NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

फैलिँदै संक्रमण : छैनन् पर्याप्त पूर्वाधार, संक्रमितले उपचारै नपाउने जोखिम दोहोरिँदै

काठमाडौं । आगामी जेठ–असारमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रक्षेपण अनुसार जेठ अन्तिम र असार पहिलो साता दैनिक ११ हजारका दरले संक्रमित थपिनेछन् । यस हिसाबले असारसम्म संक्रमितको संख्या ६ लाख पुग्ने आकलन मन्त्रालयको छ । यसका पछाडि भारतमा उच्च दरमा बढ्दै गएको संक्रमण र नेपालमा पनि पछिल्ला दिनमा देखिएको संक्रमणको फैलावटलाई आधार लिइएको छ । यसलाई तथ्यांकबाटै हेरौं, मन्त्रालयको तथ्यांकअनुसार गत ३१ चैतसम्ममा देशभर कुल तीन हजार ६ सय आठ जना सक्रिय संक्रमित थिए । एक सातामा यो संख्या दोब्बर भन्दा धेरैले बढेको छ । पछिल्लो एक सातामा मात्रै सक्रिय संक्रमितको संख्या १०१.०५ प्रतिशतले वृद्धि भएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६ वैशाख मा देशभर सक्रिय कोभिड १९ संक्रमितको संख्या सात हजार दुई सय ५४ छ । तर, जुन तीब्र गतिमा कोरोना संक्रमित थपिँदैछन्, सोही दरमा पूर्वाधार भने छैनन् । यसले थप जोखिम बढाएको छ । हाल सरकारसँग भएका स्वास्थ्य पूर्वाधारको अवस्था हेर्दा मन्त्रालयले प्रक्षेपण गरे अनुसार दैनिक ११ हजार संक्रमित थपिँदा हाल भएको क्षमताले थेग्न नसक्ने स्पष्ट छ । कोरोना संक्रमण थेग्नेगरी अहिले सरकारसँग कति पूर्वाधार छन् त ? स्वास्थ्य मन्त्रालयले नियमित निकाल्ने ‘अवस्था प्रतिवेदन’ (सिचुएसन रिपोर्ट) का अनुसार हाल देशभर १ हजार १ सय ८ आइसियु र ४ सय ६० वटा भेन्टिलेटर छन् । यी दुवै जोड्दा भेन्टिलेटर र आईसियुको कुल क्षमता एक हजार पाँच सय ६८ पुग्छ । अहिले नै ४३ कोरोना संक्रमित भेन्टिलेटरमा छन् भने एक सय ४८ जना आईसियुमा छन् । गम्भीर अवस्थाका संक्रमितलाई भेन्टिलेटर र आईसियुमा राखिन्छ । पछिल्लो एक साता नेपालमा देखिएको संक्रमण र सक्रिय संक्रमितमध्ये आईसियु र भेन्टिलेटरको सहयतामा रहेकाहरूको तथ्यांकलाई विश्लेषण गर्दा संक्रमितमध्ये औसतमा दुई प्रतिशतलाई आइसियुमा राख्नुपर्ने देखिन्छ भने सक्रिय संक्रमितमध्ये औसतमा एक प्रतिशतलाई भेन्टिलेटरको सहायतामा राख्नुपर्ने देखिन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुन संक्रमितमध्ये तीन देखि पाँच प्रतिशतलाई गम्भिर लक्षण देखिन सक्ने अध्ययनले देखाएको बताउँछन् । उनी भन्छन्, ‘जति संक्रमित बढ्छन, त्यही दरमा गम्भिर विरामी पनि बढ्छन् । अन्य रोगका विरामीलाई छाडेर कोरोना संक्रमितकोमात्र हिसाब गर्दा पनि अहिले भएको क्षमताले बढ्दो संक्रमणलाई थेग्न सक्ने देखिन्न । अहिले नै प्रक्षेपण गरेर आवश्यक पूर्वाधार नबनाएमा पहिलेको जस्तो अवस्था नआउला भन्न सकिँदैन ।’ उपचार नपाउने जोखिम ६ वैशाखमामात्रै काठमाडौंमा पाँच सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उपत्यकाका ललितपुर र भक्तपुरमा क्रमशः ९७ र ३२ मा संक्रमण पुष्टि भयो । हाल काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमध्ये काठमाडौं र ललितपुरमा ५ सयभन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयको अवस्था प्रतिवेदनले देखाउँछ । काठमाडौंमामात्र दुई हजार एक सय सात जना सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकले देखाउँछ । तर, यति ठूलो संख्याका संक्रमितलाई थेग्नेगरी पूर्वाधार छैन । मन्त्रालयका अनुसार काठमाडौंका तीन जिल्लामा गरेर हाल चार सय आईसियु र दुई सय भेन्टिलेटर छन् । यति ठूलो संख्याका अस्पताल र पूर्वाधार भएको काठमाडौंमा त यस्तो हालत छ भने अन्त त झनै दयनीय अवस्था छ । दोस्रो लहरको कोरोनाले सबैभन्दा धेरै मार काठमाडौं उपत्यकामा परेको छ । अन्य जिल्ला र प्रदेशको तुलनामा धेरै संख्यामा भेन्टिलेटर र आइसियु भएपनि संक्रमण अहिलेकै गतिमा फैलिए अपुग हुने डा. पुन बताउँछन् । उनी भन्छन्, ‘पहिलेको जस्तो अवस्था मात्रै आयो भने पनि झन खतराको स्थिति सिर्जना हुन्छ,’ दोस्रो लहर भनिएको अहिलेको अवस्थामा संक्रमण थप गतिशिल रुपमा फैलिने भनिएकाले जोखिम पनि बढी भएको पुन बताउँछन् । उनी भन्छन्, ‘बीचमा संक्रमणको गतिमा बदलिएन र यही गतिमा फैलियो भने पूर्वाधारले धान्दैन ।’ संक्रमण बढ्दै गएर पुर्वाधारले नधान्ने अवस्थामा संक्रमितले उपचारै नपाउने जोखिम हुने जनस्वास्थ्यविद्हरू बताउँछन् । कस्तो छ सरकारको तयारी ? संक्रमण तीब्र गतिमा फैलिरहँदा सरकारले भारतसँग जोडिएका सीमा नाका क्षेत्रमा एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले कोरोनाको जोखिम बढिरहेका कारण सीमाबाट प्रवेश गर्ने नागरिकमा कोभिड परीक्षण नहुँदासम्मको अवधिमा राख्नलाई भारतसँग सिमा जोडिएका नाकाहरूमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सीमानामा आउनेहरूलाई सरकारले क्वारेन्टाइनमा बस्न लगाइरहेको छ भने परीक्षण गर्दा पोजेटिभ आएमा आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । पर्याप्त तयारी बिना लकडाउन गर्दा नागरिकले सास्ती पाएपछि गत वर्ष सरकारको आलोचना भयो । यसपटक भने संक्रमण उच्च दरमा फैलिँदासमेत सरकार लकडाउनमा जान हिच्किचाइरहेको छ । मन्त्रालयका प्रवक्ता गौतम जोखिम नियन्त्रण गर्न आवश्यक अन्य उपाय अपनाउँदा समेत संक्रमण नियन्त्रणमा नआए जोखिम रहेका स्थानमामात्र लकडाउन हुनसक्ने बताउँछन् । ‘भयो भने सेलेक्टिभ लकडाउन हुन्छ, पहिलेजस्तो मेची–महाकालीवाला लकडाउन हुँदैन,’ गौतम भन्छन्, ‘जुन ठाउँमा संक्रमण नै छैन् त्यहाँ किन लकडाउन गर्ने ?’ तर, संक्रमण थप फैलिए लकडाउनमा जानैपर्ने मन्त्रालय बताउँछ । ‘अस्पतालमा बिरामीले वेड नै नपाउने अवस्था भएमा अवश्य पनि लकडाउन हुन्छ ,’ गौतम भन्छन् । सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरेपनि मानिसको आवतजावत निस्फिक्रि भएकाले यसलाई नियन्त्रण गर्न गाह्रो भएको मन्त्रालयको बुझाइ छ । जोखिम कम गर्ने मापदण्ड बेवास्ता गर्दै गए निकट भविष्यमै नेपालमा विकराल स्थिति आउने मन्त्रालयको चेतावनी छ । बालबालिकामा संक्रमणको जोखिम बढेको र भिडभाड हुने ठाउँबाट थप फैलिने भन्दै सोमबार नै स्वास्थ्य मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले विभिन्न १३ जिल्लाका शैक्षिक संस्थासहित अन्य व्यापार व्यवसाय, खेलकुद, मनोरञ्जनलगायतका क्षेत्रलाई बन्द गर्ने निर्णय गरिसकेको छ । कतिपय जिल्लाले त आफैं लकडाउन घोषणासमेत गर्ने तयारी अघि बढाएका छन् । संक्रमण बढेको भन्दै एक सातालाई लकडाउन गर्ने तयारी बाँकेले गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय र जिल्ला कोभिड प्रकोप न्यूनीकरण समितिको संयुक्त बैठकले वैशाख ९ गतेदेखि एक सातालाई लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसरी बढ्दै गएको संक्रमणलाई हेरेर आईसियु लगायतका संरचना बनिरहेका मन्त्रालयको जवाफ छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभरका स्थानीय तहमा दुई हजार आइसियु थप्न मन्त्रालयबाट रकम पठाइएको छ । उनी भन्छन्, ‘त्यही बजेटबाट अहिले विभिन्न ठाउँमा पूर्वाधार बनिरहेका छन् ।’ महामारी सुरु भएयता आइसोलेसन, आइसियु, जनरल वार्ड लगायत गरी कुल १० हजार शय्या थपिएको गौतम बताउँछन् । तर, संक्रमण बढ्दै गए यसले पनि नपुग्ने अवस्था आउने उनी बताउँछन् । यसअघि फैलिएको कोरोना महामारीको पहिलो लहरबाट पाठ सिकेर अहिले त्यसलाई सरकारले अवलम्बन गर्नुपर्ने डा. पुन बताउँछन् । संक्रमितको संख्या बढिरहेकाले गम्भीर संक्रमितको संख्या पनि बढ्ने बताउँदै पुन भन्छन्, ‘संक्रमित हुने संख्या प्रक्षेपण गरेअनुसार पूर्वाधारलाई पनि तयार गर्नुपर्ने हुन्छ ।’ गत वर्ष पनि कोभिड संक्रमितका लागि पूर्वाधार अत्यन्त न्यून थिए । जसका कारण कतिपयले अस्पतालमा बेड नै नपाएर ज्यान गुमाउनु परेको थियो भने कतिपयले आइसोलेसनमै ज्यान गुमाउनु परेको थियो । यसअघि पूर्वाधार अपुग भएका कारण मानिसको ज्यान गएको इतिहास फेरि दोहोरिन नहुने डा. पुन बताउँछन् । उनी भन्छन्, ‘हाम्रा हिजो जे कमिकमजोरी थिए, त्यो कमिकमजोरी फेरि यसपटक पनि दोहोर्‍याउनु भएन् ।’