NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

चितवन निकुञ्जमा फेरि भेटियो मृत गैंडा, साढे ९ महिनामा ३१ वटा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा फेरि अर्को गैंडा मृत भेटिएको छ । निकुञ्जको सुखिभार क्षेत्रअन्तर्गत बूढीराप्ती फाँटमा बिहीबार करिब ३० वर्षको भाले गैंडा मृत भेटिएको हो । योसँगै गत साउनयता चितवन निकुञ्ज तथा यस आसपासको क्षेत्रमा मर्ने गैंडाको संख्या ३१ पुगेको छ । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने ४ वटा चोरीशिकारीले मारेका हुन्। बिहीबार मृत भेटिएको गैंडाको मृत्युको कारण पुष्टि हुन बाँकी छ । खाग र खुर सुरक्षित रहेकोले उक्त गैंडाको मृत्यु प्राकृतिक कारणले भएको निकुञ्जको प्रारम्भिक अनुमान छ । पछिल्लो पटक वैशाख १ मा गैंडा मृतावस्थामा फेला परेको थियो। गैंडा प्रायः बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायत कारणले मर्ने गरेका छन् भने चोरीशिकारीले समेत मार्ने गरेका छन् । केही वर्षयता निकुञ्जमा चोरीशिकारी शून्य रहे पनि गत वर्ष लकडाउनका समयमा ४ वटा गैंडा गोली हानी मारिएको भेटिएको थियो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ । अघिल्लो महिना घोषणा भएको गैंडा गणनाको नतिजाअनुसार नेपालमा गैंडाको संख्या ७ सय ५२ छ । जसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ६ सय ९४ वटा छन् । गणनामा निकुञ्जको पश्चिममा पर्ने सुखिभार क्षेत्रमा सबैभन्दा धेरै गैंडा पाइएको थियो । एसियामा नेपाल र भारतमा पाइने एकसिंगे गैंडा दुर्लभ वन्यजन्तु हो ।