NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

लुम्बिनीमा जसपा संसदीय दलको बैठक अनिर्णीत, अर्को बैठक सोमबार बस्ने

काठमाडौं । जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठक बिना निष्कर्ष सकिएको छ । सरकारमा निर्णायक मत राखेर बसेको जनता समाजवादी पार्टीको आइतबार बसेको संसदीय दलको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । लुम्बिनी सरकारमा निर्णायक मत राखेर बसेको जसपाका ६ सांसदमध्ये बैठकमा सबैजना उपस्थित हुन नसकेपछि बैठकमा पेश गर्ने एजेन्डा नै पूर्ण बन्न सकेन । प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बसे पनि कुनै निष्कर्षमा नपुगेको संसदीय दलका एक सदस्यले बताए। बैठक सोमबार बस्नेगरी सकिएको ती सांसदले जानकारी दिए । सचेतकलाई नै पुगेन सुचना आइतबारको बैठक बस्नेबारे बिहान नै सबै सांसदलाई सूचित गरिए पनि सचेतक कल्पना पाण्डेसमक्ष जानकारी नपुगेको बताइएको छ । प्रदेश सभामा ६ जना सदस्य रहेको जसपाको बैठकमा सांसद कल्पना पाण्डेलाई भने बैठक चलेपछि भएपछि मात्र बोलाइएको उनले बताइन् । जसपाका ६ सांसदमध्ये कल्पना पाण्डे, महन्त ठाकुर निकट हुन् । त्यस्तै विजय यादव, सहश्रराम यादव, सन्तोष पाण्डे, फूलमती ढेंगामगर र सुमन शर्मा रायमाझी बाबुराम भट्टराई–उपेन्द्र यादव निकट हुन्। जसपाले आफ्नो औपचारिक निर्णय सार्वजनिक नगर्दै आइतबार नै माओवादी तथा कांग्रेसका नेताहरुसँग बैठक बसेपनि त्यसलाई सार्वजनिक गरेका छैनन्। कांग्रेस र माओवादी जसपाको निर्णय कुर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट शंकर पोखरेललाई हटाउन नेपाली कांग्रेस र माओवादी केन्द्रले जोड गरिरहेका छन्। नेकपा एमालेका स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलको विकल्प खोज्नका लागि कांग्रेस र माओवादीले जसपाको निर्णय पर्खिरहेका छन्। ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले दुई जना सांसदलाई पार्टीले कारवाही गरेपछि ८५ सदस्यीय बनेको छ । यसमध्ये एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य मौजुदा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष