NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चालक र सहचालकलाई मास्क प्रयोगमा ट्राफिक प्रहरीको कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापीरूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै आजदेखि सचेतनामूलक अभियान सञ्चालन गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक सवारी साधनमा कोरोना सङ्क्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । ‘हामीले महाशाखासहित काठमाडौं उपत्यकाका ४३ वटै ट्राफिक कार्यालयलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनेका छौं,’ महाशाखा प्रमुख भट्टराईले भने । ट्राफिक प्रहरीले सडकमा बसेर पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गर्दै मास्क प्रयोगमा कडाइ गरेको हो । पछिल्लो समय नेपालमा दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकामा १० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।