NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

२० औं तलाबाट पुष्पवृष्टि गर्दै प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहरा उद्घाटन

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पले ढालेको धरहराको पुनर्निर्माण भई उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २० औं तलामा रहेको बालकोनीबाट पुष्पवृष्टि गरेर २२ तले धरहराको आज उद्घाटन गरेका हुन् । सुन्धारास्थित धरहरामा राखिएको शिलालेखको समेत उनले अनावरण गरेका छन् । २०७५ पुस १२ मा ओलीले नै धरहराको शिलान्यास गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २८ महिनामा धरहरा टावरको पुनर्निर्माण पूरा गरी आज उद्घाटन भएको हो । बाहिरबाट हेर्दा धरहरा पुरानै स्वरुपमा ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने २२ तलाको रहेको प्राधिकरणले जनाएको छ । धरहरामा गजुर राख्ने, रंगरोगन गर्ने, र लिफ्ट जडानको काम सकिए पनि आयोजनाअन्तर्गतका सबै काम भने सकिएको छैन । यहाँ संग्रहालय, पानीको फोहरासहितको बगैंचा, तीनतले पार्किङ क्षेत्र, थिएटरलगायत संरचना भने निर्माणाधीन नै छ । हालको धरहरा पुरानै स्वरुपमा नयाँ बनाइएको हो । यसअघिको भत्किएको धरहराको संरचनालाई भने सिसाको फ्रेमभित्र सुरक्षित तवरले राखिनेछ । उक्त कामसमेत गर्न बाँकी रहेको प्रधिकरणले जनाएको छ । प्राचीन धरहराभन्दा कति फरक ?धरहरा हेर्दा पुरानै जस्तो लागे पनि यसको निर्माण प्रकिया तथा संरचनमा धेरै भिन्नता छ । तुलनात्मक रुपमा आधुनिक धरहरा निकै बलियो बनाइएको छ । ज्येष्ठ नागरिक तथा अपांगतामैत्री धरहरामा सजिलै लिफ्टमा चढेर माथि पुग्न सकिन्छ । यसअघि सिँढी चढेर माथि पुग्नुपर्थ्यो । आधुनिक धरहरामा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै पनि सामग्री प्रयोग भएको छैन । भूकम्पले धरहरा ढालेपछि गजुर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । त्यसलाई मर्मत गरेर ९५ तोला सुनको जलप लगाई नयाँ संरचनाको टुप्पामा राखिएको हो । पानीको फोहोरासहितको बगैंचा बन्ने भएकोले आराम गर्न र फोटो खिच्नका लागि समेत यहाँ प्रशस्तै ठाउँ रहनेछ । धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायत सामान यहाँ बन्ने संग्रहालयमा हेर्न पाइनेछ । ३ सय ४७ वटा गाडी र ७ सय मोटरसाइकल एकै पटक पार्किङ गर्न मिल्ने संरचनासमेत बनिरहेको छ । निर्माण थाल्नुअघि यसको उचाइ २ सय ४५ फिट हुने भनिएको थियो । त्यो उचाइमा बाहिर ९ तले, भित्र ११ तले हुने गरी डिजाइन गरिएको थियो । पछि परिमार्जन गरी २२ तले डिजाइन बनाइएको हो । नयाँ धरहराको उचाइ २६२.४६ फिट छ । प्रचीन धरहरा निर्माणमा चुना, सुर्कीको जोडाइ र इँटाको गारो थियो भने आधुनिक धरहरामा सिमेन्ट, छडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरिएको छ । यसअघि मुगल कालिगडको डिजाइनअनुसार धरहराको माथिल्लो भाग गुम्बज शैलीमा तयार गरिएको थियो भने यसपटक प्राचीन वास्तुकला विधि अपनाइएको छ । आधुनिक धरहरामा पनि पहिलेको जस्तै टुप्पोमा गजुर र माथिल्लो तलामा शिवलिंग राखिएको थियो । पहिले-पहिले राष्ट्रिय पर्वहरुमा यो स्मारकमा बत्ती बालेर दीपावली गरिन्थ्यो । प्राचिन धरहरा जमिनको सतहदेखि गजुरसम्म २०३ फिट अग्लो थियो । गजुरमात्रै १७ फिटको थियो । हालको मोहडा पनि पुरानै शैलीमा पूर्वैतर्फ हुनेगरी बनाइएको छ । यसअघि धरहरालाई ३ मिटर ३२ सेन्टिमिटर अग्लो गोलाकार पर्खालले घेरेको थियो । पर्खालमा ५६ वटा खम्बा थिए । पर्खाल पनि युरोपेली वास्तुकलाअनुसारै थिए । यस्तो पर्खालको नमुना धरहरामा मात्रै देख्न सकिन्थ्यो ।  प्राचीन धरहरामा २१३ वटा खुड्किला रहेकोमा १८८ वटा उक्लिएपछि आठौं तलामा रहेको बार्दलीमा पुगिन्थ्यो । त्यहींबाट काठमाडौं उपत्यकाको दृश्य नियाल्न पाइन्थ्यो । ऐतिहासिक पृष्ठभूमिमहारानी ललित त्रिपुरासुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले विसं १८८२ मा पहिलो पटक धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भिमसेन स्तम्भ पनि भनिन्छ । उक्त धरहरा ११ तले थियो । १९९० को भूकम्पले ढालिदिएपछि १९९२ मा तत्कालीन प्रधानमम्त्री जुद्धशमशेरले यसको पुनर्निर्माण गराए । जसमा २ तला घटाइएको थियो । धरहरालाई २०७२ मा फेरि भूकम्पले नै ढालिदिएपछि प्रधानमन्त्रीले ओलीले २०७२ फागुन ४ मा ‘आफ्नो धरहरा आफैं बनाउने’ घोषणा गरेका थिए । तर ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा रकम संकलन नभएपछि पुनर्निर्माण प्राधिकरणले यसको निर्माणको जिम्मा लिएको थियो । ३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरणले जनाएको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको २०७२ को भूकम्पमा परी ८ हजारभन्दा बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो । अझै धेरै संरचना बन्ने क्रम जारी छ ।