NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोरोना र अन्य बिरामीका लागि महानगरद्वारा निःशुल्क एम्बुलेन्सकाे व्यवस्था

काठमाडौँ । काठमाडौं महानगरले कोरोना संक्रमित र अनय बिरामीका लागि अस्पतालसम्म पुग्न निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । कोरोनाका बिरामी र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्सको व्यवस्था गरिने भएको छ । कोभिड–१९ को न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मंगलबार बोलाइएको विशेष कार्यपालिका बैठकले यस्तो निर्णय गरेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु¥याउने छन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नेछौं’, उनले भने । एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था गरिने भएको छ । उनले अघि भने, ‘यसबाट डायलासिस लगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिको अस्पताल पुग्न र आउन सवारीको समस्या समाधान हुनेछ ।’ यसका लागि महानगरले एम्बुलेन्स सञ्चालनसँग सम्बन्धित पदाधिकारीसँग सम्झौता गर्नेछ । एम्बुलेन्स सञ्चालन गर्दा लाग्ने खर्च महानगरले व्यहोर्नेछ । राहत वितरण गर्ने र खाना खुवाउने काम तत्काल आवश्यक नरहेको बैठकले निष्कर्ष निकालेको छ । गतवर्ष बन्दाबन्दीका समयमा बाँडिएको राहत र खुवाइएको खाना कार्यक्रमको विश्लेषण गर्दै बैठकले संक्रमणको अवस्था हेरेर आवश्यक परे पछि छलफल गर्ने गरी अहिलेलाई राहत बाँड्ने र खाना खुवाउने काम नगर्ने निर्णय गरेको हो ।