NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपालमा कोरोना संक्रमण दर ४० प्रतिशत पुग्यो

कोरोना संक्रमण दर शनिवार करीब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च संक्रमण दर हो । यसअघि गत बिहीवार संक्रमण दर ३८।३५ प्रतिशत थियो । ‘केही दिनयता हामीकहाँ संक्रमण दर भारतको दाँजोमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने । कोरोना संक्रमणले शनिवार १९ जनाको मृत्यु भएसँगै १ हप्तामा ज्यान गुमाएकाको संख्या १६२ पुगेको छ । हाल सरदर २०० जना प्रयोगशाला प्रमाणित संक्रमितमा १ जनाको मृत्यु भइरहेको छ । १ हप्तामा ३१ हजार ८०६ जना पीसीआर प्रमाणित संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७०६ जनामा संक्रमण पाइएको छ । १ दिनमा संक्रमण पुष्टि भएको यो संख्या पनि हालसम्मकै बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एकदेखि डेढ प्रतिशतका दरमा बढिरहेको छ । हाल देशभरिमा कोभिडका ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित छन्, जुन कूल संक्रमितको १३।१४ प्रतिशत हो । १ जना संक्रमितले अन्य व्यक्तिलाई सार्ने दर समेत केही दिनयता भारतको दाँजोमा नेपालमा बढी देखिएको छ । कान्तिपुर दैनिकमा खबर छ।