NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

भारतमाथि मे ४ बाट यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा, क-कसलाई मिल्नेछ छुट?

वासिंगटन । बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै अमेरिकाले भारतमाथि यात्रा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रतिबन्ध ४ मेबाट लागू हुनेछ । भारतमा दिनहुँ कोरोना संक्रमणको नयाँ रेकर्ड बनिरहेको छ । शुक्रबार मात्रै ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । पछिल्लो एक सातायता मात्रै २० लाखभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा हालसम्म १ करोड ९१ लाख ६३ हजार ४८८ जना संक्रमित पाइएका छन् भने २ लाख ११ हजार ८५३ जनाको मृत्यु भइसकेको छ ।  सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न प्रतिबन्ध (निषेधाज्ञा, लकडाउन, कर्फ्यु) घोषणामा ढिलाइ गर्दा, सबै जनतामा खोप लगाउन समय लाग्दा, भाइरसको नयाँ भेरिएन्ट तथा स्थानीय रुपमा पनि सतर्कता नअपनाइँदा भारतमा संक्रमणले भयावह रुप लिएको हो । भारतको पछिल्लो अवस्थालाई मध्येनजर गर्दै आफ्ना नागरिकलाई त्यहाँ जान रोक लगाइएको अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार घोषणा गरे । प्रतिबन्ध अनिश्चितकालका लागि लगाइएको हो । तर अत्यावश्यकीय अवस्थामा यात्रामा छुट पाउनेहरु भने पुनः अमेरिका फर्किन सक्ने ह्वाइट हाउसले जनाएको छ । क-कसलाई मिल्नेछ छुट?यो यात्रा प्रतिबन्धमा भारतमा रहँदै आएका अमेरिकी नागरिक या उनीहरुका पति/पत्निलाई छुट मिल्नेछ । ह्वाइट हाउस प्रशासनका अनुसार मानवाधिकार कार्यकर्ता या शोधकर्ता र कोरोना भाइरसको अनुसन्धान, उपचार र नियन्त्रणसँग जोडिएका स्वास्थ्यकर्मीलाई पनि छुट दिइएको छ । प्रतिबन्ध नलाग्ने व्यक्तिहरुले अन्तर्राष्ट्रिय यात्रुहरुका लागि तय अमेरिकी स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ । अमेरिका आउनुअघि १४ दिनसम्म भारतमा रहेका अन्य जोसुकै यात्रुलाई पनि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार भारतबाट आउने जोसुकैले अबदेखि ७२ घन्टाभित्रको कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउनुपर्नेछ । यो नियम दुवै मात्रा खोप लगाएकाहरुमा समेत लागू हुनेछ । अमेरिका पुगेपछि पनि यात्रुलाई ३-५ दिनपछि पीसीआर परीक्षण गर्न पनि भनिएको छ । यसरी भित्रिने सबैलाई क्वारेन्टाइन बस्न पनि अनिवार्य गरिएको छ । हवाई टिकट लिएका पनि जान नपाउनेअहिले युनाइटेड एयरलाइन्स र एयर इन्डियाले भारत-अमेरिकाबीच लगातार उडान गरिरहेका छन् । हाल युनाइटेडले दिनमा ४ वटा उडान गर्दा एयर इन्डियाले भने अप्रिल महिनाभर दैनिक ३ वा ६ वटा उडानमार्फत सेवा दिएको थियो । यात्रा प्रतिबन्धसँगै अब अत्यावश्यकबाहेक सबै उडान रद्द हुने भएका छन् । यसअघि नै ४ मेभन्दा पछिको टिकट लिइसकेकाहरु पनि अमेरिका जान पाउने छैनन् । युनाइटेड एयरलाइन्सले नयाँ यात्रा प्रतिबन्धका सबै नियमको पूर्ण पालना गर्ने जनाएको छ । उसले अमेरिका आउन ४ मेपछिका लागि टिकट बुक गराएका सबैको रकम फिर्ता गर्ने पनि स्पष्ट पारेको छ । भारतको नेसनल ट्राभल एन्ड टुरिजम कार्यालयका अनुसार सन् २०१९ मा भारतका १५ लाख यात्रु अमेरिका पुगेका थिए । अमेरिकाले महामारीको सुरुवातमा बेलायत, यूरोपीय संघमा आवद्ध मुलुक, आयरल्यान्ड, ब्राजिल, दक्षिण अफ्रिका, चीन र इरानबाट आउने यात्रुमाथि पनि प्रतिबन्ध लगाएको थियो । उसले केही समयअघि मात्रै विद्यार्थी, शिक्षाविद् र पत्रकारमाथि भने प्रतिबन्ध फुकुवा गरेको थियो । भारतमाथि कुन-कुन देशले लगाए यात्रा प्रतिबन्ध ?कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड कायम गरिरहेकोले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न भन्दै विश्वका विभिन्न मुलुकले यात्रा निर्देशिका (ट्राभल एडभाइजरी) जारी गरेका छन् । बेलायत, क्यानडा, अस्ट्रेलिया, हङकङ, संयुक्त अरब इमिरेट्सले भने भारतमाथि यात्रा प्रतिबन्ध नै लगाएका छन् । पाकिस्तानले यसअघि नै २ साताका लागि प्रतिबन्ध लगाइसकेकाे छ । न्युजिल्यान्डले १७ दिने यात्रा प्रतिबन्ध लगाएकोमा केही दिनअघिबाट मात्रै फुकुवा भएको छ । भारतबाट गएका २३ मध्ये १९ जनामा संक्रमण पुष्टि भएपछि न्युजिल्यान्डले अप्रिल ११-२८ सम्म भारतबाट जोकसैलाई पनि भित्रिन रोक लगाएको थियो । धेरै देशले भारतबाट आउने यात्रुलाई क्वारेन्टाइन, परीक्षणलगायत स्वास्थ्य मापदण्डमा कडाइ गरेका छन् । (एजेन्सी)