NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

निषेधाज्ञामा पनि हवाई उडान निर्वाध, तर घटे यात्रु

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको पहिलो दिन वैशाख १६ गते आठ हजार दुई सय ६९ जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानको हवाई यात्रा गरे । विमानस्थलका आन्तरिकतर्फको उडान कार्यालयका अनुसार १६ गते विमानस्थलबाट दुई हजार आठ सय १६ काठमाडौं भित्रिए भने बाहिरिनेको संख्या पाँच हजार चार सय ५३ थियो । निषेधाज्ञाको पहिलो दिन आन्तरिक हवाई सेवा कम्पनीले कुल दुई सय आठ उडान भरे । त्यसमध्ये बुद्ध एयरले सबैभन्दा धेरै उडान भ¥यो भने सबैभन्दा कम उडान गर्नेमा नेपाल एयरलाइन्स र समिट एयर थिए । घट्दो उडान काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दा सडक यातायात बन्द गरिए पनि हवाई उडान यथावत नै राखियो । कोभिड संक्रमण नियन्त्रणका लागि सडक यातायात ठप्प गर्ने निर्णय गरेको सरकारको हवाइ उडान जारी राख्ने निर्णयको आलोचना गरिँदै आएको छ । सडक यातायातमा रोक लगाइएपछि हवाई यात्रु बढ्ने वायुसेवा कम्पनीहरुको थियो । यही अनुमानका आधारमा वायुसेवा कम्पनीहरुले उडान थप गरेका थिए । तर, सडक यातायातमा रोक लगाइएसँगै हवाई उडान पनि प्रभावित भएका छन् । विमानस्थल कार्यालयका अनुसार बुधबारको तुलनामा निषेधाज्ञाको पहिलो दिन उडान संख्या घटेको छ । १५ गते दुई सय ९४ उडान भएकामा १६ गते दुई सय आठमा झर्‍यो । निषेधाज्ञाको तेस्रो दिन आज आन्तरिकतर्फ ७७ वटा ‘डिपार्चर’ तय भएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन गर्तौलाका अनुसार निषेधाज्ञा भएयता हवाइ उडान घट्दो क्रममा छ । ‘यती एयरलाइन्सले हिजो २८ उडान भरेको थियो, आज यो २० मा झरेको छ’, उनी भन्छन् । चाप घटेकाले अब रोक्नु आवश्यक नभएको तर्क कोभिड संक्रमण उच्च दरमा फैलिरहेका बेला हवाई उडान जारी राख्दा आलोचना खेपिरहेको सरकारले अब पनि यसलाई रोक्नु आवश्यक नभएको तर्क गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीका अध्यक्ष खगराज बराल भन्छन्, ‘निषेधाज्ञा जारी भएसँगै उडान चाप घटिसक्यो, अब बन्द गर्नुको औचित्य छैन ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री पनि आन्तरिक उडान तत्काल बन्द नहुने बताउँछन् । उनका अनुसार निषेधाज्ञा जारी भएसँगै उडान संख्या घटेको छ भने भिडभाड पनि कम छ । यातायातको तुलनामा जहाज धेरै हदसम्म सुरक्षित भएको दाबी गर्दै उनी भन्छन्, ‘यातायात भन्दा जहाजमा यात्रा सुरक्षित हुन्छ । विमानस्थलमा भिडभाड नहोस् भनेर हामीले एयरलाइन्सका प्रतिनिधिलाई बोलाएर पटक पटक बैठक गरेका छौं ।’ यसअघि कोभिड सम्बन्धि स्वास्थ्य प्रोटोकोल पहिला अलि खुुकुलो भएको र यतिबेला विमानस्थलमा स्वास्थ्य प्रोटोकोललाई अझै बढी कडा पारिएको उनको दाबी छ । ‘यात्रुहरूका लागि फेससिल्डलाई अनिवार्य गराएका छौंं । मास्क र सेनिटाइज त अनिवार्य नै थियो,’ उनले भने, ‘टर्मिनलमा यतिबेला नियम पहिला भन्दा धेरै व्यवस्थित भएको छ ।’