NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

पहिलो फ्रेन्चाइज फुटबल ‘नेपाल सुपर लिग’ सुरु

काठमाडौं । पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आज देखि सुरु भएको छ । करिब तीन साता चल्ने प्रतियोगिता शनिबार साँझ ६ बजदेखि दशरथ रंगशालामा सुरु भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेल सुरु भएको छ । आज दुबै टिम जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छन् । त्यसैले दुई भ्याली डर्बी क्लबबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गर्ने छन् । ललितपुरको कप्तानी अन्जन विष्टले गर्ने छन् । टिमको प्रशिक्षकमा प्रदिप हुमागाई रहेका छन् । तर, प्रतियोगिताको खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन । कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ । प्रतियोगितामा ७ शहरलाई फ्रेन्चाईज गरिएको छ । विराटनगर सिटी एफसी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले फ्रेन्चाईज फुटबल खेल्दैछन् । सहभागी टिमले अक्सनबाट १४ खेलाडी किनेका छन् । टिमले ३ विदेशी र २ स्थानीय खेलाडी थप्न पाउनेछन् । प्रतियोगिताको दौरान खेलाडीमा कोरोना देखिए अन्य खेलाडी थप्न पाईने आयोजकले जनाएको छ । कोरोनाको दोस्रो लहरका कारण प्रतियोगिता दर्शक विहीन हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख प्राप्त गर्दा दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ । यस्तै प्रतियोगिताको विधागततर्फ ६ उत्कृष्टले १ लाख प्राप्त गर्दा प्रत्येक खेलको म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।