NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बहुअपेक्षित माथिल्लो तामाकोशीबाट बैशाख ३१ देखि विद्युत उत्पादन सुरू

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसद्को अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराए । पहिलो युनिटबाट बैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तीव्र पारिएको उनले बताए । ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा बैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ’, उनले भने । बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिने उनको भनाइ छ । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले प्रष्ट्याए । ‘हामी बैशाखभित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौ सम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौं’, उनले भने । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शुरु गर्ने भए पनि बैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको बताए । यस्तै, बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहे पनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत उत्पादन शुरु हुँदा बैशाख ३१ गते सम्भव हुने बताए । ‘वैशाख २० गते पहिलो मेसिन घुमाउँछौं । त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन शुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्वीच गरेर बैशाख ३१ गते आशा गर्दैछौं’ उनले भने, ‘तर अहिलेको तालिका अनुसार जेठ २ गते भनेर गरेका छौं । त्यस हिसाबले पहिलो युनिट आइसकेपछाडी असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्तसम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ ।’ आयोजनाको काममा ढिलाई भएको भन्ने भएपछि आफू एक दुई दिनअघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने बताए । साउन मसान्तसम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन शुरु भइसक्ने उनी बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष