NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आजबाट थप सात जिल्लामा निषेधाज्ञा, निषेधाज्ञा जारी भएका जिल्लाकाे संख्या ३० पुग्याे

नेपालमा काेराेना भाइरसकाे दाेस्राे लहरकाे संक्रमण तीव्र रुपमा बढन थालेपछि स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गर्न थालेका छन्। मन्त्रिपरिषद्ले निषेधाज्ञा जारी गर्ने अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई प्रत्यायाेजन गरेपछि आइतबार थप सातवटा जिल्लामा निषेधाज्ञा कायम गरिएकाे छ। याेसँगै निषेधाज्ञा जारी भएका जिल्लाकाे संख्या ३० पुगेको छ। मकवानपुर, गुल्मी, प्युठान, काभ्रे, गोरखा, उदयपुर र बाजुरामा आइतबारबाट निषेधाज्ञा जारी भएकाे हाे। यी जिल्लामा आंशिकदेखि पूर्ण रुपमा निषेधाज्ञा कायम गरिएकाे सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन्। राष्ट्रिय समाचार समितिले उल्लेख गरे अनुसार काभ्रेमा अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा–पनौती–खोपासी सडकको ५०० मिटर दायाँबायाँ, विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ–भकुण्डे हुँदै मङ्गलदारसम्मको दायाँबायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञाआदेश जारी गरिएको छ। यहाँ आइतबार रातिदेखि निषेधाज्ञा कायम हुने छ। गोरखाको भीमसेनथापा गाउँपालिका–७ र ८ मा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतबार बेलुका ८ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ। यसअघि नै घोषणा गरिएअनुसार मोरङ, जाजरकोट र झापामा शनिबार मध्यरातिदेखि तथा सल्यान, रुकुम पश्चिम र डडेलधुरामा आइतबार बिहानदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ। सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो । सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ । यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्ला मध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ।