NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

निषेधाज्ञाले रोकिए साढे ६ हजार आयोजना, निर्माणस्थल छाड्दै कामदार

कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै ठाउँठाउँमा सरकारले गरेको निषेधाज्ञाका कारण देशभर निर्माणाधीन करिब साढे ६ हजार आयोजना रोकिएका छन् । यी आयोजनामध्ये निर्माणको अन्तिम चरणमा रहेका केहीको काम जारी रहे पनि प्रायस्को काम ठप्प छ । विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएसँगै प्रशासनले पासमा कडाइ गर्दा निर्माणको काम अघि बढाउन नसकिएको निर्माण व्यवसायीले बताएका छन् । ५० प्रतिशतभन्दा बढी आयोजनाको काम ठप्प रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । बाँकी ५० प्रतिशतमा पनि थोरैथोरै मात्र काम भइरहेको उनको भनाइ छ । ‘धेरै जिल्लामा निषेधाज्ञा भएपछि कामदार घर गएका छन्,’ उनले भने, ‘गत वर्षको लकडाउनमा समस्या भएकाले कामदार घर जान हतारिएका हुन् ।’ पछि घर जान पाइँदैन भन्दै कामदारहरू निर्माण कम्पनीलाई पनि जानकारी नदिई धमाधम घर फर्किरहेको उनले बताए । अहिले निर्माण जारी रहेका आयोजनाका लागि निषेधाज्ञाका कारण अभाव हुन थालेको छ, जसकारण निर्माणस्थलमा निर्माण सामग्रीको अभाव भएको छ । निर्माणस्थलमा प्रयोग हुने सवारीका लागि पासमा कडाइ गर्दा समस्या भएको उनको भनाइ छ । ‘आठ वटा चल्ने ठाउँमा एउटा मात्र सवारीको पास दिँदा निर्माण सामग्री काम गर्ने ठाउँसम्म पुर्‍याउन समस्या भएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा जसले काम गर्न खोज्छ, उसलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ, जसले काम गर्न सक्दैन, उसलाई अमानवीय हिसाबले बैंक ग्यारेन्टी तान्ने, सूचना निकालेर काम रोक्ने गर्नु भएन ।’ नगरी नहुने काम र जुन काम नहुँदा ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ, त्यो काम गर्न सरकारको सहजीकरण आवश्यक रहेको उनले बताए । ‘अहिले काम गर्न पनि जोखिम छ,’ उनले भने, ‘निर्माणको अन्तिम चरणमा पुगेका आयोजनालाई सम्पन्न गर्ने वातावरण सरकारले बनाइदिनुपर्छ ।’ उनका अनुसार १५ सय ठेक्काको म्याद थपमा समस्या भएको छ । ती ठेक्काको म्याद सकिएको छ । गत वर्ष कोरोनाको समयमा काम गर्न नपाएकाले ६ महिना म्याद थप्ने विषय कार्यान्वयन नहुँदा समस्या भएको उनले जानकारी दिए । ‘८ खर्ब रुपैयाँका आयोजना चालु छन्,’ उनले भने, ‘आयोजनामा करिब १५ लाख कामदार कार्यरत थिए, अहिले मुस्किलले दुई लाख कामदार मात्र निर्माणस्थलमा छन् ।’ कान्तिपुर दैनिकमा खबर छ।