NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

निषेधाज्ञामा पनि उपत्यकाका सबै बैंकका शाखा खुला रहने

काठमाडौं । उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा लागू भएपनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ । सङ्घले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको हो । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्यावश्यक अवस्थामाबाहेक बैंक नआउन पनि आग्रह गरेको छ । बैंकका सबै शाखामा ग्राहकको भीडभाड कम गर्नका लागि ग्राहकलाई यस्तो अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनले नगद कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरे । सङ्घले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको छ । (रासस)