NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

वैज्ञानिकले पहिल्यै चेतावनी दिएका थिए भारतलाई, बेवास्ता गर्दा भयावह स्थिति बन्यो

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण अहिले भारत आक्रान्त बनेको छ । पहिलो लहरमा यूरोपमा कहर मच्चिएको थियो । तर, दोस्रो भेरियन्टको प्रभाव अहिले भारतमा यति बढ्यो कि, गतवर्ष यूरोपमा भन्दा झन् भयावह हालत बनेको छ । लाश जलाउने ठाउँ पनि छैन । यस्तोमा दैनिक साढे तीन हजारले कोरोनाबाट ज्यान गुमाइरहेका छन् भने, चार लाखको हाराहारीमा दैनिक संक्रमित थपिन लागेका छन् । अनुसन्धानकर्ताका अनुसार यो रफ्तार अझै केही समय रहनेछ । यस्तो भएमा करिब भारतको ७० प्रतिशत जनसंख्या प्रत्यक्ष प्रभावित बन्नेछ । भारतले यो अवस्थाबारे जानकारी नपाएको भने अवश्य होइन । वैज्ञानिकले दिएको चेतावनी वेवास्ता गर्दा अहिलेको नियति भोग्नु परिरहेको छ । हालै सार्वजनिक भएको एक जानकारी अनुसार अति संक्रामक दोस्रो लहरलाई लिएर भारत सरकारलाई पहिले नै वैज्ञानिकहरुले चेतावनी दिइसकेका थिए । तर, भारत सरकारले उक्त चेतावनीलाई बेवास्ता गरेको खुलासा भएको छ । यस्तो चेतावनी कुनै पश्चिमा वा बाहिरका वैज्ञानिकले दिएका भने होइनन् । तर, दोस्रो लहरको सुरुवातमै भारत सरकारले एक सल्लाहकार फोरम गठन गरेको थियो । उक्त फोरमले अति संक्रामक भाइरसले भारतलै पूर्ण रुपमा प्रभावित पार्ने भएकाले पहिलेदेखि नै तयारी थाल्न सुझाव दिएको थियो । तर मोदी सरकारले आफैंले बनाएको फोरमले दिएको चेतावनीलाई बेवास्ता गरेको पाइएको छ । फोरममा रहेका पाँच वैज्ञानिकले आफूहरुले पहिले नै चेतावनी दिएको समाचार संस्था रोयटर्सलाई यो जानकारी दिएका छन् । चेतावनीका बाबजुद केन्द्र सरकारले भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि विस्तारित स्तरमा कडा प्रतिबन्ध नलगाएको वैज्ञानिकहरुले बताएका छन् । मास्क नलगाई लाखौँ मानिसहरु धार्मिक कार्यक्रम तथा राजनीतिक र्‍यालीहरुमा सहभागी भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भारतीय जनता पार्टी तथा अरु विपक्षी दलका नेताहरुले चेतावनीका बाबजुद राजनीतिक तथा धार्मिक भेला गरेका थिए । यस्तै दिल्लीमा मोदी सरकारले ल्याएका कृषिसम्बन्धी तीन कानूनको विरोधमा किसानहरुले प्रदर्शन पनि गरेका थिए । त्यसबेला पनि वैज्ञानिकहरुले भीडभाडका कारण कोरोना संक्रमणको जोखिम बढेको चेतावनी दिएका थिए । विश्वमै दोस्रो बढी जनसंख्या भएको भारतमा अहिले कोरोना भाइरसले पूरै आक्रान्त पारेको छ । अस्पतालमा बेड खाली छैनन् । अक्सिजन र उपचार नपाउँदा बिरामी बाटैमा छटपटाएर मरिरहेका छन् । मसानघाटको दृश्यले पूरै विश्वलाई रुवाइरहेको छ । पहिलो लहरभन्दा यो लहर निकै भयावह छ । यसले अहिले नेपाललाई पनि चपेटामा लगिसकेको छ । विश्वका १० ठूला अर्थतन्त्र भएका देशमध्ये भारत पनि एक हो । तर, समयमै सचेत नहुँदा भएका स्रोत साधन पनि नियन्त्रणका लागि पर्याप्त बन्न सकेका छैनन् । कोरोना भाइरसको संक्रमण सन् २०१४ यतापछि सत्तामा आएका नरेन्द्र मोदीका लागि सबैभन्दा ठूलो संकटका रुपमा लिइएको छ । संक्रमण नियन्त्रणको प्रयासमा खरो उत्रिन नसकेको र विफल भएको भन्दै आलोचना भइरहेको छ । तर यसको प्रभाव उनमाथि राजनीतिक रुपमा कत्तिको पर्ने छ भन्ने हेर्न बाँकी नै रहेको छ । अर्को चुनाव २०२४ मा हुनेछ भने स्थानीय चुनाव हालको बढ्दो संक्रमण पहिले भएको हो । मार्चको सुरुवातमा कोरोना भाइरसको नयाँ भेरियन्टलाई लिएर इन्डियन सार्स–कोभ–२ जेनेटिक्स कन्सोर्टियम ९आइएनएसएसिओजी० ले चेतावनी दिएको थियो। भारतको उत्तरी भेगस्थित एक रिसर्च सेन्टरका निर्देशकसमेत रहेका एक वैज्ञानिकले आफ्नो पहिचान गोप्य राख्ने शर्तमा आफूहरुले दिएको चेतावनी प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीधै रिपोर्ट गर्ने उच्च अधिकारीसम्म पुगेको बताएका छन् । आइएनएसएसिओजीको निष्कर्ष प्रधानमन्त्री मोदीसम्म पुगे–नपुगेको पुष्टि गर्न भने नसकिएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसबारे बुझ्नका लागि प्रधानमन्त्री कार्यालयमा सम्पर्क गरेको तर कुनै जवाफ नआएको रोयटर्सले उल्लेख गरेको छ । वैज्ञानिकसहितको सो फोरम सरकारले गएको डिसेम्बरको अन्तिममा गठन गरेको थियो। सार्वजनिक स्वास्थ्यका लागि खतरा हुन सक्ने कोरोना भाइरसका जिनोमिक भेरियन्ट पत्ता लगाउने जिम्मेवारी फोरममाथि थियो । भाइरसको भेरियन्टमाथि अध्ययन गरिरहेका राष्ट्रिय स्तरका १० प्रयोगशालाहरुलाई एक ठाउँमा ल्याएर सो फोरमले अध्ययन गरेको थियो । फोरमका सदस्य तथा सरकारबाट सञ्चालित जीव विज्ञान संस्थानका निर्देशक अजय परिदाले भनेका छन्, ‘आइएनएसएसिओजीका अनुसन्धानकर्ताले फेब्रुअरीमै बी. १. ६१७ भारतीय भेरियन्ट पत्ता लगाएका थिए ।’ अध्ययनको निष्कर्ष मार्च १० पहिले नै स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसिडिसी) लाई बुझाएर यो भेरियन्टको संक्रमण देशका विभिन्न क्षेत्रमा तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएको अर्का एक वैज्ञानिकले बताएका छन् । उत्तरी भारतमा अनुशन्धान केन्द्र सञ्चालन गरिरहेका ती वैज्ञानिकका अनुसार स्वास्थ्य मन्त्रालयमा आफूहरुको अध्ययन पुगे पनि कुनै जवाफ दिएको थिएन । सोही समय आसपासमा फोरमले स्वाथ्य मन्त्रालयका लागि प्रेस वक्तव्यको ड्राफ्ट तयार गरेको थियो ।