NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन १९ गते बोलाइयो

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन यही बैशाख १९ गते बोलाइएको छ । विपक्षी दलको समावेदनअनुसार प्रदेश प्रमुखले १९ गतेलाई विशेष अधिवेशन बोलाएका हुन् । अविश्वास प्रस्ताव दर्ता हुने सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गरेका थिए । त्यसलगत्तै प्रतिपक्षमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशनको माग गर्दै समावेदन गरेका थिए । प्रदेश प्रमुखले १९ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् । यस्तो छ लुम्बिनीको अंकगणित ८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएपछि ८५ सदस्यीय भएको छ । जसमा मुख्यमन्त्री पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् । अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका सभामुखसहित १८ र नेपाली कांग्रेसका १९ सांसद छन् । जसपाका ६ सांसदमध्ये अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ जना र हस्ताक्षर नगरेका २ जना गरी ४ जना मन्त्री बनेका छन् । जसले गर्दा अविश्वास प्रस्तावको पक्षमा ३९ मत मात्र छ । एक सिट भएको राष्ट्रिय जनमोर्चाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको छ । राजमोसमेत गर्दा अविश्वास प्रस्तावको पक्षमा ४० मत मात्र पुग्छ । तत्काललाई अविश्वास प्रस्ताव आउँदा पनि एमालेका सांसदले फ्लार क्रस गरेनन् भने मुख्यमन्त्रीको सरकार सुरक्षित देखिन्छ । तर, कर्णालीको अवस्था हेरेका मुख्यमन्त्री पोखरेल आफ्नै पार्टीका सांसदप्रति विश्वस्त छैनन् । अविश्वास प्रस्ताव पारित हुन विपक्षीलाई ३ सांसद अपुग हुन्छ । सरकारमा गएका चार जना सांसदलाई कारबाही गरेर पदमुक्त गर्ने जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको जोड भए पनि महन्थ ठाकुरपक्ष सहमत नभएकाले मुख्यमन्त्री शंकर पोखरेल अहिलेसम्म सुरक्षित छन् । जसपाका चार जनामाथि कारबाही भएर पदमुक्त हुँदा प्रदेश सभा ८१ सदस्यीय हुन जान्छ । त्यो हुंदा पनि सरकार ढाल्न विपक्षीलाई एक सांसद अपुग हुन्छ । प्रदेश सभामा एमालेका ४१ जनामध्ये २ जना माधव नेपाल पक्षमा खुलेका छन् । यदि जसपाका चार सांसद पदमुक्त हुने र कर्णालीमा जस्तै एमालेका एक जना सांसदले फ्लोरक्रस गर्ने हो भने मात्रै सरकार ढल्न सक्छ । सोही कारणले अविश्वास प्रस्तावको सूचना पाएपछि नै मुख्यमन्त्री पोखरेलले अधिवेशन नै अन्त्य गरेका थिए । माओवादी, कांग्रेस र जसपा भने लुम्बिनीमा जसरी पनि सरकार ढाल्ने कसरतमा देखिएका छन् ।