NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

शहरको फोहोर उठाउने मजदूर : महामारीमा जसको मुखमा मास्क छैन, सुरक्षित वास छैन

काठमाडौंमा दैनिक सयौं टन फोहोर उत्पादन हुन्छ । कुनै ठाउँको फोहोर ३/४ दिनमात्र नउठाउने हो भने पनि डङ्गुर लागेर दुर्गन्ध फैलिन्छ । यति ठूलो मात्रामा उत्पादन हुने फोहोरको व्यवस्थापन कसरी भइरहेको होला ? फोहोर व्यवस्थापनको कुनै वैज्ञानिक प्रविधि अहिलेसम्म अपनाइएको छैन । मान्छेले नै उठाएर, छानेर व्यवस्थापन गर्नुपर्छ । शहरको फोहोर व्यवस्थापन गर्न सयौं कर्मचारी छन् । यसबाहेक फोहोमै मोहोर खोज्नेहरु पनि हजारौं छन् । यिनिहरु दैनिक फोहोरमा नखेल्ने हो भने शहरमा फोहोरको पहाड चुलिन्छ, दुर्गन्ध फैलिन्छ । अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा छ । सबैजसो बाह्य गतिविधि ठप्प छ । मानिसहरु घरबन्दी छन् । तर, घरमा बस्दा फोहोर निष्कासन नहुने होइन । निषेधाज्ञामा मानिसहरु घरमा आराम गरिरहँदा फोहोरमा खेल्ने मजदूरको दुर्गन्धित नियतिले भने आराम पाएको छैन । सरकारले घर बाहिर ननिस्किन, उपयुक्त स्वास्थ्य सुरक्षा सामग्री अपनाउन भनिरहँदा त्यो फोहोरका मजदूरलाई भने लागू छैन । ०००० चाबहिल गोपीकृष्ण हलको ठीक सामुन्नेको पुलमा १९ जना मजदूर छन्, फोहोरको काम गर्ने । उनीहरु चावहिल र आसपासको क्षेत्रबाट फोहोर संकलन गर्ने र फोहोरको प्रकृति (कुहिने/नकुहिने, जैविक/अजैविक) अनुसार छुट्याउँछन् । र, टिपरमा लोड गर्छन् । काठमाडौंमा निषेधाज्ञा छ, तर उनीहरुलाई यसको कुनै परवाह छैन । नियमितझैं आफ्नो कर्म गरिरहेका छन् । निषेधाज्ञाको तेस्रो दिन शनिवार पनि नियमित काम गरिरहेका उनीहरुको समूहमा लालश्री स्याङतान पनि छन् । सहोदर भाइ सरन स्याङतान पनि उनीसँगै काम गर्छन् । लालश्री जेठा हुन् भने सरन कान्छा । अर्का माइला भाई पनि फोहोर संकलनकै काम गर्छन् । अर्थात् एउटै परिवारका तीन भाई फोहारको काम गर्छन् । शनिबार बिहानैदेखि धुम्म मौसमका बीच पनि काममा जुटेका छन् लालश्री स्याङ्गतान र उनका भाई सरन स्याङ्गतान । लालश्री जेठ्ठा हुन्, सरन कान्छा । लालश्रीका माइला भाई पनि यहीं फोहोर संकलन गर्ने काम गर्छन् । लालश्री स्याङ्गतान ‘आज शनिबार भएकाले धेरै फोहोर छैन्,’ लालश्री भन्छन्, ‘आज आएको एक टिपर फोहोर छुट्याइ सक्यौं अब कोठा जाने हो ।’ शनिबार बिहान ८ बजेदेखि उनीहरु फोहोर संकलनको काममा जुटेका थिए । दिउँसो दुई बजेसम्ममा फोहोर छुट्याएर नुवाकोटको सिसडोलमा रहेको डम्पिङ साइटमा पठाउन टिपरमा लोड गर्नुपर्ने कामको चटारो उनीहरुलाई छ । ‘यो छुट्याएको सामान कवाडको ठेकेदारले लैजान्छ,’ लालश्री भन्छन्, ‘बाँकी फोहोर सिसडोल पठाउँछ ।’ नेपाल फुलबारी प्रदुषण नियन्त्रण केन्द्रका लागि काम गर्छन् लालश्री । नौ कक्षा पढ्दापढ्दै छाडेर उनी मकवानपुरबाट काठमाडौं आएका थिए । अरु काम थिएन, फोहोरकै काममा लागे । पछि दुई भाइ पनि उनीसँगै काममा जोडिए । ‘मैले काम गर्न थालेको त ३/४ वर्ष भयो,’ लालश्री भन्छन्, ‘भाईहरु भर्खर एक/डेढ वर्षअघिमात्र आएका हुन् ।’ खुट्टामा बुट बाहेक लालश्रीका हातमा न पञ्जा छ, न मुखमा मास्क । भन्छन्, ‘अब बानी भइसक्यो, दुगर्न्ध पनि आउँदैन् । कहिलेकाँही धेरै दिनसम्म फोहोर उठेन भनेचाहिँ सडेको फोहोर अलि बढी गन्हाउँछ ।’ लालश्रीका तीनै भाई चाबहिलमै ठेकेदारले नै व्यवस्था गरिदिएको डेरामा बस्छन् । कहिलेकाँही फोहोरको गाडी नआउँदा गोपीकृष्ण अघि पुल मुनि म्याट ओछ्याएर सुत्छन् । कोठाबाट आउँदा लगाएको कपडा फेर्ने, दिउँसो आराम गर्ने, गाडी नआउँदा फुर्सदमा अढेस लाग्ने ठाउँ बनाएका छन् । लालश्रीसहित धेरैलाई कपडा फेर्ने, आराम गर्ने पुलमुनिको यो ठाउँ सुर्यबहादुर तामाङका लागि भने रातको वासस्थान पनि हो । वर्षौंदेखि यही हालतमा बस्दै आएका उनलाई अब यसैमा बानी परिसक्यो । तामाङलाई अघिल्लो पटकको लकडाउनमा यही ठाउँमा कसैले राहत दिएको रहेछ । कुराकानीकै बीचमा उनले सोधे, ‘तपाईंहरु अघिल्लो पटक हामीलाई राहत ल्याइदिने मान्छे होइन् र !’ होइन् भन्ने थाहा पाएपछि उनले फेरि भने, ‘हामी यही पुलमुनि बस्थ्यौं अघिल्लो पटक तपाईंहरु जस्तै मान्छेले भात ल्याएर दिएका थिए ।’ यसपटकको निषेधाज्ञामा पनि कसैले पोहोरको जस्तो राहत ल्याएर देओस् भन्ने उनको अपेक्षा त्यस्तै छ । मोरङ घर भएका तामाङ अहिले ४८ वर्षका भए । उनी विगत १० वर्षदेखि यहीं फोहोर उठाउने काम गर्छन् । चाबहिल गाेपिकृष्णअघिकाे पुलमा मजदूर बस्ने ठाउँ पुलमुनि बासस्थान बनाएका उनी सामान्य सस्ता होटेलहरुमा खाना खान्छन् । ‘अहिले त भात खान पनि लुकेर जानुपर्छ,’ निषेधाज्ञाका कारण भएको गाह्रो उनी सुनाउँछन् । तामाङलाई ठेकेदारले सीमित मात्रामा स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । तर, त्यसले पुग्दैन । सुर्यबहादुर भन्छन्, ‘ठेकेदारले दिएको मास्कले पुग्दैन, बरु यत्तिकै ठीक छ ।’ दिन त ठेकेदारले बुट पनि दिएको छ । त्यो पनि एक फोहोरले खाएर एक सातामै फाट्छ । यही समूहमा इलाम घर भएका राज राई पनि काम गर्छन । उनी विगत एक वर्षदेखि फोहोर संकलनको काम गर्छन् । उनको दैनिकी पनि स्याङतान र तामाङको जस्तै छ । ००० वैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि हो । तर, यो श्रमिकले वास्तविक श्रमिकलाई छुँदैन् । यसको उदाहरण हुन् स्वेक अफताफ ।‘खै के हो श्रमिक दिवस भनेको थाहा भएन !’ शनिवार बिहान ८ बजेदेखि नै उनी बालकुमारी वरपरबाट संकलित फोहोरमा कवाडखानामा बेच्न मिल्ने प्यास्टिकका बोतल र सिसाका सीसीहरु खोज्नमै व्यस्त थिए । बल्ल ३ बजे उनलाई फुर्सद मिल्यो । सरसफाइपछि फोहोर उठाउँदा लगाएको कपडा फेरे । १० वर्ष भयो अफतावले फोहोर संकलन र छुट्याउने काम गरेको । बारा घर भएका उनी १४ वर्षकै उमेरदेखि काठमाडौं आएर फोहोर उठाउने काम गर्न थालेका हुन् । त्यसयता काठमाडौंमा फोहोर उठाउन र छुट्याउने उनको दैनिकी बनिरहेको छ । निषेधाज्ञामा सबैजना घर गएको देख्दा उनलाई जाऔंजाऔं लाग्छ । तर, कमाइ नभएकाले जान सकेका छैनन् । ‘मन त छ नि घर जाने, तर यसपटक कमाई नै भएन,’ अफताव भन्छन्, ‘अहिले सबै मान्छे घरमा छन्, आफू भने काममा निस्किदाँ अत्यास लाग्दो रहेछ ।’ स्वेक अफताव अघिल्लो पटकको लकडाउनपछि केही महिनाअघि मात्रै काठमाडौं आएर काम सुरु गरेका थिए उनले । बचेखुचेको कमाइ त्यही बेला सकिएको थियो । काठमाडौं आएर बल्ल कामले गति लिदैं थियो । फेरि कोरोना बढेको कारण देखाएर सरकारले निषेधाज्ञा जारी गर्‍यो । निषेधाज्ञाका कारण उनको आम्दानी खुम्चिएको छ । अफतावसँगै बालकुमारी मुलबाट केही तल्तिर रहेको कवाड खानाका लागि कवाड संकलन गर्छन्, साने माझी । उनको उमेर २३ पुग्यो । फोहोरमै काम गर्न थालेको पनि दशक पुग्न लाग्यो । ‘सर्लाहीबाट बच्चैमा काठमाडौं आएको, आएपछि यहीं फोहोरमा काम गर्न थालें,’ साने भन्छन् । अफतावको काम र सानेको काममा थोरैमात्र फरक छ । अफताव संकलित फोहोरबाट कवाडमा काम लाग्ने फोहोर छुट्याउँछन्, साने रातको समयमा ठेला जडित साइकलमा कवाडमा काम लाग्ने फोहोर उठाउँदै हिँड्छन् । उनीहरुले संकलन गरेको कवाड प्लास्टिक भएमा प्रतिकिलो १८ रुपैयाँमा बिक्छ । सिसाको सिसी भए प्रति सिसी दुई रुपैयाँमा बिक्छ । ‘अलिअलि पैसा कमाइ हुन्छ,’ अफताव भन्छन्, ‘जतिबेलै खट्न सकिँदैन । कमाएकोले खानै पर्‍यो । महिनामा १५ हजारसम्म खर्च हुन्छ ।’ बस्नलाई भने काम गर्ने कवाडखानामै ठेकेदारले सुत्ने ठाउँ दिएको छ उनीहरुलाई । कोही दिउँसो कवाड संकलन गर्छन् कोही रातको समयमा । उपत्यका महामारीले घरभित्र थुनिएको बेला पनि उनीहरु शहरका सडकमा डुल्न बाध्य छन् । साने माझी अफताव भन्छन्, ‘मान्छेलाई हाम्रो काम थाहा छैन् । हामीले सफा गरेर यो शहर सफा भएको छ । तर, हाम्रो कामलाई त कसैले काम मान्दैन् ।’ सभ्य शहरका असभ्य मान्छे देशकै राजधानी हो काठमाडौं । यहाँ बस्ने मानिसहरु आफूलाई सभ्य दावी गर्छन् । तर, फोहोर संकलन गर्दै हिँड्ने स्याताङ, तामाङ, अफताफ र माझीहरु भने यो दावी पत्याउँदैनन् । गत वर्ष लगातारको आपत्तिपछि पनि ह्याम्स अस्पतालले विरामीलाई लगाएको सुई फोहोरमै जथावाभी फ्याँक्न नछाड्नेपछि फोहोरका मजदूरहरुले ठेकेदारलाई उजुरी गरे । अस्पतालले नमानेपछि अहिले त्यसको फोहोर उनीहरु उठाउँदैनन् । लालश्री भन्छन्, ‘बोरामा सुई, सिसा हालिदिन्छन् । यहाँ छुट्याउनुपर्छ । नखोली नुवाकोट पठाउन मिल्दैन्, खोल्दा आफ्नो हात घोच्छ । यसरी कैयौंपटक मेरो हात घोचेको छ ।’ मानिसहरु सबै फोहोर मिसाएर एउटै बोरामा कोच्याएर राखिदिँदा त्यसको असर यस्ता मजदूरलाई पर्छ । ‘मेरो हात हेर्नु त सिसाले काटेर कस्तो छियाछिया भएको छ,’ माझी सीसाले काटेर क्षतविक्षत भएको हात देखाउँदै भन्छन् । शहरको फोहोर तह लगाउने काममा तल्लिन मजदूरहरुलाई यही शहरले भने टेढो नजरले हेर्छ । सफाइका मजदूरलाई मानिसहरु हेयका दृष्टिले हेर्छन । ‘हामीले गरेको काम मान्छेले बुझ्दै बुझ्दैन,’ सुर्यबहादुरको गुनासो छ, ‘फोहोर उठाउने भनेर हेप्छ ।’ चाबहिल गाेपिकृष्णअघिकाे पुलमा फाेहाेर छुट्याउँदै मजदुरहरू तर, सुर्यबहादुरहरु नहुने हो भने सफा यो शहर दुर्गन्धित हुन समय लाग्दैन् । एक महिना त धेरै लामो समय हो, एक सातामात्रै उपत्यकाको एउटा क्षेत्रकै फोहोर नउठ्ने हो भने त्यो क्षेत्र दुर्गन्धले भरिन्छ । तर, शहरलाई सफा बनाइरहेका सुर्यबहादुरहरुलाई यो शहरका मान्छेहरु भने आँखा छलेर हिँड्छन् । सूर्यबहादुर भन्छन्, ‘तपाईं पनि आफ्नो काम परेर यहाँ कुरा गर्न आउनुभयो । नत्र यो पुलबाट पारी जाँदा त मान्छे फोहोरको गन्ध सुध्नुपर्छ भनेर बाइक हुइँकाएर जान्छ ।’ यो शहरका मान्छेहरुले आफूप्रति राख्ने बुझाइमा माझीको आपत्ति छ । भन्छन्, ‘हामी नहुने भए अहिले काठमाडौं फोहोरले भरिन्थ्यो । तर, मान्छेहरु छिःछिःभनेर हिँडछन् ।’ प्रधानमन्त्रीको आश्वासनले नछोएका श्रमिक अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै देशका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकलाई एउटा आश्वासन बाँडे, न्यूनतम तलव वृद्धि गर्ने । शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने आश्वासन दिए । साथै सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा पनि गरे । उनले श्रमको सम्मान र मर्यादित कामको अवधारणा पनि सुनाए । अहिले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ छ । तर, हजारौं श्रमिक छन्, जो अझै यो न्यूनतम पारिश्रमिको दायरामा पर्दैनन् । कोभिड १९ को यस्तो महामारीमा त न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री नपाएका उनीहरुलाई सामाजिक सुरक्षाप्रति रत्तिभर विश्वास छैन । शहरका सभ्य भनिने जमातले गरेको व्यवहारले उनीहरुको सभ्यतामाथि पनि उनीहरु विश्वास गर्दैनन् । देशमा लोकतन्त्र आओस् कि गणतन्त्र आओस् श्रमिक दिवस आओस् कि अन्य दिवस उनीहरुलाई केहीको पनि परवाह छैन । आफ्नो नाममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मजदूर नेताले गरेका भाषणप्रति पनि उनीहरुको चासो छैन । उनीहरुलाई आफ्नो दैनिकी चलोस् भन्ने कामना छ । उचित पारिश्रमिक, कामको सम्मान र सुरक्षाको चाहना राख्छन् उनीहरु । फोहोरभित्रै गुजारा चलेको किन नहोस् उनीहरुको यही कर्मले महामारीमा पनि शहर सफा छ । कोरोना महामारीको पहिलो लहरका कारण देश पुरै घरबन्दीमा हुँदा समेत दैनिक फोहोर उठाउँदै हिँडेका उनीहरु अहिले पनि त्यही अवस्थामा छन् । उनीहरुको दैनिकी अरुले प्रयोगपछि फ्याँकेका फोहोरमै घुम्छ ।