NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

काठमाडौंबाट बेडसिफ्ट गरेर झापा पुर्‍याइए कोरोना संक्रमित

झापा । कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल ल्याउन थालिएको छ । काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको छ । काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौंमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताए । झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भए पनि उप्रेती काठमाडौंमा बस्दै आएका थिए । उनलाई आर्इसीयूमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए । बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ । अहिले पाँच कोभिड–१९ का सङ्क्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए । ‘राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ,’ गिरीले भने, ‘बीएन्डसीमा कोरोना सङ्क्रमित र अरू बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौं । काठमाडौंबाट अरू सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।’ रासस

ताजा अपडेट

नेपालवाच विशेष