NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सङ्क्रमितको उपचारका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल

चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न शय्याको सङ्ख्या बढाउँदै लगेका हुन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाउँदै छ । भरतपुर अस्पतालमा विभिन्न वार्डका बिरामीहरु स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्‌याइएको छ । अस्पतालमा यसअघि कोभिडका लागि ११० मात्रै बेड थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीका अनुसार हाल १० बेडको कोभिड सघन उपचार कक्ष, २५ वटा एचडीयू र ७५ वटा अक्सिजनसहितका साधारण बेड छन् । उनका अनुसार मेडिसिन वार्डका बिरामीलाई अन्यत्र सारेर कोभिड बिरामीका लागि अक्सिजनसहितको ४० वटा बेड विस्तार गरिएको हो । यसअघि हाडजोर्नी, न्युरो, सर्जरीलगायत विभागका बिरामी सारेर कोभिड उपचार कक्ष स्थापना गरिएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बाहिर जिल्लाबाट धेरै बिरामी आएकाले व्यवस्थापनमा कठिनाइ भएको बताए । हाल अस्पतालमा ८२ जना कोभिडका बिरामी छन् । तीमध्ये ५० प्रतिशत जिल्ला बाहिरका हुन् । उनका अनुसार नेपालगन्जदेखि यहाँ कोभिडका बिरामी आएका छन् । ‘यस्तै अवस्था रहे एक/दुई दिनमा अस्पतालले कोभिडलाई छुट्याएका बेड भरिनेछन्,’ उनले भने । अस्पतालमा हाल विशेषज्ञसहितका २० चिकित्सक र ३० नर्सिङ कर्मचारी कोभिड उपचारमा खटिएका छन् । अन्य अत्यावश्यक वार्डहरु खाली गर्न नसकिने भएकाले थप व्यवस्थापन गर्न कठिन हुने अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा ११३ बेड कोभिडका लागि छुट्याइएको छ, जसमा हाल ३४ जना बिरामी उपचाररत छन् । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार यहाँ ३३ शय्याको कोभिड उपचार कक्ष छ, जहाँ ३० वटा भेन्टिलेटरसमेत छन् । अधिकारीको भनाइमा प्रसूति विभाग, आकस्मिक सघन उपचार कक्ष, हाडजोर्नीलगायतका विभागलाई अन्यत्र सारेर कोभिडका लागि व्यवस्थापन गरिएको छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ७० बेड कोभिडका लागि छुट्याइएको छ । अस्पतालका निमित्त निर्देशक डा. मनोहर प्रधानका अनुसार कोभिडलाई भनिएकामध्ये ३० बेड आईसीयू र ४० बेड एचडीयूका हुन्, जहाँ ६ वटा भेन्टिलेटरसमेत छन् । यसअघि साधारण बिरामी राख्ने ठाउँलाई खाली गरेर कोभिड बिरामी राख्न थालिएको हो । उनका अनुसार हाल अस्पतालमा कोभिडका ४१ जना बिरामी उपचाररत छन् । बिरामी थपिँदै गएमा अन्य विभागलाई गाभेर क्षमता विस्तार गर्ने तयारी भइरहेको उनले बताए । अस्पतालमा हाल २१ विशेषज्ञ चिकित्सक र ५० नर्स कोभिड उपचारमा जुटेका छन् । क्यान्सर रोगको मात्रै उपचार गर्ने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिड बिरामीका लागि छुट्टै वार्ड बनाउने तयारी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देज गौतमका अनुसार १५ बेडको वार्ड बनाउन लागिएको हो, जहाँ ५ वटा थप्न सकिनेछ । कोभिड भएका क्यान्सरका बिरामीलाई उपचार गर्न वार्ड तयार गर्न लागिएको हो । एक/दुई दिनमै वार्ड तयार हुने उनले बताए । यहाँका अन्य केही निजी अस्पतालले पनि उपचारका लागि आएका बिरामीलाई कोभिड देखिए नफर्काई उनीहरुको उपचार गरिररहेको जनाएका छन् । पुष्पाञ्जलि अस्पताल भरतपुरका व्यवस्थापक सुजन अधिकारीले हालसम्म आएका कोभिडका बिरामीलाई नफर्काएको भए पनि अस्पताल बिरामीले भरिएकाले राख्ने अवस्था नरहेको जानकारी दिए । स्थानीय प्रशासनले सरकारी र निजी अस्पतालका सञ्चालकलाई कोभिड बिरामी बढ्न सक्ने भएकाले तयारी अवस्थामा रहन अनुरोध गरेको छ । बिहीबारसम्म जिल्लाका मात्रै ७२४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य जिल्लाबाट यहाँ उपचारका लागि आउनेको तथ्याङ्क कार्यालयले राख्ने गरेको छैन । अस्पतालहरुमा ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाबाट आएका सङ्क्रमित छन् । (रासस)