NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पत्रकार श्रेष्ठसहित अन्नपूर्ण हिमाल आरोही सम्मानित

गलेश्वर । वसन्तयाममा ‘किलर माउन्टेन’ को रूपमा परिचित विश्वको दसौं अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको पत्रकार पूर्णिमा श्रेष्ठलगायत ६ नेपाली महिलासँगै ६७ जनाले सफल आरोहण गरेका पथप्रदर्शक पेम्बा शेर्पाले जानकारी दिए । आरोहण गर्ने ६ महिलामा पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पा छन् । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् । अन्नपूर्ण बेसक्यामबाट ६ दिनको यात्रासँगै टोली गत शुक्रबार बिहान १ः१५ बजे चुचरोमा पुगेको हो । सेभेन समिट ट्रेक्सबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । आरोहीलाई सोमबार बेनीमा स्वागत गरिएको थियो । उक्त कार्यक्रममा श्रेष्ठले बेसक्यापदेखि अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम मोलेको बताइन् । खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर सफल आरोहण गर्न टोली सफल भएको शेर्पाले बताए । सुन्दर ठाउँमा अवस्थित अन्नपूर्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरे । फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला राखेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ जेठ २१ मा अन्नपूर्णको सफल आरोहण गरेका थिए । बेनीमा पनि भव्य सम्मानअन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सोमबार भव्य सम्मान गरिएको छ । अन्नपूर्णको चुचुरोमा पुग्ने पहिलो पत्रकार श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङवासी र नेपाल पत्रकार महासङ्घ म्याग्दीले बेनीमा सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्यान्डका यारोलाई पनि सम्मान गरिएको थियो । नेपाल पत्रकार महासङ्घ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला राख्न सफल भएको बताइन् । साहसले नै सफल आरोहण भएको उनले अनुभव सुनाइन् । पहिलो महिला पुगेको भन्दा पनि एउटा नेपाली युवा चुचुरोमा पुगेकाले आफूलाई खुसी लागेको उनको प्रतिक्रिया थियो । यो सफल यात्रामा सहयोग गर्ने गण्डकी प्रदेश, अन्नपूर्ण गाउँपालिकालगायत सहयोगी सबैलाई उनले धन्यवाद दिइन् । (समाचार : रासस/ तस्बिर : श्रेष्ठको ट्विटर)