NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

३६ निजी ल्याबमध्ये विदेश जान पाँचको पिसिआरलाई मात्रै मान्यता, जाेखिम माेलेर दिनभर लाइनमा

सरकारले देशभर ५१ सरकारी र ३६ निजी प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति दिएको छ । तर, सरकारी अस्पतालमा जम्मा हजार रुपैयाँमा पिसिआर परीक्षण हुन्छ, तर रिपोर्ट आउन तीनदेखि चार दिनसम्म लाग्छ । तर, विदेश जान अहिले ४८ घन्टाभित्रको रिपोर्ट अनिवार्य गरिएको छ । निजी अस्पतालमा ६ देखि आठ घन्टामा नै रिपोर्ट आउँछ, त्यसैले दोब्बर पैसा तिरेर पनि यात्रुहरू निजी अस्पताल जान बाध्य छन् । तर, ३६ निजी प्रयोगशालामध्ये जम्मा पाँचको पिसिआर देखाए मात्र विदेश जान पाइन्छ । निजीमा स्टार, ह्याम्स, मेडिसिटी अस्पताल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा उपत्यकाबाहिर युनिभर्सल मेडिकल कलेजले मात्र मान्यता पाएका छन् । यसरी थोरै प्रयोगशालामा धेरै मान्छेको परीक्षण गराउँदा प्रयोगशालामा नै भिड बढेर संक्रमणको जोखिम बढेको छ । सरकारले विदेश जाने प्रयोजनका लागि पिसिआर परीक्षण गर्न निजी अस्पतालको नामै तोकेर अनुमति दिएको छ । परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने वेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच अस्पतालका ल्याबलाई नाम र फोन नम्बरसमेत उल्लेख गरेर अनुमति दिएपछि ती अस्पतालमा परीक्षण गराउनेको भिड छ । विदेश जानेको रिपोर्ट विश्वसनीय होस् भनेर ‘ए’ क्लासका प्रयोगशालालाई मात्र प्रस्तावित यात्रुको पिसिआर परीक्षण गर्ने अनुमति दिएको सरकारको भनाइ छ । ‘विदेश जाने यात्रुका लागि अस्पताल भएका ल्याबलाई मात्र पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको हो । नेपालमा नेगेटिभ रिपोर्ट आएकालाई पनि हङकङमा शुक्रबार मात्रै पजिटिभ रिपोर्ट आएको छ । त्यसैले यहाँ पिसिआरमा ठूलो आर्थिक खेल देखियो । पिसिआर विश्वसनीय होस् भन्ने हाम्रो आशय हो, यसमा सम्झौता हुँदैन,’ मन्त्री त्रिपाठीले भने । नयाँ पत्रिकामा खबर छ।