NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोरोना नियन्त्रणलाई प्राथमिकतामा राख्न खनाल–नेपाल समूहको माग

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले सरकारलाई कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गरेको छ । कोरोना संक्रमणको दर भयावह बन्दै गएको अवस्थामा सरकारका रहेक योजना तथा कार्यक्रमहरु कोभिड लक्षित बनाउन ध्यानाकर्षण गराइएको छ । आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले यतिबेला सरकारले जनताको जीउधनको रक्षामा ध्यान दिनुपर्ने बताएको छ । पछिल्लो विकसित राजनीतिक परिस्थिति र कोरोना महामारीबाट उत्पन्न अवस्थाबारे गम्भीर छलफल भएको उक्त समूहका नेता योगेश भट्टराईले जानकारी दिए । बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमतिहरुको उपचारका लागि प्रभावकारी रुपमा थप कदम अबिलम्ब चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । यस्तै, संक्रमण तीव्र रुपमा फैलिरहेको र संक्रमितको मृत्यु बढिरहेको अवस्थामा सीमा नाकामा आवतजावत र विभिन्न माध्यमबाट नेपाल प्रवेश गरिँदा कोरोना महामारीविरुद्ध जारी गरिएका स्वास्थ्य मापदण्ड र प्रोटोकलको पालना नहुँदा थप जोखिम पैदा भएको बैठकले निष्कर्ष निकालेको छ । बैठकले सीमा नाकामा आवतजावत र विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण, क्वारेन्टिन बसाई र जारी स्वास्थ्य मापदण्डको पालना अनिवार्य रुपमा गराउन सरकारको माग गरेको छ । साथै स्थानीयस्तरमा आइसोलेसन र क्वारेन्टिनको प्रभावकारी व्यवस्थापन नहुँदा कोभिड–१९ को संक्रमण तिव्र रुपमा समुदायस्तरमा फैलिने जोखिम बढेको भन्दै जोखिमलाई मध्यनजर गर्दै तीनै तहका सरकारको सक्रियता र समन्वयमा तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्न माग गरेको छ । बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि खटिएका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता उपलब्ध गराउन माग गरेको नेता भट्टराईले जानकारी दिए । संक्रमितहरुको उपचारका लागि ‘कोरोना डेडिकेटेड अस्पताल’को थप व्यवस्था गर्दे सम्पूर्ण अस्पतालहरुमा आर्इसीयू, भेन्टिलेटरको व्यवस्थापन, औषधि भण्डारण र अक्सिजन प्लान्टलगायत सम्पूर्ण स्वास्थ्य सामग्री पर्याप्त मात्रामा व्यवस्था गर्न पनि माग गरेको छ ।