NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

भारतमा कोभिड सेन्टरमा फेरि आगलागी, कम्तिमा १२ बिरामीको ज्यान गयो

नयाँदिल्ली । भारतको गुजरातमा कोभिड केयर सेन्टरमा आगलागी हुँदा कम्तिमा १२ जना संक्रमित बिरामीको मृत्यु भएको छ । समाचार संस्था पीटीआईका अनुसार आगो शनिबार बिहान १ बजेबाट लाग्न सुरु भएको हो । अस्पतालमा आगलागीको भयानक दृश्य भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन र प्रशारण गरिरहेका छन् । चारतले सेन्टरमा आगलागीका समय ५० जना बिरामीको उपचार भइरहेको थियो । बाँकी बिरामीलाई स्थानीय, सुरक्षाकर्मी र दमकलका कर्मचारीहरुले सकुशल बाहिर निकालेका थिए नजिकको अर्को अस्पतालमा सारेका थिए । एक प्रहरी अधिकारीले बिहान ६ः३० बजे पीटीआईसँगको कुराकानीमा हालसम्म मृत्यु हनेको संख्या १८ रहेको बताएका थिए । यसअघि १२ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । भरूचका एसपी राजेद्रसिंह चुडासामाले भने १२ जनाको मृत्यु धुँवामा निसास्सिएर भएको जनाएका थिए । ‘बाँकी ६ जनाको मृत्यु भएको हो वा अर्को अस्पताल सिफ्ट गरिएको हो, यकिन भइसकेको छैन,’ उनले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । भारतमा कोभिड अस्पतालमा आगलागी भएको यो पहिलो घटना होइन । यसअघि गत अप्रिल २३ मा महाराष्ट्रको पालघर जिल्लाको विरारस्थित विजय वल्लभ अस्पतालको कोभिड सेन्टरमा आगो लाग्दा आईसीयूमा उपचाररत १३ बिरामीको मृत्यु भएको थियो । त्यसको २ दिनअघि पनि महाराष्ट्रकै नासिकस्थित एक कोरोना अस्पतालमा अक्सिजन लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको ज्यान गएको थियो । (एजेन्सी)