमा हामीले छिटो गर्नुस् भनेर भनेका छौं । हामी आईसकेपछि कामहरु धेरै रफ्तारमा भैरहेको छ । तर, पनि समयमा महाधिवेशन गर्न हामीलाई एकदमै चुनौती छ । तर कांग्रेसका सम्पूर्ण पदाधिकारी केन्द्रीय समिति यो विषयमा जानकार भएकोले हामीलाई सहयोग गर्नुहुन्छ । कांग्रेस पार्टीको तोकिएको समयमै महाधिवेशन हुन्छ भन्नेमा म विश्वस्त छु । तपाईं संलग्न भएको कृष्णप्रसाद सिटौलाको तेस्रो समूह संगठित हुन छोडेको हो ?पार्टीमा भइरहेको परम्परागत गुटबन्दीको कुनै अर्थ छैन । हामीलाई परम्परागत गुटभन्दा फरक ढंगले बुझ्न म आग्रह गर्छु । किनभने हामीले हिजोको दिनमा त्यस्तै अवस्था सिर्जना गर्‍यौं । वैचारिक पक्षबाट हस्तक्षेप नगर्ने हो भने हामीले परम्परागतलाईनै निरन्तरता दिएका हुन्छौं । हामीले जबसम्म व्यक्क्तिगत राजनीतिलाई चिन्न सक्दैनौं तबसम्म हामी फेल भइरहन्छौं । पछिल्लो समय हामी अलि फरक ढङ्गबाट अगाडि बढ्न खोजेको कुरा सत्य हो । तर हामीले त्यसमा पनि अपेक्षाकृत ढङ्गबाट सफलता हासिल गर्न सकिरहेका छैनौं । धेरै साथीहरुलाई पनि जोड्न सकेका छैनौं । त्यसकारण अवका दिनमा हामीले एउटा व्लुप्रिन्ट तयार गरेर हामी नयां ढङ्गबाट पार्टीलाई अगाडि बढाउन चाहन्छौं भन्ने देखाउनुपर्नेछ । हामीले तयार गर्ने व्लुप्रिन्टमा राज्यको शिक्षा कस्तो हुने सार्वजनिक स्वास्थ्य कस्तो हुने सार्वजनिक यातायात कस्तो हुनेदेखि हाम्रो समाजले लिने बाटो भनेको समाजवाद हो कि पुँजीवाद हो भनेर हाम्रो विचार स्पष्ट पार्न जरुरी छ । समाजवाद र पुँजीवादभित्रबाट पनि हामीले दुवैलाई फ्युजन गरेर बहस गर्न सक्छौं । त्यसकारण विचार निर्माण गर्नका लागि हामीले गुट बनाउन पर्छ । तर गुट निर्माण गर्ने हाम्रो परम्परा कस्तो छ भने एउटा व्यक्क्तिलाई सर्वमुखी बनाउने देवत्वकरण गर्ने उसलाई केन्द्रीय भागमा मात्र राख्ने अनि उसबाट आफ्नो फाइदा लिने यो त स्थार्थको राजनीति भयो । यस्तो प्रचलनबाट पार्टीमा विचार जन्मन सक्दैन । त्यसैले गुट विचार निर्माणमा जन्मनुपर्‌यो भनेर हामीले फरक ढङ्गबाट गुट निर्माण गर्ने भन्ने कुरामा हामी लागेका छौं । विद्यार्थी नेताबाट उदय भएका प्रभावशाली युवा नेताहरुको कमी कांग्रेसमा छैन । पार्टी नेतृत्व विधि र पद्धतिमा चलेन । पार्टीलाई प्रभावकारी बनाउन सकिएन भनेर तपाईंहरु भन्नुहुन्छ विरोध पनि गर्नुहुन्छ । कमजोर बनेको पार्टीलाई सुधार्न र लोकप्रिय बनाउन युवाहरुलेचाँहि हस्तक्षेपकारी भूमिका खेलेका छन् न त ? पाका नेताहरुको जागरुकतामा कमी देखिएमात्रै नेतृत्व हस्तान्तरण हुने हो ?यो एकदमै महत्वपूर्ण प्रश्न हो भन्ने लाग्दछ । आज मेरो राजनीतिमा जहाँ म उभिएको छु त्यहाँ उभिदै गर्दा मेरो उपस्थितिले कहाँनेर परिवर्तन भयो त ? मेरो उपस्थितिले कांग्रेसको आन्तरिक लोकतन्त्र कति मजबुत भयो त ? मैले नेपाली कांग्रेसलाई के सुधार गरे त ? मेरो उपस्थितिले कांग्रेसले निर्माण गरेको जनमुखी योजनामा कति प्रगति भयो ? सोच्नेबेला पक्कै आएको छ । यस सन्र्दभमा चाहिँ म आफैं पनि सन्तुष्ट छैन । त्यसैले मैले आफूलाई सन्तुष्ट पार्नका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्दछ । कांग्रेसको एजेण्डामा कार्यकर्ताको तहमा नीति नियम तर्जुमा गर्ने तहमा मैले भूमिका खेल्नका लागि म त्यस ठाउँमा पुग्नुपर्दछ । मैले त्यस ठाउँमा जानका लागि पार्टीभित्रका आम कार्यकर्ता तथा नेताहरुको मन जित्न सक्नुपर्दछ । आजको दिनमा मेरो प्रयत्न त्यही हो । मैले आफूभित्रको फोहोर सफा गर्नुपर्दछ मैले आफूभित्रको फोहोर सफा गर्नसके भने पार्टीभित्रको फोहोर सफा गर्नसक्छु । पार्टीभित्रको फोहोर सफा गर्न सकें भने राष्ट्रको फोहोर सफा गर्न सक्छु । नेपालमा ‘मल्टीपार्टी सिस्टम’ छ । अमेरिकामा डेमोक्रेटिक पार्टीको अध्यक्ष को छ भनेर मलाई थाहा छैन । रिपब्लिकन पार्टीको अध्यक्ष को छन् भनेर पनि मलाई थाहा छैन । किनभने त्यहाँ पार्टी गौण छ । केपी ओलीले संसद् विघटन गर्नुभयो । उहाँले कुनै बजेट वा संसद्ले काम गर्न नदिएर विघटन गर्नुभएको हैन । कुनै नीति नियम पास नभएर राष्ट्रको लागि कुनै काम अड्किएर विघटन गर्नुभएको हैन । उहाँले आफ्नो पार्टीभित्र जे भन्यो त्यही गर्न नसकेको रिसमा भंग गर्नुभएको हो । प्रचण्ड–माधवजीहरुले केपी ओलीले जे भन्यो त्यही नगरेकोले उनलाई झोक चलेर भनेर विघटन गरे । त्यसैले जवसम्म हामीले पार्टीलाई आन्तरिक लोकतन्त्रमा नवाधेसम्म विधि र व्यवस्थामा नहिंडाएसम्म यस्तो समस्या देखिन्छ । नेकपा भन्ने पार्टी पार्टीको रुपमा नचलेरनै आज राष्ट्रले दुख पाईरहेको छ । नेकपा भन्ने पार्टीका नेताहरु पार्टीको हैसियतमा नचलेरनै आज देशले यस्तो दुख पाएको हो । ओलीले काम गर्न भोट नपाएको हो र ? केपी ओलीले नेतृत्व गरेको पार्टीमा झण्डै ४८ प्रतिशत भोट थियो । संसदमा झण्डै दुईतिहाइ सांसद थिए । ७ वटा प्रदेशमा ६ वटा प्रदेशमा सरकार थियो । कुनैपनि देशका जनताले कुनैपनि राजनीतिक दललाई यो भन्दा समर्थन संसारमा कहीं पनि दिँदैनन् । तर यति ठूलो समर्थन पाएर पनि उहाँले देशको लागि केहि गर्न सक्नुभएन । यसको कारण हो नेकपा भन्ने पार्टी पार्टीको रुपमा चलेन । उहाँ नेकपाको अध्यक्ष भएर नेकपालाई सही ढङ्गबाट सञ्चालन गर्नसक्नुभएन । जसले गर्दा उहाँले देशलाई समेत चलाउन सक्नुभएन । त्यसैले नेपाली कांग्रेसले यहाँभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्छ । पार्टीभित्र छलफलको राजनीतिलाई प्रोत्साहन गर्नुपर्छ । पार्टीभित्र उब्जिएका फरक विचारहरुलाई निरुत्साहन गर्नुहुदैन । नेतृत्वले गल्ति गरेमा उसलाई दवावमूलक ढङ्गबाट सच्याउने नीति हुनुपर्दछ । यदि त्यस्तो भएन भने पार्टीले देशको नेतृत्व प्रभावकारी तरिकाले हल गर्न सक्दैन । हामीले यस सम्पूर्ण कुराहरुको जिम्मा लिएर पार्टीको नेतृत्व गरेर देशलाई विकास र समृद्धिमा लैजान तत्पर हुनेछौं । तर, आशावादी युवा नेताहरुले पनि गुटकै फेरो समाउने र आफ्नो पद सुरक्षित गर्नेभन्दा फरक सन्देश र उत्साह कार्यकर्तालाई कसरी दिएका छन् त ?तपाईंले गरेको प्रश्नको भावनासंग म सतप्रतिशत सहमत छु । नेपालको विद्यार्थी आन्दोलन र युवा आन्दोलन क्रमशः स्खलित भैरहेको छ । त्यहाँभित्र आक्रोस, क्रान्ति त्यहाँभित्र परिवर्तन गर्छु भन्ने आत्मविश्वास, वर्गीय मुद्दा, अघिल्लो नेतृत्वलाई सच्याउने आँट छँदैछैन । त्यो पूर्णरुपमा दिशानिर्देश भएको छ । हिजोको अवस्थामा विद्यार्थीहरु सधैें प्रतिपक्षको भूमिकामा देखिन्थ्यो । हिजोको दिनमा पेट्रोलको भाउ बढ्दा विद्यार्थीहरु सडकमा हुन्थे । निर्मलाहरु वलात्कार हुदाँ विद्यार्थीहरु सडकमा हुन्थे । सरकारले कुनै गल्ति गर्दा विद्यार्थी र युवाहरु सडकमा निस्केर तीव्र विरोध गर्थे । अनि सरकार गल्ती भयो भनेर राष्ट्रघाती जनतालाई दुख दिने कदम सच्याउने गर्दथ्यो । तर आज त्यो अवस्था छैन । आज विद्यार्थी र युवाहरुको आन्दोलन पूरै सेटअप हुने पक्रियामा छ । जुत्ता ठूलो भयो भने जुत्ता खुट्टा अनुसार बनाउने भन्दा आजकल त जुत्ता अनुसार खुट्टा बनाउने प्रचलन पो देखिन थाल्यो । खुट्टाकै साईज काटेर भएनि जुत्ता सिलाउने अथवा नेतृत्वले जे भन्यो त्यही मान्ने उनीहरु अनुसारको फिट हुने ? जसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्दैन यथास्थितिवादले नयाँ विचार र नेतृत्व जन्माउन सक्दैन त्यसकारण समग्र यूवा आन्दोलन कमजोर भयो भनेर मैले सुरुमानै भने । यूवा तथा विद्यार्थीहरु चाकडी गर्ने सर्वसत्तावाद हुने प्रवृत्तिगत सोच त्यस्तो देखिन्छ । यस्तो परिस्थिति निर्माण हुनुमा ठूला राजनीतिक आन्दोलन नभएर पनि हुनसक्छ । आन्दोलनले त्यस्ता नेता जन्माउथ्यो । तर आज हिजोको जस्तो राजनीतिक विषयहरु छैनन भन्ने पनि हैन । किनभने नेपालमा गणतन्त्र त आयो तर शिक्षा, स्वास्थ्यमा कहाँ आएको छ गणतन्त्र ? सबैखाले विभेदको अन्त्य कहाँ भयो त ? हाम्रो समाज यस्तो छ कि फलामको हलो बनाउनेलाई कामी भनेर विभेद गर्‍यो । खाना पकाउने, भाँडा बनाउनेलाई कामी भनेर विभेद गर्‍यो । लुगा सिलाउनेलाई दमाई भनेर विभेद गर्‍यो । तर हाम्रो कृषिको लागि औजार बनाउने पहिलो इञ्जिनीयर त उनीहरु थिए नि। हाम्रो लागि आङ ढाक्ने कपडा बनाउने पहिलो इञ्जिनियर त तिनीहरु थिए नी । हामीले भन्ने गरेको दमाईले लुगा नसिलाईदिएको भए आज हामी आङ कहाँबाट ढाक्थ्यौं र त्यसैले हाम्रो समाजले काम गर्ने वर्गलाई एकदमै विभेद गर्‌यो । हामीले सर्वप्रथम यो सामाजिक विभेदलाई अन्त्य गर्नाका लागि विद्यार्थी तथा युवाहरुको आन्दोलन जुन रुपमा धारिलो हुनुपर्दथ्यो । त्यो भएन जसले गर्दा विद्यार्थी तथा युवा नेतृत्वले विश्वसनियता गुमायो । त्यसैले यो कहाँ गएर जोडिन्छ र असर गर्छ भने पार्टीभित्रको नीति निर्माणमा जव पार्टीभित्र धारिला युवाहरु तलबाट केन्द्रीय भूमिकामा आउदैनन् तव युवा पंक्तिले उठाएका कुराहरु ओझेलमा पर्छ । राजनीति र समुदायमा पनि तपाईले इंगित गर्नुभएको वर्ग पनि सेटअप हुने पक्रियामै छ । धेरै प्रष्ट कुुरा गरेर धारिलो कुरा गरेर नेतृत्वलाई गाली गरेर उनीहरुको मन दुखाएर किन जोखिम किन मोल्ने ? बरु नेतृत्वको चाकडी गर्ने उनीहरुले भनेको मान्ने उनीहरुले खोजेजस्तो भएर आफ्नो फाईदा लिने भनेर युवाहरुले विद्यार्थीले सोच्दाखेरी वा यस्तो परिस्थितिको निर्माण हुदाँ विद्यार्थी तथा यूवाहरुको भूमिका कमजोर भएको कुरा सत्य हो । आगामी भदौमा हुने १४ महाधिवेशनमा तपाईं पार्टी पदाधिकारीमा उठ्ने कुरा छ कि छैन ?पदाधिकारीमा नउठ्ने भन्ने कुरै छैन । हामी नेतृत्व तहमा पुगेर पार्टीलाई रुपान्तरण गर्न नसक्ने भन्ने कुरै छैन । हामी संगठित हुन आवश्यक छ गुट बनाउने भनेकोनै विचार, कार्यशैली र व्यवस्थाको निर्माण गर्न हो । यथास्थिति धान्नका लागि गुट निर्माण गरेर कुनै कामनै छैन । यथास्थिति परिवर्तन गर्न व्यवस्था निर्माण गर्न हामी पदाधिकारी नलड्ने कुनै कुरै छैन । मैले भन्ने गरेको त सभापतिदेखि सदस्यसम्म एउटा संगठन बनाएर अगाडि बढौं । एउटा व्लयु प्रिन्ट बनाएर अगाडि बढौं शिक्षा कस्तो हुने स्वास्थ्य कस्तो हुने सार्वजनिक यातयात कस्तो हुने शान्ति सुरक्षा कस्तो हुने जनताको सरकासँग कस्तो सम्वन्ध हुने सुशासन कस्तो बन्ने भनेर हामीले खाका तयार पार्न पर्‍यो । छिमेकीसँग कस्तो सम्बन्ध हुने विश्वसँग कस्तो सम्वन्ध हुने बेरोजगारीलाई कसरी हल गर्ने भनेर हामीले प्रष्ट रोडम्याप बनाउन जरुरी छ । नेपालमा सबै युवाहरु बेरोजगार छन् उनीहरुलाई श्रम गर्ने ठाउँ हामीले निर्माण गर्न सकेनौं भने देशको विकास कसरी हुन्छ ? उत्पादनमा हामी निर्भर हुन सकेनौं भने हामी कसरी आत्मनिर्भर हुनसक्छौ । विकास भनेको खाली रोड बनाउनुमात्र हैन । अवसरको सिर्जना गर्नु हो । तपाईंले अघिनै भन्नुभयो केन्द्रीय सदस्य भएर त टिकटनै नपाईने रैछ । पार्टीको केन्द्रीय सदस्यको हैसियत तपाईहरुले थाहा पाईहाल्नुभयो । त्यसैले देश परिवर्तनका लागि पार्टी परिवर्तन गर्दै देशलाई रुपान्तरण गर्नुपर्ने भएकोले यी आम समस्याको निकास दिनका लागि हामी पदाधिकारीमा उठ्ने कुरा निश्चित छ । अब अलिकति प्रसंग बदलौं, प्रधानमन्त्री केपी ओलीको कदमसँग असहमति पनि राख्ने र तर, आफ्नै नेतृत्वमा सरकार गठनका लागि प्रभावकारी अग्रसरता नलिएको आरोप कांग्रेस नेतृत्वलाई लागिरहेको छ । कांग्रेसले इच्छा नै नदेखाएको हो की इच्छा भएर पनि सरकार सम्भव नहुने भएको हो ?सरकारको विषयमा कुरा गर्दा यसको श्रृंखला एकदम लामो छ । नेपाली कांग्रेसलाई नेपाली जनताले २०७४ सालमा प्रतिपक्षमा बस्ने म्यान्डेड दिए । प्रतिपक्षमा बस्ने र आगामी निर्वाचनको तयारी गरेर नेपाली जनताको मन जित्दै सत्तामा जाने हाम्रो मनसाय हो । तर अवस्था के भयो भने केपी शर्मा ओलीले सार्वभौम संसदलाई तोकेको कार्यकाल नसकिंदै हतासमा विघटन गरिदिनुभयो । तर, उहाँले चालेको उक्त कदमलाई अदालतले असंवैधानिक ठहर गर्दै बदर गरिदियो । संसदको हत्या गर्न वा विघटन गर्न खोज्ने त्यही व्यक्ति त्यही संसदबाट बहुमतप्राप्त प्रधानमन्त्री रहिरहने कुरा नैतिकताको हिसाबले कल्पना पनि गर्न सकिंदैन । तर प्रधानमन्त्रीले त्यो नैतिकता कार्यान्वयन गर्नुभएन । संसदको हत्या गर्नेलाई संसदबाट हटाउनका लागि दलहरुले सरकारको विकल्प सोचेका हौं । त्यसका लागि हामीले प्रधानमन्त्रीको यथासिघ्र राजीनामा माग गर्ने र त्यसका लागि प्रमुख प्रतिपक्ष भएको नाताले सरकारको नेतृत्व गर्न अग्रसर हुने निर्णय गरेका छौं । तर यसको अर्थ यो हैन कि हामी जसरी पनि सत्तामा जानपर्‍यो । जसरी पनि सबैखाले जोड–घटाउमा लाग्न पर्‍यो भनेर हामी सत्ताको लागि मरिहत्ते गर्दैनौं । केपी ओलीको विकल्प दिन कांग्रेसकै आवश्यकता हो भने हामी सरकारको नेतृत्व गर्न तयार हो । त्यस्तै केपी ओलीको विकल्पका लागि अरु कुनै राजनीतिक दलमा सहमति हुन्छ भने पनि हामी त्यसका लागि तयार हुन्छौं । केपी ओलीलाई हटाउने शर्तमा हामी सबै विकल्पमा तयार छौं । हाम्रो कुरा यत्ति हो कि अव केपी ओलीको नेतृत्वमा चुनाव हुन सक्दैन हामी त्यसलाई स्वीकार गर्न सक्दैनौं । किनभने राज्यका सबै अङ्गलाई आफ्नो हातमा लिएर चुनाव गराउँदा ओलीले निष्पक्ष चुनाव गराउँछन भन्ने हामीलाई विश्वास छैन । त्यसैले हामी ओलीलाई जसरी पनि सत्ताच्युत गर्न चाहन्छौं । कांग्रेस सभापति शेरबहादुर देउवा सत्ता राजनीतिमा माहिर मानिनुहुन्छ । तर, उनै देउवाले यसपटक प्रधानमन्त्री बन्न अग्रसरता नदेखाउनुलाई धेरैले अस्वभाविक मानेका छन् । यो परिस्थितिको उपज हो की प्रधानमन्त्री ओलीको जसरी पनि चुनावमा जाने रणनीतिको लागि सहयोग हो ?कांग्रेसले अग्रसरता देखाउँदैमा अहिले सरकार बन्न सक्ने अवस्था छैन । कांग्रेसले सरकार बनाउन चाहेर पनि बन्न सकेको छैन । केपी ओलीले नेतृत्व गरेको एमाले संसद्मा सबैभन्दा ठूलो पार्टी हो । दोस्रो ठूलो पार्टी कांग्रेसनै ओलीलाई हटाउन सक्ने विकल्पको पार्टी हो । तर संसद भित्र भएको दल जसपा किन केपी ओलीको निरन्तरता चाहन्छ ? कांग्रेसले ओलीको विकल्प खोजिरहेको बेलामा जसपा र माओवादीले विकल्प खोज्नुपर्ने हो नि ? तर, कांग्रेसले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन जुनसुकै विकल्पमा पनि खुल्ला हुँदा वा सरकार बनाउन पहल गर्दा जसपा बैठकमा आउँदैन । सरकारले संसद्को हत्या ग¥यो भनेर कुर्लिने माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिंदैन । जसले गर्दा केपी ओलीलाई हटाउन सकिएन । कांग्रेसको अहिलेको संस्थागत निर्णय ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने हो । दोस्रो कुरा भनेको जसले संसद् विघटन गर्‍यो उही यो संसदको प्रधानमन्त्री हुन सक्दैन । यसको लागि नेकपा एमालेका जनताबाट विश्वास पाएका इमान्दार सांसदहरुले पनि केपी ओलीको विकल्प खोज्नुपर्ने हो । एमालेका सांसदहरुले जनतासमक्ष के भन्नुहुन्छ ? हामी ५ वर्षका लागि निर्वाचित भएको हो । हाम्रो पार्टीको प्रधानमन्त्री ओलीले बिचैमा विघटन गरिदिनुभयो । यो कदममा हाम्रो असहमति छ भन्नुपर्छ अथवा हाम्रो समर्थन छैन भनेर भन्न सक्नुहुन्छ कि सक्नुहुन्न ? त्यसैले जसले संसदको हत्या गर्न खोज्यो उही त्यही संसदको बहुमतबाट प्रधानमन्त्री बनिरहनु भनेको संसदीय अभ्यासको धज्जी उडाउनु हो । अर्काे कुरा भनेको ओलीको नेतृत्वमा चुनाव भयो भने त्यो चुनाव निष्पक्ष हुन सक्दैन । किनभने उहाँको स्वभाव, विपक्षीलाई हेर्ने दृष्टिकोण, विपक्षी पार्टी, फरक विचार राख्ने जोसुकैलाई गर्ने व्यवहार स्वभाविक छैन । उहाँले सत्ताको दुुरुपयोग गरेर नेकपा एमालेलाई जुन पुनर्गठन गर्न खोजिरहनु भएको छ जसका कारण आगामी निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग गरेर वा धाँधली गरेर एमालेलाई पहिलेकै तहको पुनगर्ठन गर्ने अभिष्ट बोकेको मान्छेलाई सत्तामा राखिराख्न हुँदैन । त्यसैले केपी ओलीको नेतृत्वमा सहमतीय राजनीति सम्भव छैन । अर्काे उनको छवि र नियतिको कारण उनकै नेतृत्वमा यो देशमा कुनै पनि चुनाव सम्भव छैन । त्यसैले कुनै पनि हालतमा केपी ओलीको विकल्प खोज्ने मामिलामा कांग्रेस नेतृत्व लिन तयार हुनुपर्छ । अरु कसैको नेतृत्वमा सर्वमान्य हुन्छ सबैलाई विश्वासमा राखेर सरकार बनाउन अघि बढ्न सहकार्यका लागि तयार हुनुपर्छ । विकल्पको सरकार पनि भन्दै आएको कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव किन दर्ता नगरेको ?कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराउँदा वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार खडा गर्नुपर्ने हुन्छ । अनि कांग्रेसले विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जना हुन्छ । त्यस्तो परिस्थिति निर्माण हुदाँ संसदभित्र कांग्रेस एक्लैले सरकार बनाउन सक्दैन । जुन–जुन पार्टीहरुको समर्थनमा विश्वासको मत लिनुपर्ने हुन्छ । त्यतिबेला उसले तिमी एक्लैले अविश्वासको प्रस्ताव पेश गर्ने अनि सल्लाह नै नगरी हामीसँग विश्वासको मत माग्ने भनेर अरु दलले भन्न सक्छन् । सल्लाहनै नगरी प्रधानमन्त्रीको उम्मेदवार बनाउने आफ्नो पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने भन्दै झनै निहुँ खोज्न सक्छन् । त्यस्तोमा सहमितको वातावरण झन् खल्बिलिन्छ । त्यसैले अविश्वासको प्रस्ताव पेश गर्न, नयाँ प्रधानमन्त्रीको उम्मेदवार छान्न, यो सबै विषयहरुमा संसदमा मिल्नुपर्ने दलहरु एकैठाउँमा नआईकन हामीले मात्र अविश्वासको प्रस्ताव दर्ता गर्न सक्दैनौं । आज प्रष्ट रुपमा देखिएको कुरा के हो भने पश्चगामी सरकारका विरुद्ध माओवादीले समर्थन फिर्ता लिन किन नसकेको केपी ओलीलाई रुचाएर हो र ? ओलीलाई निरन्तरता दिनका लागि होर ? हैन नि उसले समर्थन फिर्ता लिनासाथ ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत लिन नसकेमा फेरी संसद भंग गरेर चुनावी सरकारका प्रधानमन्त्री बन्नेछन । त्यसैले माओवादीले केपी ओलीलाई हटाउन चाहँदाचाहँदै पनि समर्थन फिर्ता लिन सकेको छैन । हामीले चाहेर पनि केपी ओलीलाई अविश्वासको प्रस्ताव पेश गर्न सकेका छैनौं । किनभने अविश्वासको प्रस्ताव फेल भएमा पुनः अविश्वासको प्रस्ताव लान पाईदैन । जसले गर्दा ओली चुनावी सरकारका प्रधानमन्त्री हुन्छन । ओली त्यस्ता पात्र हुन जसले प्रधानमन्त्रीमा रहिरहन पनि मिल्दैन र चुनावी सरकार बन्न सक्दैन । त्यसकारण संसदको बाँकी अवधि रहेसम्मका लागि पनि केपी ओली प्रधानमन्त्री बन्न सक्नुहुन्न । चुनाव पनि बिना धाँधली गर्नसक्नुहुन्न । उनले चुनाव गरिहाल्दैनन् गरिहाले २०५४ सालमा वामदेव गौतमले गरेकोभन्दा बढी धाँधलीपूर्ण चुनाव हुन्छ । त्यसकारण हामीले केपी ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्न नसकेको हो । सबै पार्टीहरु केपी ओलीको विकल्प चाहन्छन तर किन हटाउन सक्दैनन् खासमा हलो अड्केको कहाँ हो ?कांग्रेसले अविश्वासको प्रस्ताव पेश गर्दैमा वा माओवादीले समर्थन फिर्ता लिंदैमा ओलीको विकल्प खोज्न सकिएको छैन । वर्तमान संसदमा यी दुईदलको मात्र बहुमत पुग्न सक्दैन । यसका लागि निर्णायक भूमिकाका लागि जसपाको हातमा साँचो छ । जसपा पार्टीको हकमाचाहिँ भने उहाँहरु मधेश केन्द्रित राजनीति गर्ने पार्टी हो । मधेशका हक हितका लागि मधेशका एजेण्डामा संविधान संसोधन गर्ने भन्नुभएको छ । मधेश अधिकारका लागि लड्नेहरुलाई थुनामुक्त्त गर्ने भनिरहनुभएको छ । विगत ३ वर्षसम्म ओली दुईतिहाइ बहुमतको सरकारको नेतृत्वमा हुनुहन्थ्यो । उहाँले चाहेको भए मधेशको समस्यालाई संविधान संसोधन गर्न सक्नुहुन्थ्यो । आजको दिनमा मधेशी जनताको लागि सबैभन्दा बढी अनुदारवादी नेता केपी शर्मा ओली हुन् । यो कुरा हिजोको दिनमा महन्थ ठाकुर राजेन्द्र महतोले पनि भन्ने गरेको कुरा हो । तर आज उहाँहरुको साठगाँठ किन मधेशविरोधी केपी ओलीसँग बढिरहेको छ ? उहाँहरु हामीजस्तै ओलीको विकल्प खोज्न किन तयार नहुनु भएको ? यो ठूलो प्रश्न हो । कांग्रेस पार्टी एक्लैले अविश्वासको प्रस्ताव पेश गर्दा जसपाले हामीलाई विश्वासको मत नदिने खतरा छ । जसपाले साथ नदिंदा त्यो प्रस्ताव पास हुँदैन । अविश्वासको प्रस्ताव पेश गर्दा वैकल्पिक प्रधानमन्त्रीको नाम दिनुपर्ने हुन्छ । हामी एक्लैले अविश्वासको प्रस्ताव पेश गर्दा तथा प्रधानमन्त्री तोक्दा अन्य दलले हामीलाई आफ्नो स्वार्थको पूरा गरेको आरोप लगाउँछन् । सत्तामा जानका लागि अविश्वासको प्रस्ताव पेश गरेको र आफ्नो नेतालाई प्रधानमन्त्री बनाउन खोजेको आरोप लगाउँछन् । हामीमात्रै अघि बढ्दा जसपाले झन् निहुँ खोज्ने परिस्थिति बन्न सक्छ । त्यसैले अविश्वासको प्रस्ताव पेश गर्नका लागि हामी विश्वासको वातावरण बनाउन खोजिरहेका छौं । भने सम्भावित समीकरणको मुख्य दोषी नै जसपा हो भन्न खोज्नुभएको हो ? कांग्रेस र माओवादीले पर्याप्त तालमेल गर्न नसकेको चाँहि होइन ? कांग्रेस यो सरकारको विकल्पका लागि जस्तोसुकै कदमपनि चाल्न तयार छ भनेर संस्थागत निर्णय गरेको छ । माओवादीले संस्थागत ढङ्गबाट कांग्रेसले अविश्वासको प्रस्ताव ल्याए समर्थन गर्छाै भनेर भनेको छैन । जसपाकमा नेताहरुले त झन प्रधानमन्त्रीलेनै हाम्रो माग पूरा गर्न सकारात्मक छन् भनेर भनिराख्नुभएको छ । प्रधानमन्त्रीले हाम्रो माग पूरा गरिदिएको खण्डमा हामी प्रधानमन्त्रीलाई हटाउन चाहदैनौं भनेर जसपाले भनेको छ । सरकारको विकल्पमा छलफल गर्न बोलाइएको बैठकमा उहाँहरु सरकार फेर्ने नियतिका साथ वा उत्साहका साथ बैठकमा आउनु हुँदैन । सरकार हटाउने दिशामा उहाँहरुको मन छैन । उहाँहरुको एकथरी नेताहरु सरकारले हाम्रो माग पूरा गरेमा हामी यो सरकार हटाउन चाहन्नौ भनेर सार्वजनिक रुपमै भन्नुभएको छ । त्यसैले हामीले संसदमा प्रस्ताव लिएर जादाँ फेल हुन्छ भनेरनै हामीले लान सकेको छैनौं । अहिलेको सरकार हटाउन जसपालेनै निर्णय दिएको छैन । जसपाले अरुको नेतृत्वमा नजाने आफ्नै नेतृत्वमा सरकारमा जाने भन्दै बाबुराम भट्टराई वा महन्थ ठाकुरलाई अघि सारे कांग्रेसले के गर्छ ?कहाँबाट आयो यो कुरा हामीलाई जानकारी छैन । तर हामी यो विषयमा पनि छलफल गर्न चाहन्छौं । जसपा पार्टीले हाम्रा नेता डा. बावुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन चाहन्छौं तपाईंहरुको समर्थन चाहियो भनेर संस्थागत ढङ्गबाट निर्णय गरेर आउनुहुन्छ भने हामी त्यो विषयमा छलफल गर्न तयार छौं । हामी ओलीको विकल्पका लागि जुनसुकै विकल्पमा पनि छलफल गर्न चाहन्छौं । पात्र वा पार्टी जुनसुकै भएपनि वा राज्यले ठूलै क्षेति व्योहोरे पनि कांग्रेसले केपी ओलीको विकल्पका लागि जे पनि गर्न तयार हो उसोभए ?राजनीति नैतिकताको विषयभन्दा अलग हुन सक्दैन । राजनीति कानुनी विषयभन्दा अलग हुन सक्दैन । अव अहिलेको प्रधानमन्त्रीको जस्तो सोच, व्यवहार र दम्भले यो देशलाई समृद्धि दिन सक्दैन । नैतिकता हराएको व्यक्तिले देशलाई कहाँ लैजाला ? नेपालको इतिहासमा अहिलेसम्म यस्तो स्थिति आएको थिएन । एउटा प्रहरीले हानेको एउटा गोलीले एउटा नागरिक मर्दा त्यहाँ गृहमन्त्री त उपस्थित हुँदैन । तर एउटा नागरिकको हत्याको कारणले त्यहाँ गृहमन्त्रीले राजीनामा दिन्छ । रगंशालामा खेल हेर्न नागरिकहरु ठेलमठेल गरेर भित्र पस्न खोज्दा गेट सानो भएकोले भीडमा कुनै मानिसको मृत्यु हुन सक्छ । त्यसमा खेलकुद मन्त्रीको के दोष ? तरपनि खेलकुद मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिन्छ । खेलकुद मन्त्रीले गेट सानो बनाएर वा भीड बनाएर मृत्यु भएको हो र ? त्यहाँ खेलकुद मन्त्रीको केही गल्ती नभएतापनि नैतिकताको आधारमा पदच्युत भएका हुन्छन् । नेपालको अहिलेको अवस्था जस्तो नैतिकता नभएको सरकार आजका दिनसम्म देखिएको थिएन । त्यसैले आजका दिनमा राजनीतिमा नैतिकता छ भनेर देखाउनका लागि, वर्तमान संविधानमा स्थिरता छ भनेर देखाउनका लागि संसद विघटनको विषय गैरकानुनी थियो भनेर देखाउनु छ । अदालतले विघटन बदर गरिदिएपछि यो संसद तोकिएको अवधिसम्म चलाउनका लागि यो सरकारको विकल्प खोजिएको हो ।