NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

संक्रमण तीव्र रुपमा फैलँदै, थप चार जिल्लामा शनिबारदेखि निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि देशमा थप चार जिल्लका प्रशासन कार्यालयले शनिबारदेखि निषेधाज्ञा जारी गर्ने भएका छन् । जाजरकोट, सल्यान, डडेलधुरा र झापामा शनिबारदेखि निषेधाज्ञा जारी गरिने भएको हो । जाजरकोटमा शनिबार रातिदेखि, सल्यान र डडेलधुरामा आइतबार बिहान ६ बजेदेखि र झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुने गृह मन्त्रालयले जनाएको छ । सरकारले कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुने क्रम बढेको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म प्राप्त विवरणमा २३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुले आवश्यकता हेरेर फरक–फरक आदेश जारी गरेका छन् । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २ सय र काठमाडौं उपत्यका तथा तराईमा ५ सय जना सक्रिय संक्रमित रहेका जिल्लामा आवश्यकता अनुसार आदेश जारी गर्न सक्ने अधिकार प्रजिखलाई दिएको थियो । हालसम्म कुन–कुन जिल्लामा निषेधाज्ञा ? सम्बन्धित प्रशासन कार्यालयले बिहीबारयता बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सामा निषेधाज्ञा गरेको छ । यस्तै कालीकोट, बागलुङ, बर्दिया, दार्चुला, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा पनि निषेधाज्ञा जारी गरिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञा अवधिभर सरकारको आदेशको पूर्ण रुपमा पालना गर्न सर्वसाधारणाई अनुरोध गरेका छन् ।