NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एमालेमा भोट क्रसपछि धरापमा प्रदेश सरकार : सुदूरपश्चिममा के होला ? यस्तो छ अंकगणित

काठमाडौं । नेकपा विवाद हुँदै एमाले र माओवादीलाई सर्वोच्च अदालतले ब्युँत्याइदिएपछिको राजनीतिको विकृति प्रदेश सरकारबाट सुरु भएको छ । केन्द्रमा रोपिएको राजनीतिक विवाद र अदालतको राजनीतिक निर्णयपछि संस्थागत हुँदै जानुपर्ने प्रदेशमा विकृतिको श्रृंखला सुरु भएको हो । कर्णाली प्रदेशमा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेका चार सांसदले भोट हालेपछि अरु प्रदेशमा पनि अब भोट क्रस हुन सक्ने आंकलन हुन थालेको छ । गत निर्वाचनपछि एमाले र माओवादी मिलेर बनेका नेकपाले सातमध्ये ६ प्रदेशमा सरकार गठन गरेको थियो । प्रदेश २ बाहेकका ६ प्रदेशमा कर्णाली र सुदूरपश्चिममा माओवादीले पक्षले सरकारको नेतृत्व गरेको थियो । पहिलेकै पार्टी ब्युँतिएपछि एमालेले शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि शाहीले विश्वासको मत लिँदा एमालेका माधव नेपाल पक्षका चार सांसदले शाहीको पक्षमा भोट हालेपछि तत्काल माओवादी नेतृत्वको प्रदेश सरकार जोगिएको छ । तर, दलबीच आपसी खिचातानीको यस्तै श्रृंखला अन्य प्रदेशमा पनि सर्ने हो की भन्ने संशय देखिएको छ । कर्णालीमा जस्तै सुदूरपश्चिममा पनि माओवादी पक्षका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । सुदुरपश्चिममा पनि एमाले र माओवादीको समर्थनमा सरकार गठन भएको थियो । सरकार ढाल्न चाहेनेको इच्छा पूरा हुँदैन : मुख्यमन्त्री भट्ट मुख्यमन्त्री त्रिलोचन भट्ट आफू नेतृत्वको सरकार ढाल्न चाहनेको इच्छा पूरा नहुने बताएका छन् । केही नेताहरु आफ्नो सरकार ढाल्न लागे पनि उनीहरुको चाहना पूरा नहुने बताएका हुन् । संघीय मन्त्री लेखराज भट्ट आफ्नो सरकारलाई ढाल्न हात धोएर लागे पनि उनको इच्छा पूरा नहुने संकेत भट्टले गरे । ‘अहिले होइन ५ पुसदेखि नै सरकार ढाल्न ठूलो षडयन्त्र हुँदै आएको थियो’ भट्टले भने, ‘तर मेरा नेताको त्यो चाहना पूरा भएको छैन, अझै पनि ती नेताहरुको चाहना पूरा हुने छैन, यो सरकार ५ वर्षसम्मै सञ्चालन हुनेछ।’ मुख्यमन्त्री भट्टले आफूले गरेको विकास काम प्रधानमन्त्रीले पनि गर्न नसक्ने दाबी गरे । आफ्नो उत्कृष्ट काम गरेको जिकिरसमेत उनले गरे । यस्तो छ सुदुरपश्चिमको अंकगणित सुदूरपश्चिममा ५३ सदस्यीय प्रदेशसभा छ । जहाँ सरकारलाई बहुमत पाइराख्न २७ सिट आवश्यक हुन्छ । यहाँ एमालेको माधव नेपाल पक्षका मात्र १८ सांसद छन् । माओवादी १४ सांसद छन् । एमालेको नेपाल पक्षले अहिलेसम्म माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइरहेको छ । ओली पक्षका सांसद चार जनामात्रै छन् । यस्तोमा एमालेको केपी ओली पक्षले चाहेर पनि भट्टलाई हटाउन नसक्ने अवस्था रहेको बताइन्छ । प्रदेशमा कांग्रेसका १२ र जसपाका २ सांसद छन् । पूरै एमालेको साथ नहुँदा पनि सुदूरपश्चिममा माओवादी, कांग्रेस र जसपाले सरकार बनाए बहुमत २७ भन्दा एक सिट बढी हुन पुग्छ । एमालेको केन्द्रमा केपी ओली र माधव नेपाल पक्षधरको विवाद उत्कर्षमा पुग्दै समानान्तर पार्टीको अभ्याससमेत अघि बढिरहेको छ । यसैले नेपाल पक्षले आफ्नो पकड रहेको ठाउँमा माओवादीलाई समर्थन गरिदिंदा सुदूरपश्चिममा भने माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका भट्टको सरकार तत्काल केही नहुने देखिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष