NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमालेमा एकता मुश्किल !

आज १० वैशाखमा बसेको एमाले केन्द्रीय समिति बैठकबाट ओलीले गठन गरेको स्थायी समिति र कार्यविभाजनको तस्वीर नियाल्दा निश्कर्ष निस्कन्छ – खनाल–नेपाल समूहका प्रतिनिधि सभा सदस्यमाथि कारवाही हुनेछ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालबीच ८ वैशाखको साँझ मेरियट होटलमा भएको छलफलले दुवै पंक्तिमा जगाएको आशाको एउटा वाक्य थियो, ‘भोलि पनि बसौं । छलफललाई निरन्तरता दिउँ ।’ ओलीको यो भनाइलाई नेपालले आफ्नो समूहमा संप्रेषण गरेका थिए। त्यसअघि त्यही दिउँसो बालुवाटारमा नेता योगेश भट्टराईले ओलीसँग पार्टीको एकता बचाएर लैजान आग्रह गर्दा पनि प्रधानमन्त्रीले उनलाई भनेका थिए, ‘म मिलाउने पक्षमा नै छु । मिलाएरै लैजाने हो ।’ तर, भोलिपल्ट ९ वैशाख बिहान बल्खुस्थित केन्द्रीय कार्यालयको भवन उद्घाटन गर्दै ओलीले नेपाल समूहलाई व्यंग्य गरे, ‘अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं । अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । यसलाई कमजोरी ठानेर गुटको आधारमा गतिविधि गर्न खोजिन्छ भने त्यो अब सम्भव छैन।’ प्रधानमन्त्रीको यो खस्रो अभिव्यक्तिपछि अघिल्लो साँझबाट खुसी बनेका नेपाल–खनाल समूहका नेता/कार्यकर्ताहरूले आफूहरूसँग वार्ता गरे जस्तो पनि गर्ने, स्पष्टीकरण अनुसार कारवाही पनि गर्ने बाटोमा ओली जान सक्ने खतरा आकलन गरेका थिए । ९ वैशाख अपराह्न ओली–नेपालबीच मेरियट होटलमा पुनः भएको छलफलबाट बिहानैदेखि नेता/कार्यकर्ताहरूले जे आकलन गरेका थिए, ‘कोर्स’ त्यही बाटोमा गयो । किनभने ओली र नेपालबीचको ९ वैशाख अपराह्नको छलफल सौहार्दपूर्ण हुन सकेन । जुन कुरा नेपाल स्वयंले सार्वजनिक गर्दै भनेका थिए, ‘कुनै प्रगति भएन।’ त्यही बेलुका ओलीले एमाले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा ‘डिनर मिटिङ’ का लागि निम्त्याएका थिए । ओलीले गौतमलाई निम्त्याउनुको कारण थियो, आफूलाई साथ दिनुस् भन्ने । तर, गौतमले ओलीसामू २८ फागुनको निर्णय सच्याउन आग्रह गरे । ओलीले पूर्ववत् अडानबाट टसमस हुने छाँट नदेखाएपछि डिनर चलिरहेकै बेला गौतम बाहिरिएका थिए । खनाल–नेपाल समूहले आज १० वैशाखमा बालुवाटारमा भएको ओली खेमाको केन्द्रीय समिति बैठकलाई निकै चासोका साथ हेरेका थिए । किनभने ओली पक्षको केन्द्रीय समिति बैठकले नेपाल–खनाललगायत २७ जना प्रतिनिधि सभाका सदस्यहरूलाई निश्कासन वा यथावत राख्नेमध्ये एउटा निर्णय गर्लान भनेर व्यग्रताका साथ हेरेका थिए । तर, ओली समूहको केन्द्रीय समितिले त्यो जिम्मेवारी स्थायी समितिलाई सुम्पियो। यद्यपि, केन्द्रीय समिति बैठकबाट ओलीले गठन गरेको स्थायी समिति र कार्यविभाजनको तस्वीर नियाल्दा निश्कर्ष निस्कन्छ – खनाल–नेपाल समूहका प्रतिनिधि सभा सदस्यमाथि कारवाही हुनेछ । आजै जनकपुर पुगेर वरिष्ठ नेता नेपालले ओलीको अहंकार धरहराभन्दा उक्लिएको टिप्पणी गरे भने अर्का वरिष्ठ नेता झलनाथ खनालले ओलीले गठन गरेको स्थायी समितिलाई भारदारी सभाको उपमा दिए । यसले ओली–खनाल÷नेपाल समूहको विवाद यथावत रहेको बुझ्न कठिन छैन् । के गर्लान नेपाल–खनाल समूह ?तपाईंलाई अहिले अध्यक्ष केपी ओलीले महत्व दिनुभएको देखिन्न । महासचिव भएका बेला उहाँलाई तपाईंले वास्ता नगर्नुभएकाले उहाँले पनि त्यस्तै गर्नुभएको भन्छन्, हो ? मैले ओलीजीलाई महत्व नदिएको भन्ने त लाग्दैन । म महासचिव हुँदा हाम्रो पार्टीभित्र ओलीजी, झलनाथ खनालजी र मेरो तीन जनाको टिम थियो। त्यो व्यवस्था मैले नै गरेको थिएँ । कमिटीको बैठकभन्दा बाहिर निर्णय गर्नुपर्‍यो भने हामी तीन जनाको सल्लाहमा हुन्थ्यो । ०६२/६३ को जनआन्दोलनपछिको सरकारमा पार्टीभित्र सबैको विरोधका बीच पनि ओलीजीलाई उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको प्रस्ताव राख्ने मै हुँ । मैले प्रस्ताव राखेको थिइनँ भने उहाँ उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन । पार्टीको सातौं महाधिवेशनपछि ओलीजीले नै भनेको हुनाले, उहाँकै प्रस्तावमा मैले करिब एक दर्जनलाई केन्द्रीय समितिको सदस्य मनोनीत गरेको हुँ । त्यसैले मैले ओलीलाई महत्व दिएको थिइनँ भन्नेमा सत्यता छैन । तर, ओलीले तपाईंलाई खासै महत्व दिनुभएको छैन त ?अब उहाँले महत्व दिनुभयो/भएन, उहाँले नै सोच्ने कुरा हो । तर, कसैले कसैलाई महत्व नदिएर कसैको फाइदा हुँदैन । पार्टीलाई नोक्सान पुग्छ । सबैले सबैको क्षमता, योग्यता र व्यक्तित्वको राम्रो कदर गर्‍यो भने सबैको कदर सबैले गर्छन् । किनभने, आफूले सम्मान पाउन पनि अरूको सम्मान गर्न जान्नुपर्छ । पुस ०७४ को एउटा भेटमा यो प्रतिनिधिले माधवकुमार नेपाललाई सोधेको प्रश्नमा उनले उल्लेखित जवाफ दिएका थिए । तर, पार्टीभित्रको विरोधका बावजुद आफूले ओलीलाई उपप्रधान र परराष्ट्रमन्त्री, सातौं महाधिवेशनपछि उनी पक्षधर एक दर्जन नेताहरूलाई केन्द्रीय सदस्य बनाई दिएको दावी गर्ने नेपाललाई नै ओलीले ६ महिनाका लागि निलम्वन गरिसकेका छन् । वरिष्ठ नेता नेपाल कोअर्डिनेश केन्द्र, नेकपा मालेका संस्थापकमध्येका एक हुन् । माले स्थापना भइरहँदा ओली भने जेलमा थिए । नेपालसँगै उनी पक्षधर उपाध्यक्ष भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई समेत ओलीले पार्टी सदस्यबाट निलम्वन गरेका थिए । त्यतिले मात्र नपुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ७ वैशाखमा प्रतिनिधि सभाका सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, पवित्रा निरौला, रामकुमारी झाक्रीलगायत २७ जना सांसदहरूलाई ‘तपाईलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधिसकेका छन् । ओलीले खनाल र नेपाल समूहलाई निसानामा पार्ने खड्ग उठाएपछि यस खेमाको आगामी यात्रा कस्तो होला ? ओलीको कारवाहीलाई स्वीकार पनि नगर्ने, फरक पार्टी पनि गठन नगर्ने केही दिन अघिसम्मको रणनीति बदलेर खनाल–नेपाल समूह नयाँ पार्टी गठनमा जुट्ला वा चुपचाप कारवाही सहेर पनि समानान्तर गतिविधिमै गरिरहला ? कौतुहलता छ। रोचक के भने ओलीले खनाल–नेपाल समूहमै रहेका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट, ध्रुवबहादुर शाही, राजबहादुर बुढा र पार्वती विशंखेलाई भने स्पष्टीकरण सोधेका छैनन् । तर, विष्टलाई १० वैशाखमा गठन गरिएको स्थायी समितिमा पनि समेटेका छैनन् । अघिल्लो महिना ८ चैत्रमा नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोध्दा पनि ओली शैली विरुद्ध उनीहरू जतिकै खटिरहेका झलनाथ खनाल, योगेश भट्टराईलगायतलाई छोएका थिएनन् । अनेरास्ववियूका पूर्व उपाध्यक्ष एवं खनाल–नेपाल पक्षमा रहेका एमाले नेता शिव गुरुङका शब्दमा ओलीले ‘फुटाउ र शासन गर’ नीति अन्र्तगत विष्टहरूलाई स्पष्टीकरण नसोधेका हुन् । विष्टहरूलाई आफ्ना पक्षमा तान्न सकिन्छ कि भन्ने उद्देश्यले ओलीले उनीहरूलाई स्पष्टीकरण नसोधेका गुरुङ बताउँछन् । ‘प्रधानमन्त्री ओलीले नेपाल समूहमा रहेका धेरै नेताहरूलाई आफूतिर तान्न सम्भव भएसम्मको सबै शक्ति प्रयोग गरिरहेका छन् । त्यही योजना अन्र्तगत दाह्रा, नङ्ग्रा, पखेटा सबै उखेल्ने, काट्ने, नेपाल–खनाल समूहसँग नेता/कार्यकर्ता जान नदिएर एक्ल्याउने र पछि तिम्रो हैसियत यो हो, आउने भए आउ भन्ने योजना ओलीजीमा देखिन्छ’, गुरुङ भन्छन्, ‘केही दिन अघिसम्म नेपाल–खनाल समूहमै रहेर ओली शैलीविरुद्ध प्रतिवाद गर्ने प्रतिवद्धता जनाएकाहरूलाई समेत उनले आफूतिर तान्न भगिरथ प्रयत्न गरिरहेका छन् । ओलीको त्यो प्रलोभनमा को–को पर्ने हुन् ? टुङ्गो लागिसकेको छैन् ।’ प्रधानमन्त्री ओली खनाल–नेपाल समूहलाई पाखा लगाएरै छाड्ने योजनामा दृढ देखिन्छन् । त्यही कारण एमाले यसबेला शनी संकटमा छ। एमाले नेता एवं पूर्व मन्त्री राधाकृष्ण मैनालीका भनाइमा ओली नेपाल–खनाल समूहलाई कारवाही र प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने तर घोषणा गरेको मितिमा निर्वाचन नगराई भाँडभैलो मच्चाउने योजनामा छन् । त्यसैले उनको अहिलेको प्राथमिकता पार्टी एकता होइन । ओलीले दमन गरेको गर्‍यै गरे भने खनाल–नेपाल समूह फरक पार्टी स्थापना गर्न बाध्य हुने मैनाली बताउँछन् । ‘ओलीले नेपाल–खनालहरूलाई कारवाही गरेपछि उनीहरूसँग अर्को पार्टी खोल्नुको विकल्प छैन्’, मैनाली भन्छन्, ‘प्रधानमन्त्री ओली अलग पार्टी बनाउने ध्येयमा छन् ।’ नेपाल–खनाल समूहको ३ र ४ चैत्रमा भएको भेलाले ७७ वटै जिल्लामा समानान्तर कमिटी बनाउने, ओलीले गरेको कारवाही भोग्ने तर पार्टीभित्रै बसिरहने निर्णय गरेको थियो । राष्ट्रिय भेलाको निर्णय अनुसार ओलीले नेपाल समूहका २७ जना सांसदलाई पदबाट निश्कासन गरे पनि अन्तर संघर्ष गर्दै त्यहीँ रहनु पर्छ । त्यो संभव छ त ? किनभने उनीहरू न पार्टी सदस्य रहन्छन् न जनप्रतिनिधिको जिम्मेवारी रहन्छ । न्यूनतम २० देखि बढीमा ५० वर्षसम्म पार्टी, संगठनमा निरन्तर सक्रिय खनाल/नेपाल समूहका नेता/कार्यकर्ताको कुनै राजनीतिक ‘स्पेस’ रहदैन् । यस्तो अवस्थामा चुपचाप नै बस्ला त यो समूह ? खनाल–नेपाल समूहमा रहेका केन्द्रीय सदस्य ठाकुर गैरेका शब्दमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अहिलेसम्म गरेका कामले विभाजनको बाटोलाई फराकिलो र विभाजककारी प्रवृतिलाई मलजल गरिरहेको छ । ओलीले खनाल–नेपाल समूहका नेताहरूलाई करवाही गरे एमाले जिन्दावाद भनेर बसिरहने कि फरक पार्टी बनाउने अन्योल छ । ‘पार्टी अध्यक्ष ओलीको दम्भ, अंहकार, घमण्ड यथावत छ । उनले ९ वैशाखको बिहानै बल्खुमा पुगेर खनाल–नेपाललाई गाली र व्यंग्य गरे । त्यसले ओली पार्टी मिलाएर लैजाने पक्षमा छैनन् भन्ने देखिन्छ’, गैरे भन्छन्, ‘कमिटी पनि खोसियो, सांसद पद पनि खोसियो भने भने चुपचाप सहने कुरै हुँदैन । बिद्रोह नै हुन्छ ।’ फरक पार्टी बनाउन नचाहँदानचाहँदै पनि, नयाँ पार्टी देशको आवश्यकता होइन भन्ने बुझ्द बुझ्दै पनि पार्टी अध्यक्षको व्यवहारले स्वतः फरक पार्टी बन्ने बाटोमा जाने गैरे बताउँछन् । थप्छन्, ‘भित्र आइज भन्ने, आग्लो नखोल्ने प्रवृति खतरनाक छ । यो प्रवृतिले जबरजस्ती पार्टीलाई विभाजनतिर लैजादै छ ।’ खनाल–नेपाल समूहका अर्का नेता निरज आचार्य पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कारवाही गरेर जाने निर्णय गरे भने पार्टी स्वतः विभाजन हुने बताउँछन् । ‘ओली समूहको स्थायी समिति बैठकमा पार्टी मिलाएर जानुपर्छ भन्ने निर्णय भए एकता कायमै रहला,’ आचार्यको कथन छ, ‘बाहिर मिलेर जानुपर्छ भन्नेहरू पनि ओलीका अघि उनले जे बोल्यो त्यही हुन्छ भनेर टाउको हल्लाउनेहरू छन् । त्यसैले पार्टी विभाजन गर्ने वा एकतावद्ध बनाउने अध्यक्ष ओलीकै विवेकमा भर पर्छ ।’ नेतृ उषाकिरण तिम्सेनाको मत पनि मैनाली, गैरे र आचार्यसँगै मिल्छ । उनी भन्छिन, ‘पार्टी अध्यक्ष ओलीले चाहे भने फरक पार्टी बन्दैन । फरक मत राख्ने नेता/कार्यकर्तालाई ओलीले कारवाही गरे भने अर्को पार्टी बन्छ ।’ नेपाल–खनाल समूहभित्रै फरक–फरक मत‘म अहिले बालुवाटार गएँ भने माधव नेपाल लुरुलुरु आयो भन्छन् । त्यसैले अस्ति ओलीले बालुवाटारमा बोलाउँदा पनि म नगएको हो ।’ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीस“ग अन्तरसंघर्ष गरिरहेका नेपालले आज जनकपुरमा दिएको अभिव्यक्ति हो यो । मेरियट होटलमा दुई नेताबीच भएको भेटमा होस् वा अन्य कार्यक्रममा ओलीले पनि नेकपा हुँदा आफूलाई प्रचण्ड–नेपालले साधारण सदस्यबाट समेत निकालेको भन्दै बह पोख्ने गरेका छन् । यसले एमालेभित्रको यो लडाईं सिद्धान्त, संगठन, संघर्षको भन्दा पनि नेताहरूको अंह र प्रतिष्ठाको टकराव हो भन्ने देखिन्छ । त्यही अंह र प्रतिष्ठाको टकरावले उनीहरूलाई एकतावद्ध हुन दिइरहेको छैन् । जानकारका अनुसार पार्टी अध्यक्ष ओलीले खनाल–नेपाल समूहलाई कारवाही गरे फरक पार्टी गठनको तयारी समेत गरेका छन् । खनाल नेपाल समूहका एक जना पोलिटब्युरो सदस्यका अनुसार यस समूहभित्र भीमबहादुर रावल, रघु पन्तलगायत एकाध नेताहरूले अब ओलीसँग बस्न सम्भव नभएकाले अर्को पार्टी गठन गर्नुको विकल्प छैन । तसर्थ त्यो तयारीमा लागौं भन्ने मत राखिरहेका छन् । उनीहरूको तर्क छ–ओलीले निर्वाचन घोषणा गरे भाग लिनुपर्ने हुन सक्छ । आफु पक्षधर नेता/कार्यकर्ता/मतदातालाई आफैंसँग ‘होल्ड’ गर्नुपर्छ । त्यसैले फरक पार्टी दर्ता गराएर चुनाव चिन्ह लिनु पर्छ । यद्यपि त्यो मत कमजोर छ। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतको समूह भने ओलीले पार्टी साधारण सदस्यबाट निलम्वन, प्रतिनिधि सभाबाट निष्कासन गरे पनि अहिले नै फरक पार्टी गठन गरेर जानु हुन्न । ओलीले केही समय तर्साउछन् । निर्वाचनमा पराजय भोग्ने निश्कर्षपछि लौ आउ, मिलौ भन्छन् । त्यसैले समानान्तर कमिटी गठन गर्दै धैर्य गर्नु पर्छ भन्ने अडानमा छन्। पाण्डे, भुसालहरूकै मतसँग सहमत राख्ने नेता गुरुङ स्वीकार गर्छन, ‘हो, हाम्रो बुझाई ओलीले खनाल–नेपाल समूहका नेताहरुलाई गरेको भनिएको कारवाही उनकै लागि महंगो पर्छ । यो कारवाहीलाई धान्न सक्तैनन । केही समयपछि मिलौं भन्छन् । त्यसैले फरक पार्टी गठनको हतारो गरि हाल्न हुन्न भन्ने छ । त्यसैले तत्काल फरक पार्टी गठन भइहाल्दैन।’ केन्द्रीय सदस्य गैरे पनि फरक पार्टी गठन गर्ने हतारोमा नरहेको बताउँछन् । भन्छन्, ‘ओली निर्मम भएर आए भने त प्रतिरोध हुन्छ । उनी निर्मम भएर आएनन् भने हामी फरक पार्टी गठन गर्ने हतारो गर्ने छैनौं ।’