NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चिया निर्यातमा लकडाउनको असर परेन

काठमाडौं । ‘स्वदेशमा उत्पादित चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ आज २५औं राष्ट्रिय चिया दिवस मनाइएको छ । देशको अर्थतन्त्र वृद्धिमा चियाले भूमिका निर्वाह गर्दै आए पनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक रुपमा दिवस मनाउन भने नसकिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपालले जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा गतवर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारे पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नु नपरेको उल्लेख छ । ‘बन्दाबन्दीका बीच पनि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा आइरहे । जसले गर्दा अन्य बालीकोे उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको,’ विज्ञप्तिमा उल्लेख छ । गत आर्थिक वर्ष०७६।७७ मा दुई अर्ब ७८ करोड रुपैयाँ बराबरको ११ हजार १ सय ८५ मेट्रिकटन निर्यात भएकोमा चालु आर्थिक वर्षको ९ महिनामैतीन अर्ब ६ करोड रुपैयाँ बराबरको नौ हजार ५ सय ७० मेट्रिकटन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । बोर्डको तथ्यांकअनुसार आर्थिक वर्षमा ०७५।७६ मा २५ हजार २ सय ५ मेट्रिकटन चिया उत्पादन हुँदा आर्थिक वर्ष ०७६।७७ मा २४ हजार १ सय १८ मेट्रिकटन चिया उत्पादन भएको थियो । उत्पादनमा केही गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि हुनु उपलब्धिको रूपमा लिएको बोर्डले जनाएको छ । देशलाई आवश्यक पर्ने चिया आफैं उत्पादन गरी आत्मनिर्भर भएको छ । स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारतलगायतका तेस्रो मुलुकमा निर्यात गर्नुपरेको अवस्था हाल विद्यमान छ । नेपाली चियाको खपत वार्षिक २ सय ग्राम प्रतिव्यक्तिभन्दा कम रहेको बोर्डको भनाइ छ । छिमेकी मुलुक भारतमै वार्षिक ३ सय ३० ग्राम प्रतिव्यक्ति खपत रहेको सन्दर्भमा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको सरोकारवालाको आकलन छ । तसर्थ, आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवालाहरू लाग्नुपर्ने सरोकारवाला बताउँछन् ।