NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

सुदूरपश्चिममा परीक्षण गरिएका ६१ प्रतिशतमा संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा दैनिक सयौँ कोरोना सङ्क्रमित थपिन थालेका छन् । बुधबार मात्रै २८९ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ४७१ नमूना परीक्षण गर्दा २८९ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । जसअनुसार संक्रमण दर ६१.३६ प्रतिशत हुन्छ । ‘सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ मा सङ्क्रमण पुष्टि भएको छ,’, प्रवक्ता कार्कीले भने, ‘डडेलधुरा अस्पतालमा २७ जनाको परीक्षण गर्दा १४, डोटी अस्पतालमा २९ जनाको परीक्षण गर्दा १४ र महाकाली अस्पतालमा ४१ जनाको परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पाइएको छ ।’ योसँगै सुदूरपश्चिममा कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुगेको छ । निको हुनेको संख्या १४ हजार २३३ छ । दोस्रो लहर फैलिएपछि कैलालीमा मात्रै एक हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । सेती अस्पतालमा सङ्क्रमित बिरामी भरिभराउ छन् । कैलाली र कञ्चनपुरमा पनि आजबाट निषेधाज्ञाकोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा एक सातासम्म रहनेछ । बढ्दो सङ्क्रमण दर र मृत्यु दरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । ‘एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका, दुग्धजन्य पदार्थ बोकेका, बैंक तथा वित्तीय संस्थाका, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी साधनलाई स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुन दिइनेछ,’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भने, ‘खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल खुला रहनेछन् । खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने व्यवस्था गरेका छौं ।’ सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने कार्यक्रम तथा स्थान बन्द गर्न आग्रह गरिएको छ । विवाह, व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने व्यवस्था गरिएको छ । टीकापुर र प्रादेशिक अस्पतालमा अत्यावश्यकबाहेक सेवा बन्दयसैबीच, कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि दुवै अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएका छन् । ‘कोरोना दिनानु दिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउन नागरिकलाई अनुरोध गरेका छौँ,’ टीकापुर अस्पतालका डा. रमेशप्रसाद उपाध्यायले भने, ‘सङ्क्रमितलाई धान्न सक्ने अवस्था छैन । अब अस्पतालमा अन्य बिरामीको भीड गर्न थप जोखिम भएको छ । अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन ।’ उनका अनुसार हाल दिनमा १५ जनाभन्दा बढी कोरोनाको लक्षणका बिरामी अस्पताल आइरहेका छन् । ‘हामीले समस्या भएमा बिरामीले फोनबाट परामर्श लिनसक्ने व्यवस्थाका लागि चिकित्सकहरूको मोबाइल नम्बर बाँडेका छौँ । सामान्य समस्या भएकालाई टेलिफोनमै परामर्श लिन भनेका छौँ,’, उनले भने, ‘यस्तो विपत्तिमा नागरिकलाई खानपानमा ध्यान दिन, सुरक्षित रहन आग्रह गर्ने हो । श्वासप्रश्वासमा समस्या भए यहाँ अक्सिजन पाउन मुश्किल छ ।’ टीकापुर अस्पतालले १५ शय्याको अक्सिजनसहितको कक्षसमेत सञ्चालन गरेको छ । संक्रमण फेलिएसँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालले समेत आकस्मिकबाहेक बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको छ । बुधबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको निर्देशनानुसार आजदेखि बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष