NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोरोना कहर : के गर्दैछन् भारतसँग सीमा जोडिएका स्थानीय तह ?

काठमाडौं । गतवर्ष सीमा नाकामा कडाइ नहुँदा नेपालमा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिएको थियो । कमजोर व्यवस्थापनका कारण भारतबाट आएकाहरु पनि कोरोना लिएर गाउँ छिरे । जसका कारण सरकारलाई नियन्त्रणका लागि हम्मेहम्मे परेको थियो यस वर्ष कोरोनाको दोस्रो लहर नेपालमा फैलिँदैछ । तर, सीमा क्षेत्रमा भने फितलो व्यवस्थापन छ । न चेकजाँच नै व्यवस्थित छ न सीमा पारीबाट आएकाहरुलाई सुरक्षित तरिकाले राख्ने क्वारेन्टिनको व्यवस्था नै । खुला सीमा भएका कारण आफूहरु केही गर्न नसक्ने अवस्थामा रहेको सीमा क्षेत्रका स्थानीय तह प्रतिनिधि बताउँछन् । गत चैत्र २४ गते बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कोरोना रोकथामका लागि योजनाबद्ध कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई निर्देशन दिएको छ । यतिबेला हवाइ मार्गलाई कडाइ गरिएको छ । त्यहाँबाट आए पनि सीमित संख्यामा मात्रै संक्रमित भित्रिन सक्छन् । तर, सीमा क्षेत्र सबैभन्दा जोखिमयुक्त ठाउँ हो । यदि समयमै सीमा क्षेत्रमा सुरक्षा सतर्कता नअपनाउने हो भने दोस्रो लहरको कोरोना नेपालले नियन्त्रण नै गर्न सक्दैन । आफैं भ्याक्सिन उत्पादन गरिरहेको भारतलाई त तीव्र रुपमा फैलिरहेको संक्रमण नियन्त्रणमा ल्याउन असम्भव जस्तै देखिएको छ भने, एउटा भ्याक्सिनको लागि महिनौं कुर्नुपर्ने नेपालले झन् कसरी नियन्त्रण गर्ला ? अहिले भारतमा कोरोना कहर निकै डरलाग्दो गतिमा अघि बढिरहेको छ । भारतमा कोरोना बढेसँगै काममा गएकाहरु नेपाल फर्किने लहर पनि बाक्लै छ । धमाधम सीमाबाट नेपालीहरु गाउँ फर्किन थालेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । तर, सीमामा सामान्य चेकजाँच गर्नेबाहेक अन्य प्रभावकारी विकल्प अपनाइएको छैन । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको रोहवरमा हेल्थडेस्क सञ्चालन गरिरहेको वीरगञ्ज महानगरपालिकाका प्रमसख विजयकुमार सरावगीले बताए । ‘भारतमा कोरोना जोखिम बढेसँगै नेपाल भित्रिनेहरुको संख्या पनि बढेको छ । नाकामा चेकजाँचलाई कडा बनाएका छौं । सामान्य लक्षण देखिएकालाई पनि कोभिड जाँच गरिरहेका छौं ।’ नेपालमा पनि दैनिक नयाँ भेरियन्टको कोरोना संक्रमितको संख्या बढ्दो छ । तर, स्थानीय तहले हालसम्म कोभिड अस्पताल बनाएका छैनन् । कोभिडका लागि भनेर निजी अस्पतालहरुलाई पनि सञ्चालनमा ल्याउनेबारे सोचिरहेको सरावगी बताउँछन् । ‘अघिल्लो वर्ष पनि हामीले निजी अस्पताललाई भाडामा लिएर चलाएका थियौं । अहिले पनि कोरोना बढ्दै गए सोही गर्ने योजनामा छौं’, सरावगी भन्छन् । परीक्षणको दायरा बढाउन आफूहरुले २४ घण्टाभित्र पिसिआर चेक गर्ने व्यवस्था गरेको बताए । पालिकाभित्रका सबै विद्यालयलाई एक साताभित्र एक महिनाका लागि लागि बन्द गर्न निर्देशन दिइसकेको उनको भनाइ छ । सबैभन्दा ठूलो समस्या स्वास्थ्य क्षेत्रमा जनशक्ति नै हो । जनशक्ति बढाउन केन्द्र सरकारसँग माग गरिएको र अहिलेसम्म कुनै निर्णय नआएको सरावगीले बताए । अहिले सीमा जोडिएका जिल्लामध्ये सबैभन्दा प्रभावित बाँके हो । त्यहाँ दैनिक सयको हाराहारीमा कोरोनाका संक्रमित भेटिन थालेका छ । त्यसमध्ये पनि नेपालगञ्ज उपमहानरपालिका सीमासँग जोडिएको छ । नेपालगञ्ज उपमहानगरले पनि सीमा नाकामा हेल्थडेस्क सञ्चालन गरिरहेको छ । हेल्थडेस्कमार्फत सीमापारीबाट आउने नागरिकको ज्वरो जाँच गर्ने काम भइरहेको उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण गर्नुका साथै ज्वरो र रुघाखोकी जाँच भएपछि मात्रै नेपाल प्रवेश गर्न दिइएको मगरको भनाइ छ । कोरोना देखिएको खण्डमा अस्पताल रेफर गर्ने गरिएको छ । ‘हाम्रो पालिकाभित्र काममा खटिएका कर्मचारीहरुलाई पनि स्वास्थ्य मापदण्डका साधनहरु पर्याप्त मात्रामा उपलब्ध गराएका छौं । हेल्थ डेस्कमा स्वास्थ्य मन्त्रालयबाट ३ जनाका दरले खटिएका छन् ।’ यस्तै कोभिड अस्पतालमा एकसय ४० बेड छन् । तर ती सबै प्याक रहेको उनले बताइन् । ‘अहिलेका बिरामीलाई मेडिकल उपचार र अक्सिजन अनिवार्य चाहिन्छ । त्यसैले अस्पताललाई नै जोड दिएका छौं’ उनले भनिन् । नेपालगन्ज उपमहानगरभित्रका विद्यालय भने आइतबारदेखि नै एक साताका लागि बन्द गरिएको छ । यस्तै जनचेतनाका लागि पनि आफूहरुले सबै संयन्त्र परिचालन गरेको उपमेयर उमा थापामगरले जानकारी दिइन् । यस्तै, कोरोना जोखिम भएको अर्को स्थान हो विराटनगर । भारतीय सीमासँगै जोडिएको यो सहरमा पनि नयाँ भेरियन्टको कोरोनाको जोखिम उच्च छ । विराटनगरले पनि तत्काल विद्यालय बन्द गरेको छ । खुला सीमा भएका कारण भारतबाट आउने सबैको निगरानी राख्न मुस्किल भएको महानगरपालिकाले जनाएको छ । तर, सुरक्षा निकायसँग समन्वय गरी सीमामा सुरक्षा व्यवस्था कडा पार्न अपील गरिएको महानगरकी उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् । अहिले आफूहरुले पनि सीमामा एन्टीजेन परीक्षणलाई नै प्राथमिकता दिएको उनको भनाइ छ । मोरङ जिल्लाभरी शनिबारसम्म ३९ जनामा संक्रमण देखिएको छ । विराटनगर महानरपालिकामा मात्रै १२ जनामा पुष्टि भएको छ । त्यसमध्ये एक महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ । एक सय बेडको कोभिड अस्पताललाई क्षमता बढाएर दुई सय बेडको बनाउन लागेको उनले जानकारी दिइन् । सबैजसो नाकामा हेल्थडेस्क स्थापना गरिएको र जनशक्ति पनि थप गरिएको छ ।