NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि नेपाललाई

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्डसलाई भारी रनले हराउँदै नेपालले उपाधि चुमेको हो । शनिबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको जित निकाल्दै नेपालले सिरिजमा कब्जा जमाएको हो । यससँगै नेपालले पहिलो पटक टी–ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । नेपालले यसअघि सन् २०१० मा आईसीसी डिभिजन–५ को उपाधि जितेको थियो । नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर ७ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको यो कीर्तिमानी लक्ष्य हो । यसअघि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो । नेपालको कीर्तिमानी स्कोरमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । भुर्तेलले तेस्रो विकेटको रुपमा नेपाललाई ७७ रनको योगदान दिए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिएका हुन् । कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेलेका हुन् । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ४८ रनमा अविजित रहे । उनले १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४८ रनको अविजित इनिङ्स खेलेका हुन् । कुशल मल्ल र ऐरीले ७८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चेर दुई विकेट लिएका थिए । यस्तै सेवास्टीयन ब्राटले एक विकेट लिए । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको सिरिजमा नेपाल समूहको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । नेदरल्यान्ड्सले भने दोस्रो स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको हो । मलेसिया भने जित लिग चरणबाटै बाहिरिएको थियो ।