NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार पुर्‌याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढाइने घोषणा गरेका छन् । लामो समयदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक बढ्न नसकेको बताउँदै उनले आगामी आव २०७८/७९ बाट मासिक १५ हजार रुपैयाँ पुर्‌याइने बताएका हुन् । हाल मासिक १३ हजार ४५० रुपैयाँ छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा सम्पूर्ण श्रमजीविहरुलाई शुभकामना व्यक्त गर्दै उनले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने पनि जनाएका छन् । ‘कामको सुरक्षा र थप रोजगारीको प्रयास सरकारको सदा हुनेछ,’ सन्देशमा भनिएको छ, ‘नेपाली ट्रेड युनियन आन्दोलनले जनताको पीडालाई हेर्न पनि सिकाएको छ ।’ प्रधानमन्त्री ओलीले सन्देशमा श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध १३२ वर्ष अगाडि आवाज उठाएर आजैका दिनबाट दिवस मनाउन थालिएको स्मरण गरेका छन् । नेपालमा भने विसं २००३ देखि २०४६ सम्म सङ्गठित श्रम आन्दोलनका रुपमा मनाउन थालिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाई श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवर्द्धन गरेको पनि दाबी गरेका छन् । त्यस्तै आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ५ लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई १ लाख रुपैयाँको बीमा गरिएको पनि सन्देशमा उल्लेख छ । ‘२०७५ मङ्सिर ११ बाट योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भइसकेको छ, वैदेशिक रोजगारीमा भएकाको सुविधाका लागि अनलाइन श्रम स्वीकृति प्रणाली अगाडि ल्याइएको छ,’ सन्देशमा भनिएको छ, ‘सामाजिक क्षेत्रमा लागानी गर्न निकै उत्साहित भएका छन्, जीवन पहिला हो, त्यसपछि श्रम हो ।’ विश्वव्यापी रुपमा कार्यथलोमा हरेक दिन सात हजार ६०० श्रमिकको मृत्यु हुने गरेको छ । दक्षिण एसियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको छ । समग्रमा २० लाख ७८ हजार मानिसले कामसँग सम्बन्धित भएर ज्यान गुमारहेका छन् । कोभिडका कारण गत वर्ष २५ करोड रोजगारी गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तर्राष्ट्रिय रुपमा प्रक्षेपण गरिएको छ । प्रधानमन्त्री ओलीले कोभिडको दोस्रो लहर निकै पीडादायी र विनाशकारी रहेकोले शर्तसहित निषेधाज्ञा लागू भएको जनाएका छन् । ‘जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन सधैं अनुरोध छ,’ उनले भनेका छन् । उनले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एसियामा भारतपछि नेपाल अग्रस्थानमा रहेको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताएका छन् । उनले कोरोना महामारीलाई असल व्यवहारले मात्र परास्त गर्न सकिने भएको हुँदा जनस्वास्थ्यको मापदण्डको पालना गर्न आग्रह गरे ।