NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

भारतमा एकै दिन थपिए ४ लाखभन्दा बढी कोरोना संक्रमित

नयाँदिल्ली । भारतमा एकै दिन ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार राति ११ बजेसम्म मुलकभर ४ लाख ८ हजार ३२३ जना संक्रमित थपिएका जानकारी दिएको हो । यस अवधिमा कोरोनाकै कारण ३ हजार ४६४ जनाको मृत्यु भएको छ । एकै दिन ४ लाख जनामा संक्रमण पुष्टि हुने भारत विश्वकै पहिलो मुलुक बनेको छ। यसअघि अमेरिकामा एकै दिन ३ लाखभन्दा बढीमा संक्रमण पाइएको थियो । भारतमा गत अप्रिल २१ बाटै दैनिक ३ लाखभन्दा बढी संक्रमित थपिन थालेका थिए । कोरोनाबाट बढी प्रभावित हुने राज्यहरुमा महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश, कर्नाटक, केरला छन् । मन्त्रालयको पछिल्लो तथांकअनुसार महाराष्ट्रमा ६२ हजार ९१९ जना, कर्नाटकमा ४८ हजार २९६ र केरलामा ४८ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा महाराष्ट्रमा ८२८ जना, दिल्लीमा ३७५ र उत्तर प्रदेशमा ३३२ छन् । भारतमा हालसम्म १ करोड ९१ लाख ६३ हजार ४८८ जना संक्रमित पाइएका छन् भने २ लाख ११ हजार ८५३ जनाको मृत्यु भएको छ । यो आँकडामा लद्दाखमा थपिएका संक्रमित र मृतकको संख्या सामेल गरिएको छैन । अहिलेसम्म निको हुनेको संख्या १ करोड ५६ लाख ७१ हजार ५३६ छ । भारतमा ठूलो मात्रा कोरोना परीक्षणसमेत भइरहेको छ । शुक्रबार मात्रै १९ लाख ४५ हजार २९९ नमुनाको पीसीआर परीक्षण भएको छ । एक दिनमा गरिएको परीक्षणमा यो हालसम्मकै ठूलो संख्या हो । बिहीबार १९ लाख २० हजार १०७ नमुनाको जाँच गरिएको थियो । हालसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ नमुनाको परीक्षण भइसकेको छ । यहाँ कोरोनाविरुद्धको खोप अभियान पनि चलिरहेको छ । पछिल्लो २४ घन्टामा २७ लाख ४४ हजारभन्दा बढीले खोप लगाएका छन् । गत अप्रिलको दोस्रो साता एकै दिनमा लगाइएको खोपभन्दा यो निकै कम हो । १-१४ अप्रिलसम्म भारतमा ‍औसतमा ३५.२६ लाख जनामा खोप लगाइएको थियो । जबकि १५-२९ अप्रिलसम्म यो आँकडा घटेर २५.१६ मा आइपुगेको थियो । शुक्रबारसम्म झन्डै साढे १५ करोड जनाले खोप लगाइसकेको मन्त्रालयको तथ्यांक छ । जनताबीच पुग्न मोदीको मन्त्रीहरुलाई निर्देशनप्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्रिपरिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताएका छन् । कोरोनाको दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिए । उनले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिसहरुसँग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गरेका उनको सचिवालयले जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधनको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् । भिडियोमार्फत बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए । (एजेन्सी)