NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

थेगिनसक्नु संक्रमित र कमजोर स्वास्थ्य पूर्वाधार, अन्तत : सरकारले हात उठायो

काठमाडाैं । कोभिड १९ को तीब्र संक्रमणकाबीच त्रासमा रहेका आमसाधारणलाई थप अत्याउनेगरी शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सर्वसाधारणका नाममा एक अपील जारी गर्‍यो । अपीलमा भनिएको छ – स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न र शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । कोभिड महामारी नियन्त्रण बाहिर गएको र अब यसलाई थेग्ने क्षमता नरहेको भन्दै सरकारले हात उठाएको छ । साथै सरकारले अब आफैं संवेदनशील हुन आमसर्वसाधारणलाई अपील गरेको छ । यसले नेपालमा कोभिड संक्रमण कति भयावह स्थितिमा पुगेको छ भन्ने चित्रित गरेको छ । यसै पनि कमजोर स्वास्थ्य पूर्वाधार रहेको नेपालमा देशव्यापी महामारीलाई थेग्न नसक्ने भयो नै । दैनिक ६ हजार पुगे संक्रमित, ३८ हजार सक्रिय संक्रमित पछिल्ला दिनहरुमा कोभिड १९ को संक्रमण तिब्र गतिमा फैलिएको छ । शुक्रबार एकै दिन पाँच हजार सात सय २७ नयाँ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अपडेट विवरण अनुसार पछिल्लो २४ घण्टामा कोभिड संक्रमित ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांक अनुसार १७ गतेसम्म देशभर कोभिड संक्रमितको संख्या ३८ हजार आठ सय १३ छ । सक्रिय कोरोना संक्रमितको यो संख्याले नेपालमा कोरोना संक्रमणको भयावह अवस्था देखाएको छ । संक्रमण फैलिन थालेपछि २३ जिल्लामा निषेधाज्ञा कोभिडको संक्रमण फैलिन थालेपछि अहिले धमाधम जिल्लाहरुले निषेधाज्ञा गर्न थालेका छन् । काठमाडौं उपत्यका र तराईमा पाँच सय र पहाडी तथा हिमाली क्षेत्रमा दुई सय संक्रमित नाघे सम्बन्धित जिल्लाले निषेधाज्ञा गर्न सक्ने निर्णय केही दिनअघि मन्त्रिपरिषद्ले गरेको थियो । सरकारको यही निर्णयका आधारमा चार जिल्लामा आंशिकसहित २३ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा र झापामा पूर्ण तथा दार्चुला, बर्दिया, कालिकोट र बागलुङमा आंशिक निषेधाज्ञा जारी गरिएको छ । संक्रमण फैलिँदै जाँदा निषेधाज्ञा गर्ने क्रम पनि बढ्दै गएको छ । अस्पतालका आईसीयू र भेन्टिलेटर भरिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांक अनुसार अहिले देशभर सबै अस्पतालमा गरेर एक हजार चार सय ८६ आईसीयू बेड छन् । त्यस्तै ६ सय ३४ भेन्टिलेटर छन् । यीमध्ये अधिकांश आईसियु र भेन्टिलेटर अहिले कोभिडको उपचारमा लगाइएको छ । कोरोना संक्रमित बढ्दै जाँदा अहिले अधिकांश अस्पतालमा आईसीयू र भेन्टिलेटर भरिसकेका छन् । काठमाडौं उपत्यकाका ठूला अस्पतालमै पनि आईसियु र भेन्टिलेटर पाउन मुस्किल छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरुले छुट्याएका बेड भरिएर थप संक्रमित लिन नसक्ने अवस्थामा रहेको अस्पतालहरुले बताइरहेका छन् । जसका कारण गम्भीर संक्रमितहरुसमेतले उपचार नपाउने स्थिति निम्तिएको छ । १९ हजार बेड, सबै भरिए अहिले देशभरका अस्पतालमा झन्डै १९ हजारको संख्यामा शय्या (बेड) छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका अस्पतालमा साधारण शैय्याको संख्या १८ हजार नौ सय १७ छ । कोभिड संक्रमण तीब्र गतिमा फैलिँदा अहिले अस्पतालमा बेड भरिभराउ भएका छन् । सामान्य विरामी अस्पताल नगएको अवस्थामा कोभिड संक्रमितले नै अस्पतालका शैय्या भरिन थालेका छन् । यसैलाई उल्लेख गर्दै शुक्रवार मन्त्रालयले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ – स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण बढेकाले अस्पतालहरुमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । गम्भीर संक्रमितलाई चढाउने अक्सिजन पनि छैन अधिकांश अस्पतालहरुमा गम्भीर खालका संक्रमितलाई दिनुपर्ने अक्सिजनको पनि अभाव छ । कोभिड संक्रमणका कारण सामान्य अवस्थाको तुलनामा अक्सिजनको माग झन्डै दोब्बरले बढेको छ । बिरामीलाई नै अभाव भएपछि अक्सिजनको औद्योगिक खपत रोकिएको छ । अक्सिजन अभाव भएपछि गत साता परराष्ट्र मन्त्रालयले भारत सरकारलाई तरल अक्सिजन उपलब्ध गराउन पत्रै लेख्यो । आफैं अभाव झेलिरहेको भारतलाई अक्सिजनसहितको स्वास्थ्य सामग्री पठाउन सरकारले पत्राचार गरेको हो । अक्सिजन अझै आइसकेको छैन । अन्ततः सरकारले हात उठायो नेपालमा पछिल्लो समय कोभिड १९ को संक्रमण डरलाग्दो गरी फैलिएको भन्दै अन्ततः सरकारले हात झिकेको छ । देशको स्वास्थ्य प्रणालीले नै धान्न नसक्ने अवस्था आएको भन्दै सरकारले आफैं सचेत हुन नागरिकलाई भनेको छ । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुनपानीले हात धुने जस्ता संक्रमण नियन्त्रणका जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै अहिलेको उत्तम उपाय भएको शुक्रबार मन्त्रालयले जारी गरेको अपिलमा उल्लेख छ । ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन हार्दिक अपिल छ’ अपीलमा भनिएकाे छ ।