NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नयाँ वर्ष मनाउने क्रममा भागदौड मच्चिँदा इजरायलमा ४४ जनाको मृत्यु

जेरुसेलम । इजरायलमा एक धार्मिक समारोहमा भागदौड मच्चिँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । यहुदीहरुको नयाँ वर्ष मनाउन बिहीबार राति कम्तीमा एक लाख मानिस भेला भएकोमा अचानक भागदौड मच्चिएपछि उक्त संख्यामा मानवीय क्षति भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यहुदी नयाँ वर्ष ‘लाग बाओमर’ को पूर्व सन्ध्यामा हरेक वर्ष उत्तरी इजरायलको माउन्ट मेरोनमा ठूलो संख्यामा मानिस भेला हुने प्रचलन छ । सोहीअनुसार यस पटक पनि हजारौं मानिस सहभागी थिए, जसमा दक्षिणपन्थी यहुदीको सहभागिता बढी थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्वीट गर्दै माउन्ट मेरोनमा दुःखद घटना भएको जनाउँदै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले माउन्ट मेरोनमा उद्धार कार्यलाई तिब्र बनाउन आदेश दिइसकेको बताएका छन् । इजरायली राष्ट्रपति रुभेन रिभलिनले पनि ट्वीट गर्दै घाइतेको उद्धार कार्यलाई तिब्र बनाउन आग्रह गरेका छन् । सुरुमा मञ्च भत्किएर मानवीय हताहती भएको अनुमान गरिए पनि इजरायली एम्बुलेन्स सेवा मागेन डेभिड एडोम (एमडीए) ले भीडका कारण उक्त दुर्घटना भएको बताएको छ । एमडीएले घाइतेहरुलाई उद्धार गरिएको र केहीलाई हेलिकप्टरबाट बाहिर निकालिएको जनाएको छ । घाइतेहरुलाई उत्तरी इजरायल र जेरुसलेममा भर्ना गरिएको छ । युनाइटेड हजलाह आपत्‌कालीन स्वास्थ्य सेवाले आफ्ना संस्थाका स्वयंसेवीले घटनास्थलबाट दर्जनौं व्यक्तिलाई उद्धार गरेको जनाएको छ । सरकारले कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै आमनागरिकलाई सचेत रहन आग्रह पनि गरेको छ । सरकारले कोरोना भाइरस फैलन नपाओस् भन्न खोप लगाएका, संक्रमणमुक्त भएका वा परीक्षणमा संक्रमण नदेखिएका व्यक्तिलाई मात्र माउन्ट मेरोनको भ्रमण गर्न अनुमति दिएको थियो । तर सरकारले अनुमति दिएको भन्दा धेरै व्यक्ति उक्त समारोहमा सहभागी भएका थिए । (रासस/सिन्ह्वा)