NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सबैभन्दा कम कोरोना संक्रमित भएको जिल्ला मनाङकी चिकित्सक भन्छिन् – गम्भीर परिस्थिति थेग्ने जनशक्ति छैन

कोभिड १९ को संक्रमण सबैभन्दा कम भएको जिल्लामा पर्छ हिमाली जिल्ला मनाङ । देशव्यापी फैलिएर विकराल अवस्था आइसक्दा पनि लामो समय यो जिल्ला संक्रमणबाट जोगिरह्यो । तर, १८ वैशाखदेखि भने यो जिल्लामा कोरोना भाइरस प्रवेश गरेको छ । अहिले यो जिल्लामा सात जना कोरोना संक्रमित भेटिएका छन् । मनाङ स्वास्थ्य पूर्वाधारको हिसाबले निकै कमजोर अवस्थामा छ । संक्रमण फैलिएको अवस्थामा त्यसलाई थेग्ने आवश्यक पूर्वाधार जिल्लामा छैन । जिल्लामा कोभिड संक्रमणको अवस्था, स्वास्थ्य पूर्वाधार तथा जनशक्ति, संक्रमणबाट जोगिने पूर्वतयारी लगायतका विषयमा नेपालवाचले मनाङकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रतिभा गौलीसँग कुराकानी गरेको छ । प्रस्तुत छ गौलीसँगको छोटो कुराकानी मनाङमा कोभिड संक्रमणको स्थिति कस्तो छ ? हिजो १८ गते दुई जनामा कोरोना पोजेटेभि देखिएको थियो । आज १९ गते पाँच जना थप भएका छन् । मनाङमा हालसम्म जम्मा सात जना कोरोना संक्रमित छन् । यसरी मनाङमा हालसम्म जम्मा सात जनामामात्र कोरोना देखिएको छ । उहाँहरुको अवस्था कस्तो छ ? खासै गम्भिर समस्या देखिएको छैन । ज्वरो आउने, पखाला लाग्ने लक्षण देखिएको छ । यसलाई सामान्य नै भन्नुपर्छ । संक्रमण कोभिड बढ्यो भने नियन्त्रण र उपचारका लागि तपाईंको अस्पतालमा स्रोतसाधनको अवस्था के छ ? अहिलेसम्म हामीले चेतना जगाउने कार्यक्रम मात्र गरिरहेका छौं । नागरिकहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन र सुरक्षाका उपायहरु अपनाउन लगाएका छौं । कोभिड पोजेटिभ भइहाल्यो र सामान्य अवस्था छ भने चाहिं होम आइसोलेसनमै बस्न भन्छौ । संक्रमितलाई पनि घरमै आइसोलेसनमा बस्न भनेका छौं । थप गम्भीर हुँदा हामीले अक्सिजन दिन सक्ने व्यवस्था छ । त्यो भन्दा पनि गम्भीर भयो भने हामीले जिल्ला बाहिर नै रिफर गर्नुपर्छ । हामी अक्सिजन चढाउने काम मात्र गर्न सक्ने अवस्थामा छौं । त्यहाँ अक्सिजनको मौज्दात कति छ ? हामीसँग जम्मा ९ वटा सिलिण्डर हो । त्यसमध्ये ५ वटा भरिएको छ । खाली सिलिण्डर पनि भर्न पठाउँदैछौं । तपाईंहरु कति जना स्वास्थ्यकर्मी हुनुहुन्छ ? हामी तीन जना अफिसर तहको चिकित्सक छौं । हामीभन्दा सिनियर चिकित्सक यहाँ हुनुहुन्न । नर्सिङ र पारामेडिक्सतर्फ पनि ३/३ जना मात्र हुनुहुन्छ । मनाङमा संक्रमण कोभिड फैलिएको स्थितिमा कुन तहसम्मको परिस्थितिको सामना गर्न सक्नुहुन्छ ? हामी मध्यम तहसम्मको विरामीलाई हेर्न सक्छौं । गम्भीर विरामीलाई हेर्न सक्दैनौं । गम्भीर प्रकृतिको विरामीलाई उपचार गर्न हामीसँग स्रोतसाधन र औषधी पनि छैन । त्यस्ता विरामीलाई जिल्ला बाहिर नै पठाउनुपर्ने हुन्छ । जनशक्ति निकै कम छ । अरु रोगका विरामी पनि हेर्नुपर्छ । यो जनशक्तिले गम्भीर परिस्थिति आउँदा सामना गर्न सक्ने स्थिति हुँदैन । मनाङमा कोभिड परीक्षण गराउने आउनेहरुको संख्या कति छ ? दिनमा १/२ जना आउनुहुन्छ । ज्वरो आएका वा कोभिडको लक्षण देखिएका, शंका लागेकाहरु आउनुहुन्छ । ज्वरो त धेरै कारणले आएको हुनसक्छ । रुघाखोकीका विरामीहरु पनि आउनुहुन्छ । शंकास्पदलाई हामीले एन्टिजेन टेष्ट गर्ने गरेका छौं । अस्तिसम्म नेगेटिभ मात्र आएको थियो । हिजोदेखि पोजेटिभ आएको छ । सबै जनालाई होम आइसोलेसनमा बस्न भनेका छौं । कोभिड १९ बाट बच्न मनाङमा मानिसहरुले मास्क लगाउने, हात धुने जस्ता सावधानीका उपाय अपनाएको कति पाउनुभएको छ ? मनाङ निकै कम जनसंख्या भएको जिल्ला हो । यहाँका धेरै मानिसहरु काठमाडौ, पोखरातिर हुनुहुन्छ । काठमाडौं पोखरा बस्ने मनाङका नागरिकहरु आउनेजाने क्रम भइरहेको हुन्छ । यही कारण चाँडै कोभिड फैलन्छकि भन्ने डर छ । शहरमा कोभिड बढेसँगै शहर छोडेर मनाङ फर्कनेहरुको संख्या पनि बढिरहेको छ । उहाँहरुबाट गाउँसम्म कोभिड पुग्छकि भन्ने चिन्ता बढेको छ ।