NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

२० हजार सिलिन्डर अक्सिजन ल्याउन सहुलियत दिँदै सरकार

कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीलाई लक्षित गर्दै तत्काल थप २० हजार थान अक्सिजन सिलिन्डर ल्याउन व्यवसायीलाई सहुलियत दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले मन्त्रालयले २० हजार सिलिन्डर ल्याउनका लागि प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए। उनले उद्योगीहरूलाई आवश्यक सहयोग गर्ने विषयमा छलफल भइसकेको जानकारी दिँदै सिलिन्डर ल्याउँदा व्यवसायीलाई सम्पूर्ण कर छुट दिने बताए। उनले भन्सार, मूल्य अभिवृद्धि करलगायतका करमा छुट दिने प्रस्ताव स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखी पठाइसकेको जानकारी दिए। प्रमुख विशेषज्ञ डा पोखरेलले अहिलेसम्मको तथ्याङ्क हेर्दा कोरोना सङ्क्रमण उकालो लाग्ने क्रम नरोकिएकाले भोलिको परिस्थितिलाई ध्यान दिई २० हजार अक्सिजन ग्यास सिलिन्डर ल्याउनका लागि पहल भएको जानकारी गराए। सरकारले अक्सिजन ग्यास भर्नका लागि पनि आवश्यक सहयोग गर्ने पोखरेलको भनाइ छ । उनले अक्सिजन उत्पादन गर्दै आएका उद्योगहरूलाई अहिलेको उत्पादनलाई दोब्बर गर्न आग्रह गरेको जानकारी दिँदै कतिपय उद्योग बन्द रहेको, कतिपयले पर्याप्त मात्रामा ग्यास उत्पादन गर्न नसकेकाले आवश्यक तयारी मन्त्रालयले गरेको बताए।