NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

धर्मराज जिसी/सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक नेकपा (एमाले)ले अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण कर्णाली प्रदेशसभाको सातौ अधिवेशनको चौथो बैठक स्थगित भएको हो । प्रदेशसभाको बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना कहरले मानिस घरमा सिमित भएको संवेदनशील अवस्थामा सदन चल्न नसक्ने बताए । ‘अहिले जनता आक्रान्त भएका बेला, जनता पीडामा भएको बेला, सरकारले निषेधाज्ञा गरेको बेला सदन सञ्चालन गर्नु सही हुँदैन’, उनले भने ।उनले जनता लकडाउनमा भएकाले नागरिकको पीडामा मल्हमपट्टी लगाउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे । ‘आजदेखि जनता लकडाउनमा छन् । नागरिक कोठाभित्र थुनिएका छन् । अहिले नागरिकलाई दुःखमा मलमपट्टी लगाउने समय हो,’ सचेतक शाहले भने, ‘अर्कै दलका सांसद चोरेर बनेको भगौडा सरकारले आफ्ना जनताको भावनालाई सम्मान गर्नुपर्ने बेला सदन चल्न सक्छ ।’ उनले सदनका नियमित कार्य भए पनि जनता अप्ठ्यारोमा परेका बेला उनीहरुको सहायतातर्फ सरकारको ध्यान जानुपर्ने भनाइ राखे । ‘हुन त सदनका पनि नियमित कार्य होलान्, कानुन बनाउनुपर्ने होला तर जनतालाई अप्ठेरो परेको बेला जनताको सेवामा लाग्नु मुख्य कुरा भएकाले संसद चल्ने अवस्था छैन,’ शाहले भने, ‘जनता घर–घरमा थुनिएको समयमा संसद सञ्चालन गर्नु सहि नभएकाले यो बैठक यही स्थगित गरियोस ।’ सचेतक शाहको भनाइपछि एमालेका सबै सांसदले उठेर बैठक अवरुद्ध गरे । सदन चल्ने स्थिति नदेखिएपछिसभामुख राजबहादुर शाहीले पटक–पटक बैठक सञ्चालन गर्न रुलिङ गर्दै दलिय सहमतिका लागि गरेको आग्रह गरेका थिए । तर, त्यति गर्दा पनि नमानेपछि अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित गरिएको हो ।