NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

लुम्बिनी प्रदेश : बाहिर विपक्षीको नाराबाजी, भित्र मुख्यमन्त्रीको शपथग्रहण

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखको कार्यालयबाहिर विपक्षी गठबन्धनका कार्यकर्ताले नाराबाजी गरेपछि त्यहाँ शपथ गराउने वातावरण बिग्रिएको मुख्यमन्त्री पोखरेलको निजी सचिवालयका एक सदस्यले बताए । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमै पोखरेललाई सपथग्रहण गराइएको हो । मुख्यमन्त्रीलाई शपथग्रहण गराउन प्रदेश प्रमुख यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको थियो । प्रदेशसभामा विपक्षी दलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएपछि पोखरेलले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । यसलगत्तै मुख्यमन्त्रीमा पोखरेलको दाबीसहित बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि प्रदेश प्रमुखलाई सत्तारुढ एमालेका ४१ जना सांसदले हस्ताक्षर बुझाएका थिए । सोही बमोजिम प्रदेश प्रमुख यादवले पोखरेललाई आइतबार दिउँसो नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेश गरेका थिए । तर प्रदेश प्रमुख यादवले बहुमतका आधारमा ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेतासमेत रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।