NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सर्वोच्च अदालतका अत्यावश्यकबाहेकका सेवाहरू बुधबारदेखि १५ दिन बन्द

काठमाडौं । सर्वोच्च अदालतले अत्यावश्यकबाहेकका सेवाहरू बुधबारदेखि १५ दिनका लागि बन्द गर्ने भएको छ । सर्वोच्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९ को संक्रमण फैलिँदै गएका कारण अत्यावश्यकबाहेकका सेवा बन्द गर्नुपरेको जानकारी गराएको छ । यो अवधिमा अदालतमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाई मात्र गर्ने भएको छ । मंगलवार बसेको सर्वोच्चको पूर्णबैठकले यस्तो निर्णय गरेको हो । सो अवधिमा सर्वोच्चले यसबाहेकका कामकारबाही र सेवा भने बन्द हुनेछन् । सर्वोच्च अदालतद्वारा जारी प्रेस विज्ञप्ति । यस्तै उच्च, जिल्ला, अन्य अदालत र न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवम् जोखिमको अवस्था मूल्यांकन गरेर उपयुक्त देखिएको कामकारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत र न्यायाधीकरणले मिलाउने निर्णय पनि सर्वोच्चले गरेको छ । जारी विज्ञप्तिमा ०७८ साल वैशाख १५ गतेदेखि ०७८ साल वैशाख मसान्तसम्म सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्वन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्वन्धित रिट निवेदनहरुको दर्ता र सुनुवाईबाहेक अन्य कामकारबाही र सेवा स्थगन गर्ने निर्णय गरेको उल्लेख छ ।