NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कुशल भुर्तेलद्वारा कीर्तिमानी तेस्रो अर्धशतक

काठमाडौं । त्रिदेशीय क्रिकेट सिरिजमा नेपालका कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् । नेदरल्यान्डस्‌विरुद्धको दोस्रो खेलमा भुर्तेलले ६२ रनको योगदान दिएका हुन् । योसँगै अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपालको तर्फबाट लगातार तीन अर्धशतक प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान बनेका छन् । यसअघि भुर्तेलले नेदरल्यान्डस्‌विरुद्धको खेलमा पनि ६२ रन नै बनाएका थिए । यो उनको अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा डेब्यु खेलसमेत थियो । प्रतियोगिताको दोस्रो खेलमा उनले मलेसियाविरुद्ध अविजीत रहँदै ६१ रन प्रहार गरेका थिए । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पेवेलियन फर्किनुअघि उनले ४६ बलको सामना गर्दै ८ चौका र १ छक्का हिर्काए । प्रारम्भिक ब्याट्सम्यान रहेका भुर्तेललाई चौथो नम्बरमा मैदान भित्रिएका दिपेन्द्र सिंह ऐरीले बलियो साथ दिएका थिए । ऐरीले ६० रनको पारी खेले । ३० बलको मात्रै सामना गरेका उनले ५ छक्का र ३ चौका हिर्काए । भुर्तेलको नाममा करियरकै सुरुवाती ३ खेलमा लगातार ३ अर्धशतक प्रहार गर्ने कीर्तिमान समेत गएको छ । यसअघि नेपालका कुनै पनि ब्याट्सम्यानले यस्तो आँकडा खडा गर्न सकेका थिएनन् ।