NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

माधव नेपाललाई ओलीको पत्र, ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसहितका चार नेतालाई सच्चिएर पार्टीमा फर्किन चेतावनीपूर्ण पत्र पठाएका छन् । दुई दिने स्पष्टीकरण सोध्दै ओलीले तत्काल पार्टी र सरकारविरुद्ध गरिरहेका गतिविधि अन्त्य गर्दै पार्टीमा फर्किन निर्देशन दिएका छन् ।उनले चित्तबुझ्दो जवाफ नआएमा कुनै पनि बेला कडा कारबाही हुनसक्ने पत्रमा चेतावनी पनि दिएका छन् । यसअघि निलम्वनमा परिसकेका नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई पठाइएको ५ बुँदे स्पष्टीकरणमा एमालेको नाम, झण्डा र चिन्ह दुरुपयोग गरी अर्को दल सञ्चालन गरेको आरोप लगाइएको छ । कर्णाली प्रदेशसमा एमाले सांसदलाई उचाल्दै फ्लोर क्रसजस्तो अनुशासनहीन र आपराधिक कार्य गराएकोले पार्टी र संसदीय दल परित्याग गरेको हुनाले ‘सांसद सदस्य पदबाट मुक्त किन नगर्ने ?’ भन्दै प्रश्न गरिएको छ । ओलीले पठाएको पत्रमा भनिएको छ, ‘यस्तै गतिविधि गरिराखेमा तपाईलाई कुनै पनि बेला कडा कारबाही हुनसक्ने अवगत गराउँदै पार्टीविरोधी गतिविधि बन्द गर्दै सही बाटोमा फर्किने मौका दिन यो पत्र लेखिएको छ । तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र गतिविधि सच्याउँदै पार्टीको हितमा लाग्ने प्रतिबद्धतासहितको जवाफ आएमा पार्टीले विचार गर्ने नै छ ।’