NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राष्ट्रिय सभामा रिक्त सदस्य पदको निर्वाचन जेठ पहिलो साता गर्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त सदस्य पदको निर्वाचन जेठ पहिलो साता गर्न प्रस्ताव गरेको छ । पुस ५ को प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको पक्षपाती रहँदै एमालेतर्फ लागेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा (माओवादी केन्द्र) ले अनुशासनको कारबाही गरेको थियो । माओवादीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित थापाकाे पद पार्टीले कारबाही गरेपछि रिक्त भएको थियो । जसको सूचना संसद् सचिवालयले आइतबार मात्रै जारी गरेको थियो । पद रिक्त भएको जानकारी सचिवालयले आयोग गराइसकेको छ । सूचनापछि आयोगले निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको हो । राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ । ३५ दिनको अवधि जेठ ७ मा पुग्दै छ । सोहीअनुसार आयोगले जेठ पहिलो साताको कुनै एक दिन मिति तोक्न सुझाव दिएको छ । थापा वाग्मती प्रदेशबाट निर्वाचित भएका हुन् । त्यसकारण रिक्त पद पनि सोही स्थानबाटै पदपूर्ति हुनेछ । त्यसका लागि वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदान गर्नेछन् ।