NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

सिटी मार्केटका १ सय १२ पसलमा महानगरपालिकाले लगायो ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा रहेका १ सय १२ पसलमा तालाबन्दी गरेको छ । सिटी मार्केटका ती पसलले महानगरपालिकालाई बहाल नतिरेका र विगत २ वर्षदेखि सम्झौता मिति सकिएका कारण महानगरपालिकाले ताला लगाएको हो । महानगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि व्यवसायीले अटेर गरेपछि महानगरपालिकाले ती सटरमा ताला लगाउन बाध्य भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । ‘संरचनालाई वहालमा दिनेबारे महानगरसँग पहिले भएको सम्झौताको म्याद सकिएको र नयाँ सम्झौता नभएको अवस्था हो । यस विषयमा व्यवसायीलाई सूचना दिँदा प्रतिक्रिया आएन । त्यसैले मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौं,’ ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्छौ ।’ सिटी मार्केटमा व्यवसाय गर्ने व्यवसायी आफ्नो संघमार्फत ०७६ चैतसम्मको बहाल बुझाएका थिए । त्यसपछि पटक–पटक ताकेता गर्दा पनि उनीहरुले अटेर गरेको महानगरपालिकाको राजश्व विभागका अधिकारीको भनाइ छ । ‘महानगरलाई नटेर्ने व्यवसायीको आचरणकाकारण यो अवस्था आएको हो । यस ठाउँलाई आय ठेक्कामा लगाउन महानगरपालिकाको खरिद विभागले सार्वजनिक सूचना प्रकाशित गर्दा कुनै प्रस्ताव पेश नभएको र साविक व्यवसायीले बहाल नबुझाएकाले सिलबन्दी गर्नुपर्ने अवस्था आएको हो,’ राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले भने । महानगरपालिकाले बिनासुचना आफूहरुको पसलमा तालाबन्दी गरेको भन्दै व्यावसायीले महानगरविरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई नगर प्रहरीले संयमित हुन आग्रह गरेको नगर प्रहरी उपरीक्षक धनपति सापकोटाले बताए ।