NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

रुकुमपश्चिममा अक्सिजन प्लान्ट स्थापना गरिने

सुर्खेत । कोरोना संक्रमितहरुको उपचारको लागि रुकुम पश्चिममा अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । विहीबार जिल्ला समन्वय समिति रुकुम (परिुश्चम)को संयोजनमा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र चिकित्सकहरु सहभागी रहेको भर्चुअल बैठकले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो । बैठकले हरेक पालिकामा कम्तिमा २० वटा आइसोलेशन बेड तयार गर्नुका साथै चौरजहारी अस्पतालमा एक सय र जिल्ला अस्पताल सल्लेमा ५० बेड थप्ने निर्णय गरेको छ । यस्तै हरेक पालिकाहरुले कम्तिमा १० वटा अक्सिजन सिलिण्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्ट्रेटर तत्काल व्यवस्था गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति संयोजक राजकुमार शर्माले जानकारी दिए । यस्तै बैठकले एम्बुलेन्स र शव बाहनका चालकहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भएको छ । शर्माका अनुसार कोरोना उपचारमा खटिने जनशक्तिको अभाव पूर्ति गर्न पालिकाहरुले नै तत्काल स्वास्थ्यकर्मीहरु हायर गरी काममा लगाउने निर्णय भएको छ । कोभिड महामारीको बेला जनताको मनोबल उँचो बनाइराख्न चेतनामूलक जानकारी सम्प्रेषण गर्ने र बाहिरबाट भित्रिएकाहरुलाई वडाहरुले होम आइशोलेशनमा राख्ने व्यवस्था गर्ने निर्णय भएको छ । गम्भीर प्रकृतिका विरामीहरुको उपचारको लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकको निर्णय बैठकमा भएको छ । बैठकमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले महामारीको बेला नियम कानुनभन्दा जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । भर्चुअल बैठकमा जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित विभिन्न अस्पतालका प्रमुख तथा चिकित्सकहरुले कोरोना संक्रमण र उपचारको व्यवस्थाबारे जानकारीसहित सुझाव राखेका थिए ।