NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बढ्दाे काेराेना संक्रमण : १५ जिल्लामा पूर्ण निषेधाज्ञा

काेराेना भाइरस महामारीकाे दाेस्राे लहर तीव्र रुपमा बढेसँगै नेपालका १५ जिल्लामा पूर्ण निषेधाज्ञा जारी भएकाे छ। बाँकी तीन जिल्लामा आँशिक निषेधाज्ञा छ। सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो। साेही अनुसार काठमाडाैं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा जारी भइसकेकाे छ। सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको थियो। उक्त आदेश २० गतेसम्म जारी रहने छ । त्यसपछि थप्ने अधिकारसमेत प्रजिअलाई नै रहेको छ । सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो । आदेश यही वैशाख २१ गते राति १२ बजेसम्म जारी रहने छ। यसरी आदेश जारी गर्ने अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी रहेका छन्। तीन जिल्लामा आंशिक निषेधाज्ञ जारी गरिएको गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए। उनका अनुसार कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक आदेश जारी भएको छ । कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाटै लागू गरिएको हो । निषेधाज्ञामा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालनमा राेक लगाइएकाे छ। विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। विवाहमा जाँदा व्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ। विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ । उक्त अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन चल्न पाउने छैन । सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने छ । विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनुपर्ने छ । खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका व्यवसाय बन्द गरिएको छ । उपत्यकामा खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ। देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९२८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार ८३१ र ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो। नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ। त्यस्तै पछिल्लो समय थप ८८८ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार १६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ। अहिले देशभर ३४ हजार ११७ सक्रिय सङ्क्रमित छन्। हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पीसीआर परीक्षण भएको छ। त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण तीन हजार २४६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।