NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

काठमाडौंमा आज बेलुका दिपावली गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका स्थानीयलाई आज बेलुका दिपावली गर्न अनुरोध गरेका छन् । पुननिर्मित धरहराको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आजको दिन काठमाडौं र नेपालीहरुका लागि ऐतिहासिक दिन भएको बताए । उनले धरहरा ठडिएको अवसरमा काठमाडौंका स्थानीयलाई आज बेलुका घर–घरमा दिपावली गर्न अनुरोध गरेका छन् । ‘ढलेको काठमाडौंको शाख फेरि ठडिएको छ । यो काठमाडौंवासीका लागि खुसीको दिन हो । जुन खुसीयाली छाएको छ, त्यस अवसरमा काठमाडौंका नागरिकले घरमा दिपावली गर्नेछन् । म भन्न चाहन्छु । कमसेम काठमाडौंवासीले बेलुका आ–आफ्नो घरमा दिपावली मनाउनुहोस्’, ओलीले भने । कोरोना कहरका बीच पनि सरकारले आफ्नो विकासको रफ्तार कत्तिपनि नघटाएको ओलीले दावी गरे । जनताका दैनिक आवश्यकता परिपूर्तिका साथै दीर्घकालीन समृद्धिका आयोजना निर्माणमा सरकारले गति दिएको ओलीले बताए । ‘हामी नागरिकको जीवनस्तरलाई सहज बनाउनेमै क्रियाशील छौं । आज बिहान मात्रै सातसय ५० बेडको वीरेन्द्र शैनिक अस्पतालको शिलान्यास गरेका छौं । यो अस्पताल बनेपछि त्यहाँ दैनिक ६ हजारले सामान्य उपचार लिन सक्नेछन्,’ ओलीले भने, ‘हामी कत्ति पनि नआत्तिएर अघि बढ्नेछौं । सँधै नेपाली जनता अँध्यारोमा बस्न बाध्य हुने छैनन् ।’ यस्तै नागरिकको स्वास्थ्य सुधारकै लागि भनेर केही दिनअघिबाट मात्रै हरेक पालिकामा पहुँच हुनेगरी ३९६ अस्पताल निर्माणको काम थालनी भएको ओलीले बताए । ‘म सरकारले गरेका विकासका कामहरुको फेरिहस्त सुनाउन चाहन्न । तर, नागरिकका लागि के गरेका छौं भन्ने कुरा जानकारी दिन पनि आवश्यक छ । केही दिनअघिबाट मात्रै सबै पालिकामा पहुँच हुनेगरी ३९६ अस्पताल निर्माणको काम सुरु भएको छ’, ओलीले अघि भने, ‘त्यसमा पाँच शय्यादेखि १५ शय्यासम्मका अस्पताल बन्नेछन् । जहाँ विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान हुनेछ ।’ प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरुले सम्भव भएका कामहरु पनि सम्भव नै छैन भनेर नागरिक स्तरमा भ्रम छर्ने काम गरिरहेको बताए । विकास भयो भने त आफूहरुको अस्तित्व नै सकिन्छ भन्ने त्रासले नागरिकमा सबै काम असम्भव भन्दै भ्रम छर्ने काम गरिरहेको उल्लेख गरे । ‘मेलम्ची आयो भने काठमाडौं नै डुब्छ, यहाँ भयावह हुन्छ । पाइप फुटेर बाढी नै आउनेछ भन्ने भ्रम फैलाइयो । जसकारण साँच्ची मेलम्चीले विनाश पो निम्त्याउने हो कि भन्ने भ्रम मानिसमा थियो । त्यसैले मेलम्ची आउने सम्भावना नै छैन भनियो । तर, हामीले ल्यायौं । खै त काठमाडौंमा बाढी आएको ?’, ओलीले प्रश्न गरे । लोकतन्त्र दिवसमा अवसरमा पनि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी दक्षिणपन्तीहरु कमजोर बन्दै गएको बताए । ‘हामीले गरेको काम देखेर दक्षितपन्थी प्रतिक्रियावादीहरु आत्तिएका थिए । उनीहरुले जानेकै विरोध गर्न हो । म नेपाली जनतालाई त्यसबाट कत्ति पनि नआत्तिन आग्रह गर्दछु । सरकार जनताकै पक्षमा छ । राज्यले जहिले पनि नागरिकको रक्षा र जीवनस्तर उकास्ने काम मात्रै गर्छ । हामी पनि गर्छौं’, ओलीले भने । जनताको सुखसँग मतलव नभएकाहरु, स्वार्थमा तल्लीनहरु सरकारको विकासको गति देखेर छटपटाइरहेको उनको भनाइ छ ।