NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

संक्रमण बढेपछि भारतीय उडानमा संसारभर प्रतिबन्ध र कडाई, तर नेपाललाई छैन डर

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भारतबाट हुने सीधा उडानमा रोक लगाउने उर्दी १४ वैशाखमा जारी गरे । कोभिड १९ को संक्रमण तीब्र हुँदै गएपछि आगामी जेठ १ (१५ मे) सम्मका लागि भारतबाट आफ्नो देशतर्फ हुने उडान अष्टे«लियाले रोक लगाएको हो । दुई करोड ५० लाख जनसंख्या भएको अष्ट्रेलियामा कोभिड महामारी सुरु भएयता मात्रै ३० हजार जना संक्रमित भएका छन् भने नौ सय १० जनाले ज्यान गुमाइसकेका छन् । संक्रमणको जोखिमकाबीच स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै भारतबाट हुने सीधा उडानमा रोक लगाएको अष्ट्रेलियाले जनाएको छ । भारतमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ संक्रमणको जोखिम देखाएर भारतीय सीधा उडानमा कडाइ गर्ने देशको सूची लामो भइसकेको छ । केहीले भारतसँगको उडानमा रोक लगाइसकेका छन् भने केहीले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै आंशिक प्रतिबन्ध तथा स्वास्थ्य मापदण्डमा कडाइ गरेका छन् । ठूला गन्तव्य मानिएका अमेरिका, वेलायत, दुवई, हङकङ, क्यानडा, इटाली, थाइल्याण्ड लगायतले भारतसँगको उडान रोकिसकेका छन् । त्यस्तै, सिंगापुर, थाइल्याण्ड, इटाली, फ्रान्स, न्यूजिल्यान्ड, इरान, नेदरल्याण्ड, ओमान, कुवेत, इन्डोनेसिया, जर्मनी, माल्दिभ्स, लगायतका देशहरूले भारतसँगको उडानमा पूरा तथा आंशिक वा कडाइ गरेका छन् । भारतको निकटवर्ती छिमेकी मुलुक पाकिस्तान र बंगलादेशले पनि भारतसँगको स्थलमार्गसहित उडान बन्द गरिसकेका छन् । गत वर्ष कोरोना भाइरसको प्रकोपपछि भारतले ‘एयर ट्राभल बबल’ अन्तर्गत २७ देशसँग उडान सम्झौता गरेको थियो । बढ्दो संक्रमणका कारण यो सम्झौता पनि ओझेलमा परेको छ । तर, नेपाललाई छैन डर अहिले भारतमा दैनिक औसत साढे तीन लाख जनाका दरले कोभिडको संक्रमण फैलिरहेको छ । यही संक्रमणको जोखिम औंल्याएर विभिन्न मुलुकहरुले भारततर्फको उडानमाथि प्रतिबन्ध लगाइरहेका छन् । तर, भारतमा तीब्र गतिमा फैलिरहेको संक्रमणको प्रत्यक्ष असर भोग्ने निकट छिमेकी मुलुक नेपालतर्फ भने उडान निर्वाध चलिरहेको छ । भारतसँगको उडान रोक लगाउने सम्बन्धमा नेपालले हालसम्म कुनै तयारी गरेको छैन । ‘एयर ट्राभल बबल’ अन्तर्गत भारतीय सरकारी वायुसेवा कम्पनी एयर इन्डिया र नेपालको राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमले दैनिक १/१ उडान गर्दै आएका छन् । एक सातामै साढे दुई हजार भारतीय यात्रु जहाजबाट नेपाल आए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार यतिबेला भारत जाने भन्दा त्यहाँबाट नेपाल आउने यात्रुको संख्या बढी छ । विगत एक सातामा दुई हजार चार सय ६४ जना यात्रु भारतबाट नेपाल आएका छन् । त्यही अवधिमा नेपालबाट भारत जानेको संख्या भने सात सय ९२ मात्रै छ । विमानस्थल कार्यालयले प्रदान गरेको ९ देखि १५ वैशाख (२२–२८ अप्रिल) सम्मको यो तथ्यांक अनुसार एयर इन्डियाबाट नेपाल आउनेको संख्या ९ सय ९३ छ भने बाहिरिनेको संख्या ४ सय २ छ । त्यस्तै, राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समार्फत भारतबाट एक हजार चार सय ७१ यात्रु नेपाल भित्रिएका छन् भने बाहिरिनेको संख्या ३ सय ९० छ । उडान रोक्ने छैन तयारी दैनिक सयौंको संख्यामा भारतीयहरु नेपाल भित्रिरहँदा यसलाई रोक्न उडान प्रतिबन्ध लगाउनेबारे नेपाल सरकार हालसम्म कुनै पहल गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवसमेत रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) का अध्यक्ष खगराज बराल मानवीय हिसाबमा भएपनि भारतसँगको उडान रोक्न नहुने बताउँछन् । नेपालबाट उपचारका लागि जो कोही पनि भारत जानुपर्ने भएकाले पनि यो उडानले निरन्तरता पाउने उनको भनाइ छ । त्यसमाथि ‘एयर ट्राभल बबल’ को स्वास्थ्य प्रोटोकोल पनि अन्य भन्दा कडा भएको हुँदा सुरक्षामा समस्या नहुने उनको तर्क छ । ‘यो सम्झौतामा स्वास्थ्य प्रोटोकोल पनि कडा रुपमा लागू गरिएको छ, भारतसँगको उडान रोक्दैमा यहाँ महामारी कम हुने होइन,’ बराल भन्छन्, ‘महामारी नेपालमा पनि फैलिसकेको छ, जो कोहीलाई पनि उपचारकै लागि भएपनि भारत जानुपर्ने हुन सक्छ ।’ बरालकै भनाइमा सहमति जनाउँछन् नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री पनि । उनी पनि भारतबाट हुने उडान बन्द गर्नेबारे हालसम्म कुनै पन तयारी नभएको बताउँछन् । ‘एइर ट्राभल बबल’ मार्फत हुने उडान रोक्न तत्काल सम्भव नभएको क्षेत्रीको तर्क छ । ‘भारतबाट आउने नेपालीले १० दिनको कवारेन्टिन अनिवार्य बुक गर्नुपर्छ , त्यसको अनुगमन पनि अध्यागमन विभागले गरेको छ,’ क्षेत्री भन्छन्, ‘त्यसमाथि अहिले ट्रान्जिटलाई रोकेपछि नेपाल आउने भारतीयको संख्या क्रमशः घट्दै छ, डराउनुपर्ने अवस्था छैन ।’ यसअघि भारतबाट आउने नेपालीले ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएको आधारमा बाहिरि निस्किन पाउँथे । होटल क्वारेन्टिन बस्नुपर्थेन । भारतीय नागरिकलाई नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक जान यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।