NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पाँच मिनेटमै सकियो जसपा पदाधिकारी बैठक, अविश्वास प्रस्तावबारे अन्योल

काठमाडौं । जनता समाजवादी पार्टीकाे पदाधिकारी बैठक पाँच मिनेटमै सकिएको छ । सरकारविरुद्धको अविश्वास प्रस्तावमा सहभागी हुने कि नहुने भन्ने विषयमा बसेको पदाधिकारी बैठक पाँच मिनेटमै सकिएकाे हाे । सामान्य छलफलपछि कुनै निष्कर्ष नै ननिकालेर टुंगिएको जसपाका एक पदाधिकारीले बताए । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको छलफलमा सरकारविरुद्धको अविश्वास प्रस्तावमा माओवादी–कांग्रेससँग साझेदारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने बताइएको थियो । महन्थ ठाकुर र डा. बाबुराम भट्टराई एक मत हुन नसक्दा पाँच मिनेटमै बैठक सकिएको हो । कांग्रेस–माओवादीले जसपाका आधिकारिक निर्णय मागेका छन् । अहिले केपी ओली नेतृत्वको सरकार हटाउन जसपा मुख्य निर्णायक शक्ति हो । तर, जसपाले निर्णय नदिएकै कारण कांग्रेस–माओवादीले अविश्वासको प्रस्ताव ल्याउन सकेका छैनन् । छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । अबको अर्को बैठक निषेधाज्ञापछि बस्ने गरी मंगलबारकाे बैठक सकिएको हो । जसपाभित्र महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा छन् भने भट्टराई र यादव सरकारविरुद्ध उभिएका छन् । शीर्ष तहमा कुरा मिल्न नसकेपछि तत्काल निर्णय गर्न कार्यकारिणीकाे बैठक नै बस्न नसकेकाे हाे ।