NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

संकटमा बेड छैन्न भन्नु सरकारको लाचारीपन हो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संकटका बेला नागरिकको जीउधन रक्षाको जिम्मेवारी लिनुपर्नेमा उल्टै बिरामीका लागि बेड छैन भन्नु सरकारको लाचारीपन भएको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार बिहान विज्ञप्ति जारी गर्दै नागरिकको जीवन रक्षाको जिम्मेवारी लिनुपर्नेमा पञ्छिन खोजेको आरोप लगाए । उनले भनेका छन्, ‘अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ ।’ अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो भन्दै कांग्रेसले भनेको छ, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न ।’ अधिकांश समय सत्ता द्वन्द्वमा बिताउने र महामारीमा चुनाव घोषणा गर्ने समयको सदुपयोग गरेको भए पनि अहिले अवस्थासँग सहजै पार लाग्न सकिने उनको भनाइ छ । अघि भनिएको छ, ‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद् विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’ नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपीलसमेत गरेको छ ।